स्व. अधिकारीसँग पाथीभरा दर्शनको त्यो सम्झना

मंगलबार, २८ फागुन, २०७५
डिजिटल संस्करण

दिउँसोको दुई बज्नै लागेको थियो । म केही कामविशेषले प्रशासन शाखा पुगेकी थिएँ । एकजना सरले पर्यटनमन्त्री चढेको हेलिकोप्टर बेपत्ता भएको न्युज छ त भन्दै मोबाइल देखाउनुभयो । त्यो सुनेर म खङरङै भएँ । मन्त्री अधिकारी विकास समितिको सभापति हुँदा म उहाँको समिति सचिवालयमा कार्यरत थिएँ । यतिकैमा श्रीमान्को फोन आयो, दीपा मन्त्री अधिकारी चढेको हेलिकोप्टर त क्र्यास भन्ने खबर छ त, के हो ?’ मैले ‘होइन, बेपत्ता मात्र भनिरा’छ, हामी त्यही न्युज हेर्दै छौँ, म अफिसमा छु’ भनेर फोन राखेँ । अनलाइन न्युजहरूले बेपत्ता हेलिकोप्टर दुर्घटना भएको आशंका भन्दै अन्ततः मन्त्री अधिकारीसहित सातैजनाको निधन भनी समाचारको ओइरो लाउन थाले । 

दीपाकुमारी दुलाल

कस्तो अपत्यारिलो खबर ! स्विकार्नै नसकिने । मन बेचैन भयो । न्युजमा आएका खबरहरू सत्य नहुन भन्दै सेकेन्ड–सेकेन्डको अपडेट नियाल्दै थिएँ । अन्ततः स्वीकार गर्न करै लाग्यो । पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा भएको कहालीलाग्दो दुर्घटनाले मलाई झन् धेरै स्तब्ध बनायो । किनभने, ०७३ मंसिर ७ गते म विकास समितिका तत्कालीन सभापति रवीन्द्र अधिकारीसँगै हेलिकोप्टरमा पाथीभरा गएकी थिएँ ।

६ मंसिरमा विकास समितिका माननीय सदस्यहरूको टोलीले प्रदेश १ को भौतिक पूर्वाधार विकास तथा उत्तर–दक्षिण करिडोरको रूपमा रहेको ताप्लेजुङ–ओलाङचुङगोला सडकखण्डको निर्माणकार्यको स्थलगत अवलोकन गर्ने कार्यक्रम थियो । मंसिर ७ गते बिहान ओलाङचुङगोलाको सडक अनुगमनका क्रममा सभापतिज्यूसँग पाथीभरा देवीको दर्शन गर्ने इच्छा देखाएँ । उहाँले त्यति टाढा हिँडेर जाँदा बिरामी पर्ने सम्भावना हुन्छ, पर्दैन जानु भन्नुभयो । मेरो पाथीभरा पुग्ने तीव्र इच्छा देखेर रामकुमार भट्टराई माननीयज्यूले म पनि गएको छैन, हामी पुगेर आउँछाैं नि त भन्नुभयो ।

तर, सभापतिज्यूले खासै इच्छा देखाउनुभएन । आफू जुन काममा गएको हो, त्यसमा मात्रै केन्द्रित हुने उहाँको बानी थियो ।  ताप्लेजुङ–ओलाङचुङगोला सडकखण्डको फुङलिङबाट १५ किमि फुरुम्बु गाविसको गढीडाँडामा अन्तरक्रिया कार्यक्रम सकेर हामी सुकेटार विमानस्थलनजिकै सुरु भएको कञ्चनजंघा हीरक महोत्सवतिर लाग्यौँ । सभापतिज्यूको महोत्सवमा सहभागी हुनुपर्ने थियो । मेरो खास काम केही थिएन । 

सुकेटारबाट हेलिकोप्टरले दर्शनार्थीलाई पाथीभरा लाने र ल्याउने गरिरहेको थियो । म अरू गएको र फर्केको हेरेर भगवान्ले नजुराई जान पाइन्न रे भनी मन बुझाउँदै थिएँ । यत्तिकैमा कञ्चनजंघा हीरक महोत्सवका सचिव बलबहादुर तामाङले सभापतिज्यूलाई तपाईं पाथीभरा जाने भए एक सिट मिलाइदिन्छु भन्नुभयो । सभापतिज्यूले म जान्नँ, त्यो सिटमा यो नानीलाई पठाइदिनू भन्दै मलाई देखाउनुभयो । मैले अहँ ! म एक्लै त जाँदिनँ भनेँ ।

त्यसपछि म, सभापतिज्यू र रामकुमार भट्टराई माननीयज्यूसहित सातजना पाथीभरा दर्शनका लागि उड्यौँ । खुला मौसम । छ्यांग आकाश । हावा चलिरहेको थियो । हेलिकोप्टरले उचाइ लिँदै गर्दा परपरसम्मको प्राकृतिक सौन्दर्य मज्जाले नियाल्न सकिन्थ्यो । हेलिकोप्टरबाट पैदल जाने बाटो देखाउँदै सभापतिज्यूले ल बिहान हिँडेको भए त दीपा यतैतिर आइपुगेको हुन्थ्यो होला भनी मतिर हेर्दै व्यंग्य गर्नुभयो । सुकेटारबाट हिँडेको करिब दश मिनेटमा हामी मन्दिरनजिकैको हेलिप्याडमा ओर्लियौँ । केहीछिनकै अन्तरालमा हामी अलौकिक स्थानमा पुगिसकेका थियौँ । संविधानसभाका सदस्यहरू देखेपछि पुजारीले ओहो ! आज हजुरहरू आउनुहुने रहेछ र त मौसम यस्तो खुलेको रहेछ, नत्र त यहाँ हुस्सु लागिरहन्छ भने । 

मन्दिर जाने र नजाने टुंगो नभएकाले पूजा सामग्री केही पनि थिएन । तर, अरू साथीहरूले सबै पूजा सामग्री ल्याउनुभएको रहेछ । सभापतिज्यूले पनि अबिर, अक्षता चढाउँदै पूजा गर्नुभयो । सुकेटार हीरक महोत्सवमा भाषणको कार्यक्रम भएकाले सभापतिज्यू हतारिँदै हुनुहुन्थ्यो । पूजा सकेर धुपबत्ती गरी हामीले मन्दिर परिसरमा फोटो खिचायौँ । पुजारीले दिएको प्रसाद बोकी हामी छिटोछिटो हेलिकोप्टर भएतिर फर्कियौँ । कञ्चनजंघालाई हेरेर मन अघाएकै थिएन, अझ केही बेर त्यहीँ बस्ने मन हुँदाहुँदै हामी हेलिकोप्टरमा उड्यौँ ।

म असाध्यै खुसी थिएँ । मनको इच्छा पूरा भएको थियो । हेलिकोप्टरबाट सुकेटारमा ओर्लिंदै गर्दा सभापतिज्यूलाई धन्यवाद भनेँ । उहाँले हाँस्दै म पनि पहिलोपटक पुगेको हो, जानैपर्ने ठाउँ रहेछ । तिमीले गर्दा गइयो, तिमीलाई पनि धन्यवाद भन्नुभयो । आज त्यही पाथीभरा देवीको दर्शन गरेर फर्कने क्रममा भएको दुर्घटनाले मलाई स्तब्ध बनाएको छ । उहाँसँग काम गर्दाका क्षण सम्झँदा मन भक्कानिएर आउँछ । हेलिकोप्टरमा सवार सबैको निधनले सिंगो देश रोएको छ । अरूलाई हौसला र प्रेरणा दिएर कहिल्यै नथाक्ने सूर्य आज मध्याह्नमा नै अस्ताएको छ । केही गर्छु भन्दाभन्दै बल्दै गरेको दियो झ्याप्प निभेको छ । यो अकल्पनीय मृत्युलाई सहन गर्न असाध्यै कठिन भइरहेको छ । 

(लेखक संघीय संसद्को विकास तथा प्रविधि समितिमा कार्यरत शाखा अधिकृत हुन्)

सुझावित समाचार