जिल्लाअनुसार फरक-फरक मतपत्र छापिने

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

राष्ट्रिय मान्यताप्राप्त, जिल्लामा मात्र सक्रिय दल र स्वतन्त्र उम्मेदवारलाई मध्यनजर गर्दै जिल्लाअनुसारको मतपत्र

निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्र छाप्ने भएको छ । आयोगले जिल्लामा दलहरूको सक्रियता हेरेर मतपत्र छाप्ने तयारी गरेको छ । राष्ट्रिय मान्यताप्राप्त दल, जिल्लामा मात्र सक्रिय दल र सम्भावित स्वतन्त्र उम्मेदवारलाई मध्यनजर गर्दै एक–दुई दिनमै मतपत्र छाप्न सुरु गर्ने आयोगको तयारी छ । थोरै दल दर्ता भएको जिल्लामा सुरुमा र धेरै दल भएको जिल्लामा दोस्रो चरणमा मतपत्र छाप्ने आयोगको गृहकार्य छ । 

राजनीतिक दलको क्रियाशीलता हेरेर आयोगले सबैभन्दा सानो मतपत्र १६ लाइनको छाप्ने तयारी गर्दै छ । त्यस्तो मतपत्र थोरै राजनीतिक दल क्रियाशील भएका मनाङ, मुस्ताङ, डोल्पाजस्ता जिल्लामा प्रयोग हुनेछ । सबैभन्दा ठूलो मतपत्र ६० लाइनको छाप्ने तयारी छ । यस्तो मतपत्र झापा, काठमाडौं र ललितपुरलगायतका जिल्लामा प्रयोग हुनेछ । एक लाइनमा सातवटा चिह्न हुन्छन् । 

आयोगको तथ्यांकअनुसार मनाङ, मुस्ताङ र डोल्पामा सबैभन्दा कम दल संख्या छ । यी तीन जिल्लामा राष्ट्रिय मान्यताप्राप्त गरेका ६ र जिल्लामा मात्रै सक्रिय पाँच–पाँच दल छन् । निर्वाचनमा यी ११ दलबाहेकका केही संख्यामा स्वतन्त्र उम्मेदवारसमेत रहने अनुमानका आधारमा आयोगले १६ लाइनको मतपत्र छाप्ने तयारी गरेको हो । 

त्यसैगरी काठमाडौंमा सबैभन्दा बढी दलसंख्या छ । राष्ट्रिय मान्यताप्राप्त ६ दल र जिल्लामा मात्रै सक्रिय ४० गरी ४६ वटा दल छन् । त्यसैगरी, मोरङमा राष्ट्रिय मान्यताप्राप्त ६ र जिल्लामा मात्रै सक्रिय ३३ गरी ३९ दल सक्रिय छन् । यस्ता जिल्लामा थप स्वतन्त्र उम्मेदवारीको आकलन गरी आयोगले मतपत्र छपाइ गर्नेछ ।  निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले विगतको अवस्था हेरेर स्वतन्त्र उम्मेदवारीको अनुमान लगाउनेछ । उनका अनुसार दलको संख्या कम भएको जिल्लामा विगतको अनुभवका आधारमा पाँचदेखि सातवटा स्वतन्त्र उम्मेदवारका लागि मतपत्रमा ठाउँ हुनेछ । त्यसैगरी, बढी राजनीतिक दल सक्रिय जिल्लामा १० देखि १५ स्वतन्त्र उम्मेदवारी पर्ने सम्भावनाका आधारमा मतपत्र छापिनेछ । 

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार धेरै राजनीतिक दल सक्रिय भएका काठमाडौं, भक्तपुर, ललितपुर साथै उपत्यकाबाहिरका केही नगरहरूमा उम्मेदवारी मनोनयनपछि मतपत्र छपाइ हुनेछ। आयोगले राष्ट्रिय मान्यताप्राप्त नगरेका ६३ दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको छ । आयोगले २ चैतमा माग गरेबमोजिम जिल्ला विवरण बुझाउने ६३ दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । 

‘आयोगको निर्देशनबमोजिम जिल्ला संरचना पेस गर्ने राजनीतिक दलहरूलाई आयोगबाट प्रदान गरिसकिएको निर्वाचन चिह्न प्रदान गरी स्थानीय तह सदस्य निर्वाचनका लागि तत्तत् जिल्लाको मतपत्रमा समावेश गरिने गरी आयोगबाट १३ चैतमा निर्णय भएको छ,’ आयोग प्रवक्ता पौडेलले भने । 

आयोगले राष्ट्रिय मान्यताप्राप्त नगरेका दलहरूमध्ये जिल्लागत संरचना बुझाउने दललाई निर्वाचन चिह्न प्रदान गरेको हो । केन्द्रीय विवरण नबुझाए पनि जिल्लागत विवरण बुझाउनेलाई आयोगले सम्बन्धित दलकै चिह्न प्रदान गर्ने भएको हो । स्थानीय तह निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दलहरूमध्ये राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका अन्य ७३ राजनीतिक दललाई आफ्नो जिल्ला कार्यसमितिको विवरण पेस गर्न आयोगले २ चैतमा निर्देशन दिएको थियो ।

माघ २५ देखि वैशाख २९ सम्ममा करिब दुई लाख मतदाता थप 
आयोगले २९ वैशाखलाई ‘कट अफ डेट’ मानेर अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । २५ माघदेखि २९ वैशाखसम्म दुई लाख मतदाता थपिएको आयोगको अनुमान छ । ‘हामीले डाटा प्रोसेसिङ गरिरहेका छौँ । वैशाख २९ लाई कट अफ डेट मान्दा करिब दुई लाखको हाराहारीमा नयाँ मतदाता थपिएका छन् । दुई लाखभन्दा कम नै हुन्छ, बढी हुँदैन भन्ने अनुमान छ,’ प्रवक्ता पौडेलले भने । आयोगले आइतबार एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाताको अन्तिम नामवली सार्वजनिक गरेको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार