नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्तासम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोग गलत भएको भन्दै युक्रेनमाथि रुसी आक्रमणको विरोध गरेको छ । नेपालले बिहीबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघीय बडापत्रका आधारमा रुसले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ । पूर्वी युक्रेनको डोनेटस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रुसी कदम राष्ट्रसंघीय बडापत्रको विपरीत रहेको पनि नेपालको भनाइ छ ।
परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कुनै पनि परिस्थितिमा सार्वभौमसत्तासम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ ।’ नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको पनि परराष्ट्रले उल्लेख गरेको छ ।
‘नेपाल सबै पक्षलाई तनाब नबढाउन र अधिकतम संयम अपनाउन आग्रह गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरू पवित्र छन् र सबै सदस्यराष्ट्रहरूले यसलाई पूर्ण रूपमा सम्मान गर्नुपर्छ भन्ने धारणा नेपाल सरकारको छ ।’ नेपालले युक्रेनको डोनेटस्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानविपरीत रहेको बताएको छ ।