जुम्लामा म्यादी प्रहरीमा आवेदन दिनेको भिड देखिएको छ। जिल्ला प्रहरी कार्यालयले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सात सय ६८ म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ। आवेदन खुलेको तेस्रो दिनसम्म १२ सयभन्दा बढीको दरखास्त परेको छ।
स्थानीय तह निर्वाचन लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको प्रहरी निरीक्षक युवन चौधरीले बताए। म्यादी प्रहरीका लागि आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको उमेरहद तोकिएको छ। फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपले स्वस्थ्य र साधारण लेखपढ गर्न जान्ने न्यूनतम योग्यता तोकिएको छ।
आगामी निर्वाचनलाई लक्षित गरी भर्ना भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुने प्रहरी निरीक्षक चौधरीले बताए। त्यसका लागि मासिक ३० हजार दुई सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ।
प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार दुई सय रुपैयाँ, पोसाक र अन्य खर्चका लागि ६ हजार रुपैयाँ, यातायात खर्चबापत एक हजार रुपैयाँ र बिमा सुविधासमेतको व्यवस्था गरिएको छ। प्रहरी निरीक्षक चौधरीका अनुसार १५ देखि २२ गतेसम्म छनोट प्रक्रिया हुनेछ।
बेरोजगारीका कारण आवेदन दिने बढ्दै
म्यादी प्रहरीका लागि जुम्लामा हालसम्म ५३ वर्ष उमेरसम्मका पुरुष र ३५ वर्षसम्मका महिलाले दरखास्त दिएका प्रहरी निरीक्षक चौधरीले बताए। उनले भने, ‘११ गतेसम्म दरखास्त दिने मिति भएकाले झन्डै दुई हजारको हाराहारीमा दरखास्त पर्न सक्ने अनुमान गरिएको छ।’
कोरोना महामारीलगायतका विविध कारणले रोजगारीको अवसर नभएपछि म्यादी प्रहरीमा दरखास्त दिनेहरू धेरै रहेको देखिएको छ। दरखास्त दिएकी चन्दननाथ नगरपालिका– ८ की दुर्गा थापाले भनिन्, ‘घरखर्च चलाउनका लागि म्यादी प्रहरीमा दरखास्त दिएको हो।’ त्यस्तै, म्यादी प्रहरीमा दरखास्त दिएकी सरस्वती दवाडीले पनि उस्तै दुःखेसो सुनाइन्।