आगामी वैशाख ३० गते देशभर एकैसाथ सञ्चालन हुने स्थानीय तहको निर्वाचनअन्तर्गत खोटाङमा एक सय ३६ मतदानस्थल र एक सय ९४ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा सामान्यमा राखिएको छ।
सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना र भौगोलिक विकटताको आधारमा मतदानस्थललाई तीन समूहमा वर्गीकरण गरेर शान्तिसुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले जानकारी दिए। मतदानस्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि जिल्लामा कार्यरत सुरक्षाकर्मी तथा म्यादी प्रहरी अभाव हुने भएकाले थप सुरक्षाकर्मी सम्बन्धित निकायमा माग गर्ने तयारी गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकामा २४ मतदानस्थल र ४४ मतदान केन्द्र, हलेसी तुवाचुङ नगरपालिकामा १८ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको छ। त्यस्तै, केपिलासगढीमा १३ मतदानस्थल र १५ मतदान केन्द्र, ऐंसेलुखर्कमा १३ मतदानस्थल र १५ मतदान केन्द्र, रावाबेँसीमा १० मतदानस्थल र १४ मतदान केन्द्र, साकेलामा आठ मतदानस्थल र १२ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मामा १३ मतदानस्थल र १८ मतदान केन्द्र, खोटेहाङमा १५ मतदानस्थल र २१ मतदान केन्द्र, बराहपोखरीमा १० मतदानस्थल र १३ मतदान केन्द्र तथा जन्तेढुंगामा १२ मतदानस्थल र १५ मतदान केन्द्र निर्धारण गरिएको छ।
कुन स्थानीय तहमा कति मतदाता ?
दश स्थानीय तह रहेको खोटाङमा यस वर्षको निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ जनाले मतदान गर्न पाउने भएका छन्। यो मतदाता संख्या ०७४ को निर्वाचनको तुलनामा २८ हजार एक सय १० ले बढी रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए । आगामी स्थानीय निर्वाचनमा जिल्लाका ६८ हजार सात सय ४६ महिला र ७५ हजार ६ सय पुरुष मतदाता रहेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, हलेसी तुवाचुङ नगरपालिकामा २० हजार नाै सय २१ मतदाता छन्। त्यस्तै, गाउँपालिकाहरूमध्ये केपिलासगढीमा दश हजार आठ सय ३८, ऐँसेलुखर्कमा ११ हजार चार सय ९५, रावाबेँसीमा नौ हजार ६ सय १८, साकेलामा आठ हजार पाँच सय ४८, खोटेहाङमा १५ हजार दुई सय ४५, दिप्रुङ चुइचुम्मामा १३ हजार चार सय ३१, बराहपोखरीमा नौ हजार तीन सय ६४ र जन्तेढुंगामा दश हजार दुई सय १३ मतदाता छन्।
दशवटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिए
स्थानीय तहको निर्वाचनका लागि खोटाङका दशवटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई जिम्मेवारी तोकिएको छ। दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ।
हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायाधिवक्ता संगीता न्यौपाने (ढुंगेल), खोटेहाङमा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुंगामा महालेखा नियन्त्रक कार्यालय काठमाडौंका उपसचिव मानबहादुर मगर, बराहपोखरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगरकी उपसचिव कोपिला राई, दिप्रुङ चुइचुम्मामा सर्वोच्चका इजलास अधिकृत गम्भीर घिमिरे, साकेलामा नेपाल कानुन आयोगका उपसचिव राजन नेपाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यस्तै, ऐँसेलुखर्कमा जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादव, केपिलासगढीमा इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई, रावाबेँसीमा सर्वोच्चका इजलास अधिकृत लालबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ।
जिल्ला न्यायाधीश र राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ।