प्रदेश १ मा चुनावी सरगर्मी : जनताका दैलोमा पुग्न थाले दल

बुधबार, १६ चैत, २०७८
डिजिटल संस्करण

निर्वाचन नजिकिँदै गर्दा प्रदेश १ मा दलले सक्रियता बढाएका छन् । केही दल संगठन सुदृढीकरण, विस्तार र प्रशिक्षणमा तथा केही खुला सभाहरू आयोजना गर्न थालेका छन् । नेता–कार्यकर्ताहरूको दौडधुप बढेको छ । एमाले, कांग्रेस, माओवादी, जसपा र राप्रपाले सक्रियता बढाएका छन् । 

ठूला सभाहरू गर्दै एमाले
एमालेले प्रदेशका सबै स्थानीय तहमा क्रियाशीलता बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता प्रदेश–१ का विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । एमाले प्रदेश १ का अध्यक्ष विनोद ढकालका अनुसार अध्यक्ष ओली आफैँ प्रदेशका विभिन्न जिल्लामा चलिरहेका आमसभामा सहभागी भइरहेका छन् । यसक्रममा उनले ६ चैतमा इलाममा आयोजित आमसभालाई सम्बोधन गरे । त्यसअघि ओली २१ फागुनमा झापा आएका थिए । 

२५ फागुनमा मोरङको रंगेलीमा पुगेर रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडियालाई पार्टी प्रवेश गराए । आगामी १९ चैतमा खोटाङमा हुने आमसभामा पनि अध्यक्ष ओली सहभागी हुने ढकालले जानकारी दिए । ‘गृहप्रदेश भएकाले पनि प्रदेश १ का जिल्लाहरूमा अध्यक्षज्यूको सक्रियता छ,’ अध्यक्ष ढकालले भने । 

एमालेले २ र ३ फागुनमा विराटनगरमा पार्टी नगर, जिल्ला पदाधिकारी, सांसद, नगरप्रमुख तथा उपप्रमुखसहित प्रशिक्षण कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको एमाले प्रदेश सचिव चिन्तन पाठकले जानकारी दिए । ‘पार्टीको गाउँ तथा वडामा पुगेर प्रशिक्षण कार्यक्रमको गरिरहेका छौँ,’ उनले भने, ‘उम्मेदवार छनोटको विधि केन्द्रले टुंगो लगाएपछि थप क्रियाशील हुन्छौँ ।’

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा दलहरू गाउँ–गाउँ पुग्न थालेका छन् । संगठन सुदृढीकरण, विस्तार र प्रशिक्षणमा मात्र होइन, खुला सभाहरूसमेत हुन थालेका छन् । 

अभियान लिएर कांग्रेस घरदैलोमा 
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले पनि चुनावी अभियानलाई बढाएको छ । प्रदेश १ का विभिन्न जिल्लामा कांग्रेसका शीर्ष नेता सहभागी भइरहेका छन् । अहिले कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाइरहेको छ । यो अभियानका क्रममा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएको प्रदेश सभापति उद्धव थापाले जानकारी दिए । 

उनका अनुसार प्रदेशले पनि यो अभियानलाई सहयोग गर्न प्रत्येक जिल्लामा दुईजना प्रतिनिधि खटाएको छ । यसले संगठन सुदृढीकरणमा सहयोग पुगेको थापाले बताए । कांग्रेसले यसअघि हालै प्रदेश जागरण अभियान चलाएको थियो । थापाका अनुसार ११ फागुनदेखि १ चैतसम्म प्रदेश १ का १४ वटै जिल्लामा सो अभियान चलेको थियो । अभियानमा पार्टी नेता तथा कार्यकर्तासँग छलफल र संगठन सुदृढीकरणको काम गरिएको उनले जानकारी दिए । त्यसअघि ३० फागुनमा झापामा आयोजित विभिन्न कार्यक्रममा नेता कृष्णप्रसाद सिटौला सहभागी भएका थिए ।

माओवादीको ध्यान संगठन सुदृढीकरणमा
माओवादी केन्द्र पनि चुनावकेन्द्रित भई संगठन सुदृढीकरणमा लागेको छ । माओवादी केन्द्रको केन्द्रीय समितिले प्रदेश १ का पाँच केन्द्रीय सदस्यलाई पाँच कमान्डर बनाएर संगठन सुदृढीकरण अभियानमा लगाएको छ । प्रदेश समितिले पनि वडा तहसम्मै चुनाव परिचालन कमिटी निर्माणको प्रक्रिया अघि बढाएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । 

चुनावी अभियानअन्तर्गत माओवादीले २९ फागुनमा विराटनगरमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण आयोजना गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मालगायतले दुई हजारभन्दा बढी कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । यस्तै, केन्द्रीय सदस्यले पनि आफ्नो जिल्ला तथा पालिकामा संगठन सुदृढीकरणको कार्यक्रम गरिरहेको अध्यक्ष नेम्वाङले बताए । यस अवधिमा माओवादीले खुला सभा भने आयोजना गरेको छैन । १५ चैतसम्ममा संगठन सुदृढीकरण र चुनाव परिचालन सकिने र त्यसपछि चुनावी आमसभाहरू गरिने नेम्वाङले जानकारी दिए । 

जसपा, एस र राप्रपा पनि गाउँ पसे
जनता समाजवादी पनि निर्वाचनको अभियानमा जुटिसकेको छ । जसपाका प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै जसपा अभियानमा जुटिसकेको जानकारी दिए । ‘अहिले प्रदेश १ का एक सय ३७ वटै स्थानीय तहमा पार्टीले केन्द्रीय सदस्यलाई अभियन्ता बनाएर पठाएको छ । 

अभियानहरू चलिरहेका छन्,’ उनले भने, ‘पार्टीको निर्देशनअनुसार २० चैतसम्ममा स्थानीय तहको उम्मेदवार टुंगो लगाउनेछौँ । त्यसपछि हामी अन्तिम चरणका चुनावी सभाहरू गर्छौं ।’ पछिल्लो निर्वाचन परिणाम हेर्दा प्रदेश १ का अन्य जिल्लाको तुलनामा मोरङ र सुनसरीमा जनता समाजवादीको अवस्था निकै देखिन्छ । तर, प्रदेश अध्यक्ष चाम्लिङले आदिवासी जनजातिको बसोवास रहेका पहाडी जिल्लामा पनि जसपाको अवस्था निकै बलियो बनेको दाबी गरे ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पहिलोपटक निर्वाचनमा सहभागी हुँदैन । पार्टी नयाँ भए पनि एकीकृत समाजवादीका नेता एमाले पार्टी गठनदेखि एमालेको संगठन निर्माणमा निर्णायक भूमिका खेलेका नेतामा पर्छन् । त्यसैले एकीकृत समाजवादीले पार्टी गठनसँगै संगठन निर्माण अघि बढाइरहेको छ । निर्वाचनको मिति घोषणाभएपछि उसले पनि अभियानहरू संचालन गरिरहेको छ । प्रदेश अध्यक्ष बलदेव चौधरीले आफ्नो पार्टीले चुनावी अभियान र संगठन सुदृढीकरण कार्यक्रम गरिरहेको बताए । प्रदेश सचिवालयको निर्णयमा १ चैतदेखि एक महिने अभियान गरिरहेको उनले जानकारी दिए । एक महिने अभियान १४ वटै जिल्लामा चलिरहेको उनले बताए । 

‘केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्र, प्रदेश र जिल्ला सदस्यलाई वडासम्म पठाएका छौँ । उहाँहरूले चुनावी प्रचार, वडा, पालिका र जिल्ला भेला संगठन निर्माणका काम गरिरहनुभएको छ,’ उनले भने, ‘उहाँहरूलाई होटलमा नभई जनताका घरमा बस्नुस् भनेका छौँ । खाना नपाए श्रम गरेर खानुस् भनेका छौँ ।’ उनले यो अभियानले चुनावी प्रचार, संगठन विस्तार र आफ्ना कुरा जनतासम्म पु¥याउन सहयोग पुग्ने बताए ।

राप्रपा पनि स्थानीय तहको निर्वाचन अभियानमा जुटेको छ । राष्ट्रिय पार्टी बन्न नसकेका दलहरूको हकमा चुनावचिह्नको विषयमा निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही अघि निर्वाचन चिह्नमा अन्याय भए निर्वाचनमै भाग नलिनेसम्मको चेतावनी दिएका थिए । तर, आयोगले यसअघिको निर्वाचनमा वितरण गरिएकै निर्वाचन चिह्न दिने निर्णय गरेपछि राप्रपा पनि अभियानमा जुटिसकेको छ । केही महिनाअघि सम्पन्न महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित लिङ्देनको गृहजिल्ला झापामा राप्रपा बलियो शक्तिका रूपमा रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा झापामा राप्रपाले तीन स्थानीय तह जितेको थियो । त्यसैले प्रदेश १ का अन्य जिल्लाको तुलनामा राप्रपाको चुनावी अभियान पनि झापामै बढी केन्द्रित छ । झापामा भइरहेका कार्यक्रममा लिङ्देन सहभागी पनि भइरहेका छन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार