स्थानीय तह निर्वाचन नजिकिएसँगै पोखरा महानगरपालिकाको आगामी नेतृत्वको रस्साकस्सी बढेको छ । महानगर प्रमुखका लागि विभिन्न दलबाट तीन दर्जनभन्दा बढी नेताको चर्चा सुरु भएको छ । भूगोलको आधारमा देशकै सबैभन्दा ठूलो महानगर पोखरा महानगरको मेयरका लागि ठूला दलका कतिपय नेता आफैँले आकांक्षा देखाएका छन् ।
सबैभन्दा ठूलो दल एमाले र सरकारको नेतृत्व गरेको कांग्रेसबाट उम्मेदवारका आकांक्षी धेरै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका आकांक्षीको पनि चर्चा चलिरहेको छ । प्रमुख चार दलका ३५ भन्दा बढी उम्मेदवार बन्ने दौडमा छन् । उम्मेदवारको आकांक्षा गर्नेमा एमालेका १६ र कांग्रेसका १३ जना छन् । माओवादी केन्द्रका चार र नेकपा एसका दुईजनाले मेयरमा आकांक्षा प्रकट गरेका छन् ।
एमाले : प्रदेश सभा सदस्यदेखि व्यवसायीसम्मका चर्चा
पोखरा महानगरको वर्तमान नेतृत्व एमालेले गरिरहेको छ । यस क्षेत्रमा बलियो संगठन रहेकाले पनि एमालेमा टिकटका लागि धेरै आकांक्षी देखिएका छन् । ०७४ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका थिए । उनले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार कांग्रेसका रामजी कुँवरलाई साढे १३ हजार मतले हराएका थिए । तर, जिसी आगामी दौडमा छैनन् । केही समयदेखि अस्वस्थ उनले आफू दौडमा नरहेको स्पष्ट पारिसकेका छन् । तर, प्रदेश सांसददेखि हाइड्रो उद्यमीसम्म यो दौडमा छन् । वर्तमान मेयरले आगामी कार्यकालका लागि दौडमा नरहेको स्पष्ट पारेकाले स्वाभाविक दाबेदार रहेको बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ समर्थकको दाबी छ । तर, कार्यकर्ता तहमा यो चर्चा रहे पनि उपमेयर गुरुङ भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय पार्टीले गर्ने बताउँछिन् ।
प्रदेश सांसद कृष्णबहादुर थापा एमालेको तर्फबाट अर्का दाबेदार हुन् । तत्कालीन पोखरा उपमहानगरको मेयर रहिसकेका केसी ०७४ मा पनि आकांक्षी थिए । एमालेका अर्का प्रदेश सांसद राजीव पहारी पनि आकांक्षी छन् । प्रदेश सांसद हुँदा काम गर्ने कार्यकारी भूमिका नहुने अनुभवका कारण पनि महानगरको नेतृत्वमा दाबी गरेको उनको भनाइ छ ।
एमाले कास्की इन्चार्ज रहेका केन्द्रीय सदस्य भीम कार्की, एमाले प्रदेश कमिटी सदस्य मिना गुरुङ, प्रदेश कमिटी सदस्य देवका पहारी, पोखरा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन एवं नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सचिव प्राडा भरत पहारी, व्यवसायी पुष्प अधिकारी, एमालेको पछिल्लो पुस्ताका नेता रस्मी आचार्य र दिलीप न्यौपाने पनि उम्मेदवारका आकांक्षी हुन् । आचार्य प्रदेश कमिटीका उपसचिव छन् भने न्यौपाने एमाले महागर कमिटीका अध्यक्ष छन् ।
पूर्वशिक्षक नेता एवं साबिक नेकपाकालमा नेकपा नगर संयोजक दीपक पौडेल, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइराला, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा र वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल पनि दौडमा छन् । पौडेल प्रदेश कमिटी सदस्य हुन् । दर्शन लामा जिल्ला कमिटीका उपसचिव हुन् । जलविद्युत् उद्यमी पुष्पज्योति ढुंगाना पनि मेयरका आकांक्षी हुन् । बालासिंह काउचा मगरले पनि एमालेबाट मेयर उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।
कांग्रेस : प्रदेशका मन्त्रीदेखि सञ्चारकर्मीसम्मको दाबी
एमालेमा जस्तै कांग्रेसमा पनि मेयरको उम्मेदवार बन्ने दौडमा धेरै देखिन्छन् । संघीय सरकारका पूर्वमन्त्री, प्रदेशका बहालवाला मन्त्री र नेपाल सरकारका पूर्वसचिवसम्मको चर्चा छ । आम कार्यकर्ताबीच चर्चामा रहे पनि पूर्वमन्त्री यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले भने चुनावी प्रतिस्पर्धामा नरहेको स्पष्ट पारेका छन् ।
कांग्रेस कास्कीका निवर्तमान जिल्ला सभापति कृष्ण केसी आफू मेयरको स्वाभाविक उम्मेदवार रहेको बताउँछन् । उनी विगत दुई महिनादेखि लबिङ गरिरहेका छन् । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाको पनि मेयरका उम्मेदवारमा चर्चा छ । उनले आफू मेयरको दौडमा नरहेको तर पार्टीले आवश्यक ठाने निर्वाचन लड्न तयार रहेको प्रतिक्रिया दिए । नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य अर्का दाबेदार हुन् । कांग्रेस कास्कीका एक नेताले उनलाई मेयरमा उठ्न केन्द्रीय नेताहरूकै साथ रहने दाबी गरे । कास्की कांग्रेसका निवर्तमान पार्टी जिल्ला सचिव सुदीपमोहन भट्टराई पनि दाबेदार छन् । उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरी पनि मेयरका आकांक्षी छन् । उनी पूर्वजनप्रतिनिधि एवं हाल कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन् ।
कांग्रेस पोखरा महानगर सभापतिमा पराजित सञ्चारकर्मी गंगाधर पराजुली पनि कांग्रेसबाट मेयरका आकांक्षी छन् । त्यसैगरी, पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई पनि आकांक्षी छन् । उनलाई टिकट दिनुपर्ने भनेर पोखराका कांग्रेसनिकट पर्यटन व्यवसायीले लबिङ गरिरहेका छन् ।
पोखराको प्रतिष्ठित औद्योगिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक किरण केसी पनि उम्मेदवारको लाइनमा छन् । उनी संघीय सांसद स्वर्गीय सूर्यबहादुर केसीका छोरा हुन् । गत निर्वाचनमा उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङ कांग्रेसबाट मेयरकी अर्की दाबेदार हुन् । यसैगरी प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, महिला नेतृहरू माया बराल, लक्ष्मी पाण्डे पनि चर्चामा छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल–चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे पनि कांग्रेसबाट मेयरका आकांक्षी छन् । उनले पोखरामा आफू मेयर भएर गर्ने कामको फेहरिस्त नै सुनाउन सुरु गरिसकेका छन् । कांग्रेस नगर समितिका पूर्वसभापति वीरेन्द्रनारायण बिजुक्छे पनि मेयरका आकांक्षी छन् ।
माओवादी केन्द्र : चारजना आकांक्षी
माओवादी केन्द्रबाट चारजनाको नाम चर्चामा छ । ०७४ को निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार चयन भएर प्रचारप्रसारमै हिँडेका विश्वप्रकाश लामिछानेले केन्द्रमा तालमेल भएपछि कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई समर्थन गर्र्दै उम्मेदवारी फिर्ता लिएका थिए । लामिछाने यसपालि पनि आफू माओवादी केन्द्रका तर्फबाट सर्वसम्मत उम्मेदवार रहेको दाबी गर्छन् । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष एवं माओवादी केन्द्रका निवर्तमान नगर अध्यक्ष लामिछाने हाल माओवादी प्रदेश कमिटी सदस्य छन् । प्रदेश सांसद दीपक कोइराला, माओवादी कास्की समन्वय समिति संयोजक बखानसिंह तमु र हरिनारायण गिरी ‘विज्ञान’ पनि आकांक्षी छन् । विज्ञान माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष हुन् ।
एकीकृत समाजवादी : श्रीनाथ र धनराजको चर्चा
एकीकृत समाजवादीबाट पोलिट्ब्युरो सदस्य श्रीनाथ बराल र केन्द्रीय सदस्य एवं कास्की अध्यक्ष धनराज आचार्यको चर्चा छ । श्रीनाथ बराल जिल्ला विकास समिति कास्कीका पूर्वउपसभापति हुन् भने आचार्य पृथ्वी नारायण क्याम्पसका पूर्व स्ववियु सभापति हुन् । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका दलहरूले तालमेल गर्ने निर्णय भइसकेको र पोखरा महानगरको नेतृत्व आफूहरूले पाउने सम्भावना रहेको भन्दै समाजवादीका नेताहरू टिकटको दौडमा लागेका छन् । कास्कीका सबै स्थानीय तहमा तालमेल गरेरै निर्वाचन लड्ने सहमति सत्ता साझेदार दलहरूले गरिसके पनि कुन पालिकामा कसको नेतृत्व हुने भन्ने टुंगो लागिसकेको छैन ।
लेखक पौडेल र हिमाल आरोही बास्तोलाको उम्मेदवारी घोषणा
पोखरा महानगरको आगामी नेतृत्वमा मुख्य चार दलका नेताको मात्र होइन, बाहिरबाट पनि उम्मेदवारी पर्ने देखिएको छ । लेखक गनेश पौडेलले अटेरी समूह बनाएर महानगरको मेयरमा उठ्ने घोषणा गरेका छन् । उनले महानगरको विकास मोडेलबारे आफ्ना योजनासमेत सार्वजनिक गरिसकेका छन् । यसैगरी, हिमाल आरोही नवराज बास्तोला पनि दौडमा छन् । उम्मेदवारी दिने निश्चित रहेको भन्दै उनी प्रचारप्रसारमा जुटिसकेका छन् ।