सुदूरपश्चिममा चुनावी सरगर्मी सुरु

शुक्रबार, १८ चैत, २०७८
डिजिटल संस्करण

आगामी ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै दलहरूले सुदूरपश्चिमका जिल्लामा चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । पार्टीका आन्तरिक भेला प्रशिक्षणसँगै विभिन्न कार्यक्रम लिएर नेता, कार्यकर्ता जनताको घरदैलोमा पुग्न थालेका छन् । दलका गतिविधिले सुदूरपश्चिममा चुनावी सरगर्मी बढेको छ । अघिपछि संघीय राजधानी काठमाडौंमा धेरै समय बिताउने नेताहरू जिल्ला फर्किन थालेका छन्, गाउँघर पुग्न थालेका छन् । विशेष गरी नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलका गतिविधि बढेको देखिन्छ । 

एमाले : विभाजनको असर पर्न नदिन सक्रिय
०७४ मा भएको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिममा एमाले प्रभावशाली देखिएको थियो । तर, पार्टी विभाजनपछि त्यसको सबैभन्दा बढी प्रभाव सुदूरपश्चिम प्रदेशमै देखिएको छ । त्यसैले एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै गत फागुनदेखि नै सक्रियता बढाएको देखिन्छ । 

त्यहीक्रममा १९ फागुनमा एमाले महासविच शंकर पोखरेल धनगढी आएका थिए । उनले प्रदेशका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा विगतमा जस्तै सानदार परिणाम ल्याउने गरी सक्रिय हुन निर्देशन दिए । त्यसअघि १५ र १६ फागुनमा धनगढीमा एमालेले प्रदेशस्तरीय प्रशिक्षण तथा बैठक गरेको थियो । बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेता उपस्थित थिए । सो बैठकले निर्वाचनलक्षित योजनाबारे छलफल गरेको थियो । सो छलफलमा पनि पार्टी विभाजनको असर पर्न नदिन सक्रिय हुने निर्णय भएको थियो । 

एमाले प्रदेश सचिव धर्मराज पाठकले एमालेले सबै जिल्लामा जिल्ला, पालिका र निर्वाचन केन्द्रस्तरीय भेलाहरू गरिरहेको बताएका छन् । ‘एमाले नेतृत्वको सरकार र एमालेको नेतृत्व रहेको स्थानीय तहले गरेका राम्रा काम जनतामा लैजानेसँगै गठबन्धन सरकारले गरेका नराम्रा कामको भण्डाफोर गर्दै छौँ,’ उनले भने, ‘टोल कमिटीहरू पनि गठन गरिरहेका छौँ ।’ पार्टीको अवस्था आकलन गर्ने, रणनीति बनाउने, उम्मेदवारको पहिचान गर्ने, घोषणापत्रका लागि स्थानीय मुद्दाको पहिचान गर्ने कार्यहरू पनि एमालेले गरिरहेको सचिव पाठकले जानकारी दिए ।

कांग्रेस : एमाले विभाजनको लाभ लिने प्रयास
कांग्रेसले केन्द्रबाटै जिल्लामा प्रतिनिधि खटाएर प्रदेशका नौवटै जिल्लामा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको थियो । कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह मनुले प्रदेश समितिले पनि प्रदेश सभाका ३२ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएर कार्यक्रम गरिरहेको बताए । 

‘प्रदेशका पदाधिकारी र सदस्यलाई प्रदेश निर्वाचन क्षेत्रमा अभियानमा खटाएका छौँ । जिल्ला समितिहरूले पनि जिल्लाका पदाधिकारीलाई वडावडामा खटाएको छ,’ शाहले भने, ‘टोलटोलमा समेत कार्यक्रम गरिरहेका छौँ ।’ पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनुअघि रमेश लेखक, एनपी साउदलगायत केन्द्रीय नेताहरू चुनावी कार्यक्रममा खटिएका थिए । गत निर्वाचनमा सबैभन्दा सफल देखिएको एमाले विभाजन भएकाले त्यसको लाभ लिन कांग्रेस प्रयासरत देखिएको छ । एमाले विभाजनको प्रत्यक्ष फाइदा आफूहरूलाई पुग्ने भन्दै कांग्रेसले गाउँगाउँमा नेता–कार्यकर्तालाई खटाएको छ । 

माओवादी : नतिजा अघिल्लोभन्दा बढाउने लक्ष्य
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रको प्रदेश कमिटीले जिल्ला–जिल्लामा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणात्मक कार्यक्रम पालिकास्तरसम्म पुगेको माओवादी नेताहरू बताउँछन् । संगठन परिचालनमा केन्द्रित रहेर कार्यक्रमहरू भइरहेको माओवादी प्रदेश सचिव जनक बुढाले बताए । आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने गरी संगठन मजबुत बनाउने गरी जनताका बीचमा गएर विभिन्न कार्यक्र गरिरहेको उनले बताए । त्यसो त चैतको पहिलो साता प्रदेश कमिटीले आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा पार्टी अध्यक्ष प्रचण्ड सहभागी भएका थिए । उनले आगामी निर्वाचनमा गठबन्धनको मानसिकता त्यागेर आफ्नै तागतले चुनाव जित्ने गरी सक्रिय हुन सहभागी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए । त्यसयता प्रदेशका जिल्ला र गाउँगाउँमा माओवादी कार्यकर्ता पुगिरहेका छन् । अभियानकै क्रममा कैलालीको मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर समाजवादी त्यागेर माओवादीमा गइन् ।

एकीकृत समाजवादी : संगठन विस्तारमा ध्यान
नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पहिलोपटक स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै छ । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा एकीकृत समाजवादीको उपस्थिति धेरै देखिन्छ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी रहेको एकीकृत समाजवादीले प्रदेशका नौवटै जिल्लामा कमिटी विस्तार गरिसकेको छ । चैतको पहिलो साता समाजवादीले पनि धनगढीमा प्रदेश कमिटीको विस्तारित बैठक गरेको थियो । बैठकमा सहभागी महासचिव बेदुराम भुसालले पहिलोपटक निर्वाचनमा सहभागी हुन लागिरहेको नठानी सक्रियतापूर्वक क्रियाशील हुन निर्देशन दिएका थिए । बैठकमा प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जनप्रतिनिधि, जिल्ला कमिटीका पदाधिकारी, जनवर्गीय संगठनका प्रमुख सहभागी थिए । बैठकले ‘जनतामा जाऔँ एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर जिल्लाजिल्लामा अभियान सञ्चालन गर्ने योजना बनाएको थियो । अहिले सोही नारासहित एकीकृत समाजवादीले गाउँगाउँमा अभियान चलाइरहेको छ । सो अभियान चैत मसान्तसम्म चल्ने प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा संघीय समाजवादी, लोकतान्त्रिक समाजवादी तथा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि कार्यक्रम गरिरहेका छन् । 

शक्ति आकलन गर्दै दलहरू
निर्वाचन अभियानसँगै दलहरू आफ्नो अवस्थाबारे पनि आकलन गरिरहेका छन् । कहाँ जितिएला र कहाँ कमजोर अवस्था छ भन्ने अध्ययन गर्न दलहरूले कार्यकर्ता परिचालन पनि गरिरहेका छन् । प्रदेशका ८८ स्थानीय तहमध्ये अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख जितेका आधारमा एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी देखिन्छन् । त्यसो त प्रदेश सभामा एकीकृत समाजवादी सबैभन्दा ठूलो र माओवादी दोस्रो ठूलो दल हुन् । त्यसैले उनीहरूलाई कमजोर मान्न सकिने अवस्था छैन । 

एमाले प्रदेश सचिव धर्मराज पाठकले एमालेको शक्ति पहिलेकै अवस्थामा रहेको दाबी गरे । कांग्रेस नेताहरू एमाले विभाजन भएकाले स्वाभाविक रूपमा कांग्रेसले त्यसको लाभ पाउने र अधिकांश स्थानमा कांग्रेसका उम्मेदवार विजयी हुने दाबी गरिरहेका छन् । गत निर्वाचनमा १० वटा तहको प्रमुख र १२ तहको उपप्रमुख जितेको माओवादी पहिलेको भन्दा सुदृढ अवस्था बनाउने कसरतमा छ । सुदूरपश्चिममा लेखराज भट्टसहित केही नेताहरू एमालेमा गए पनि कार्यकर्तामा असर नदेखिएको माओवादी दाबी छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार