आर्थिक संकटको राजनीतिक प्रभाव

श्रीलंकामा जस्तो गम्भीर आर्थिक समस्या आइहाल्यो भने त्यसले हाम्रो देशको राजनीतिक, आर्थिक र सामाजिक जनजीवनलाई नै तहसनहस पार्ने निश्चित छ, त्यसैले समय छँदै सचेत बनौँ

आइतबार, २७ चैत, २०७८
डिजिटल संस्करण

कुनै पनि देशको आर्थिक संकटले राजनीतिमा कति प्रभाव पार्दोरहेछ भन्ने उदाहरण श्रीलंकालाई लिन सकिन्छ । श्रीलंकामा सन् २०१५÷०१६ पछि वैदेशिक पर्यटकको आवागमन घटेर विदेशी मुद्रा आर्जनमा कमी आउँदा वैदेशिक ऋण तिर्न नसक्ने परिस्थिति सिर्जना हुनपुग्यो । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिँदा कोषले सरकारी खर्च कटौती र करवृद्धि गर्नुपर्ने सर्त राखेको थियो । सन् २०१९ मा गोटवाया राजापाक्षे राष्ट्रपति निर्वाचित भएपछि उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले राखेको सरकारी खर्च कटौती र करवृद्धिको सर्तविपरीत कर र ब्याजदर दुवै घटाए । जसको नकारात्मक प्रभाव अहिले देखिएको छ । 

संकट आउनुको मुख्य कारण ४० बिलियन डलर वैदेशिक ऋण र त्यसको ६.९ बिलियन डलर ब्याज हो । यसका साथै खाद्यान्न उत्पादनमा कमी, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, रुस–युक्रेन युद्धको प्रभावले चिया निर्यातमा कमी तथा कोइला र डिजेललगायत वस्तुको मूल्यवृद्धि र आयात गर्न विदेशी मुद्रा सञ्चितिमा अभाव आदि विभिन्न कारणले अहिले श्रीलंका गम्भीर संकटमा छ । 

श्रीलंकामा जस्तो आर्थिक संकटलाई निम्तिन नदिन नेपाल सरकार र सम्बन्धित निकायहरू बेलैमा संवेदनशील हुन जरुरी छ । राष्ट्र बैंकले जारी गरेको आर्थिकनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार, जिम्मेवार व्यक्ति एवं निकाय वेलैमा सचेत र सजग भई आर्थिक संकट आउन नदिनु नैै बुद्धिमानी हुनेछ । कथंकदाचित् समस्या आइहाल्यो भने त्यसले यहाँको राजनीतिक, आर्थिक र सामाजिक जनजीवनलाई नै तहसनहस पार्ने निश्चित छ हाम्रो देश नेपालमा चालू आर्थिक वर्षको सात महिनामा पेट्रोलियम पदार्थ, सवारीसाधन र पाटपुर्जा, खाद्यान्न, औषधि, इलेक्ट्रोनिक उपकरण, खानेतेल, मसलाजन्य वस्तु, सुर्ती, काठ–फर्निचर सजावटका सामग्री एवं फलफूल आदि वस्तुको खरिदमा ११ खर्बभन्दा बढीको आयात भएको देखिन्छ । नेपाललाई कृषिप्रधान देश भनिए पनि दैनिक उपभोग गर्नुपर्ने चामल आयातमा ५० अर्बभन्दा बढी र खानेतेल आयातमा १७ अर्बभन्दा बढी रकम बिदेसिएको पाइन्छ । नेपालमा प्रशस्त बालीनाली, फलफूल र तरकारी उत्पादन गर्ने उर्वर भूमि छ । आवश्यक काठ एवं फर्निचर उत्पादन हुने निजी, सामुदायिक एवं राष्ट्रिय जंगल हुँदाँहुदै पनि मानव जीवनका लागि अति महत्वपूर्ण ती वस्तुको उत्पादन तथा व्यवस्थापन गरी आत्मनिर्भर हुन नसक्नु दुःखको कुरा हो । 

२०७८ को जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको छ । २०६८ मा जनसंख्या वृद्धिदर १.४० प्रतिशत थियो । पछिल्लो जनगणनाले नेपालको जनसंख्या वृद्धिदरमा व्यापक कमी आएको देखाउँछ । पहिलेको तुलनामा जनताको चेतना र शिक्षाको स्तरमा समेत वृद्धि भएको छ, तर परिश्रम गर्ने बानीको विकास नहुँदा देशको आर्थिक अवस्था भने कमजोर भएको छ । कुनै समय चामललगायत कृषि उत्पादन निर्यात गर्ने हाम्रो देश नेपाल वर्तमान अवस्थामा परनिर्भर बन्न बाध्य भएको छ । 

हामी सचेत नागरिकले स्पष्टसँग सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्छ । आधुनिक नेपाल निर्माण गर्ने क्रममा विभिन्न जातजाति एवं समुदायमा दमन–शोषण भएका होलान्, केही गल्ती कमजोरी भए होलान् । यद्यपि, पृथ्वीनारायण शाहले दिएका उपदेशलाई बेवास्ता नगरेको भए सायद नेपालमा मानव जीवनका लागि चाहिने महत्वपूर्ण वस्तुमा अन्य देशको भर पर्नुपर्ने थिएन । पृथ्वीनारायण शाहले भनेका थिए, खानी भएको ठाउँमा बस्ती भए त्यहाँको बस्ती अन्यत्र सारी खानी चलाउनू, उब्जनी हुने जग्गामा बस्ती नबसाउनू र खेतीपाती गर्नू, स्वदेशी उद्योगबाट उत्पादित घरेलु कपडा प्रयोग गर्नू, जनतालाई अन्याय हुन नदिनू, न्याय–निसाफ बिगार्नेहरू घुस लिने र दिने हुन्, घुस लिने र दिने देशका शत्रु हुन् र यिनलाई कठोर र निर्मम सजाय दिनुपर्छ भन्ने आजभन्दा २४७ वर्षअघिका उनको भनाइ आज पनि उत्तिकै सान्दर्भिक छन् । 

अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनहरूले आफ्ना उद्देश्य एवं लक्ष्यअनुसार एक–अर्को देशबीच पारस्पारिक सहयोग गर्ने उद्देश्य लिएको भए तापनि व्यवहारमा पारस्पारिक सहयोग गरेको देखिँदैन । श्रीलंकामा अहिले आर्थिक संकटले छटपटाइरहेको छ तैपनि अन्य विकसित देशहरू, संयुक्त राष्ट्र संघ र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)जस्ता संगठनले श्रीलंकामा आवश्यक सहयोगका लागि सक्रिय पहल गरेको देखिँदैन । 

त्यसैले, सधैँभरि अरूप्रति परनिर्भर हुनुभन्दा आफ्नो देशको स्रोत र साधनलाई मितव्ययितापूर्वक सदुपयोग र परिचालन गर्दै आत्मनिर्भरताको वातावरण सिर्जना गर्नु नै बुद्धिमानी हुनेछ । साथै, हामी प्रत्येक नेपालीले आयातीत एवं विलासी वस्तुहरूको प्रयोगलाई भन्दा देशभित्रै उत्पादन भएका सामग्रीको प्रयोग गर्ने बानी र व्यवहारको विकास गर्न तथा सैद्धान्तिक पक्षभन्दा व्यावहारिक पक्षलाई अवलम्बन गर्दै उत्पादनशील र सिर्जनशील क्षेत्रमा कटिबद्ध भई लाग्नु वाञ्छनीय देखिन्छ ।

सुझावित समाचार