कांग्रेसबाट काठमाडौं महानगरको मेयरका आकांक्षी : पूर्वमन्त्रीदेखि वर्तमान उपमेयरसम्म

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

स्थानीय तह निर्वचनमा विभिन्न पार्टीका नेताहरू तथा स्वतन्त्र व्यक्तिहरूले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। नेताहरूले टिकट हात पार्न पार्टीभित्र लबिङ तीव्र बनाइरहेका छन् भने स्वतन्त्रहरूले उम्मेदवारी दिने घोषणा गरिरहेका छन्।  

स्थानीय तहमध्ये महत्वपूर्ण मानिने काठमाडौं महानगरपालिका प्रमुखका लागि पनि पार्टीभित्र लबिङ तीव्र छ भने केही स्वतन्त्र उम्मेदवारी घोषणा भइरहेका छन्। 

सत्तारुढ दल नेपाली कांग्रेसबाट आधा दर्जन नेताहरूले काठमाडौं महानगर प्रमुखमा आकांक्षा देखाएका छन्। पूर्वमन्त्रीदेखि वर्तमान उपमेयरसम्मका नेताले महानगरको मेयरमा दाबी गरिरहेका छन्। वर्तमान उपमेयर हरिप्रभा खड्गीले आफू महानगरको मेयरको प्रमुख दाबेदार भएको बताइन्। ‘म मेयरमा उठ्ने कुराले सबैजना खुसी हुनुहुन्छ। पार्टी पनि खुसी छ। ‘हाई लेभल’का नेताहरूले विभिन्न बैठक तथा छलफलमा मेरै नाम लिनुभएको छ भन्ने सूचना मैले पाएकी छु,’ आकांक्षी खड्कीले भनिन्। 

उपमेयरको अनुभवका आधारमा महानगरमा देखिएका बेथिति र विसंगतिलाई न्यूनीकरण गर्नका लागि आफूले  उम्मेदवारी दिने खड्कीको भनाइ छ। उनले भनिन्, ‘महानगरको आफ्नो मौलिक सम्पदा, संस्कृति र कलालाई बचाउँदै नयाँ प्रविधिको प्रयोगमा जोड दिएर काम गर्ने योजना छ।’

त्यसैगरी काठमाडौं कांग्रेसका पुराना नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले पनि महानगरको मेयरमा आफ्नो दाबी रहेको बताए। ‘म राष्ट्रिय सभा सदस्यका लागि पनि निर्वाचन लड्दिनँ, सांसदका लागि पनि लड्दिनँ, म काठमाडौं नगरपालिकाको मेयर उठ्ने हो। यसमा म ‘कम्प्रोमाइज’ गर्ने पक्षमा छैन,’ डंगोलले भने। शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्ने, काठमाडौंको प्रदूषणलाई न्यूनीकरण गर्ने गरी योजना बनाइरहेको उनले बताए। 

‘मोनो रेल, मेट्रो रेल चलाउनेजस्ता महत्वाकांक्षी  योजनाहरू मसँग छैनन्। आजकल वातावरण संरक्षणको मुद्दा पनि प्रमुख भएर आएको छ। शिक्षा र स्वास्थ्यपछि त्यसतर्फ मेरो ध्यान हुनेछ,’ डंगोलले भने, ‘काठमाडौं महानगर सुधारका लागि योजना बनाइरहेको छु।’ 

डंगोल ०५७ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए। उनी ०५६ देखि ०६४ सम्म कांग्रेसको काठमाडौं जिल्ला सभापति थिए। ४३ सालमा काठमाडौं नगरपञ्चायतका उपप्रधानपञ्च भएका डंगोल ०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट विजयी भएका थिए। 

काठमाडौं महानगर प्रमुखमा दाबी गरेका अर्का नेता हुन्, प्रगतिमान रन्जित। उनले  मौलिकता झल्कने गरी काठमाडौंलाई सांस्कृतिक सहर बनाउन आवश्यक रहेकाले आफूले मेयरमा दाबी गरेको बताए। ‘काठमाडौं महानगरपालिकाका प्रथम मेयर पिएल सिंहको सांस्कृतिक सहरको जुन भिजन थियो, त्यसलाई मूर्त रूप दिन मैले मेयरमा दाबी गरेको छु,’ रन्जितले भने। 

काठमाडौंमा जन्मे हुर्केको रैथानै भएकाले  काठमाडौंको समस्या र अवसरलाई आफूले राम्रोसँग बुझेकाले मेयर भएर काम गर्न सहज हुने उनको भनाइ छ। ‘जनसंख्या वृद्धिले काठमाडौंको फोहाेरमैला व्यवस्थापन तथा यातायातमा समस्या देखिएको छ। त्यस्तै काठमाडौंको शिक्षाको गुणस्तर पनि बढाउनुपर्ने भएको छ,’ रन्जितले भने, ‘त्यसका लागि महानगरको भूमिका निकै महत्वपूर्ण छ। मौलिकतालाई जोगाएर सुविधा सम्पन्न काठमाडौं बनाउने प्रमुख योजना मेरो छ।’  

त्यसैगरी कांग्रेस काठमाडौं महानगरका सचिव इन्जिनियर सुसन वैद्यको पनि महानगरको मेयरमा दाबी छ। काठमाडौं महानगर सुधारका लागि महानगरले उपत्यकाका सबै पालिकासँग समन्वय गरेर अगाडि बढ्ने योजनासहित आफूले मेयरमा दाबी गरेको वैद्यले बताए। 

‘महानगरको सार्वजनिक यातायातको गुणस्तर वृद्धि, फोहाेरमैला व्यवस्थापन, प्रदूषण नियन्त्रण र सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धिलाई प्राथमिकतामा राखेर उपत्यकाका सबै पालिकाबीच समन्वय, सहकार्य र सहयात्रा गर्ने गरी योजना बनाएको छु,’ वैद्यले भने। ‘मेयर भएँ भने काठमाडौंमा धेरै काम गर,  धेरै पैसा कमाउ र धेरै कर तिर’ भन्ने मूल नाराका साथ काम गर्नेछु।’ वैद्य मेयरका युवा आकांक्षी हुन्।

कांग्रेसबाट महानगरको मेयरमा नेतृ सिर्जना सिंहको पनि चर्चा छ। महिला संघ काठमाडौंले बैठक नै बसेर सिंहलाई मेयरको उम्मेदवार बन्न अनुरोध गर्दै पार्टी नेतृत्वलाई दबाब दिने निर्णय नै गरेको छ। सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन्। त्यसैगरी महानगरको मेयरको आकांक्षा देखाउनेमा कांग्रेस काठमाडौं महानगर सभापति निलकाजी शाक्य पनि छन्। शाक्य काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष पनि हुन्। 
 
 

सम्पादकको रोजाइ

सुझावित समाचार