एकीकृत समाजवादीको विश्लेषण–एमसिसी फेल भए पनि गठबन्धन सुरक्षित

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

एमसिसी संसदमा पेस गर्न दिएर पार्टी पक्षमा रहेको गलत सन्देश गएको नेता खनालको गुनासो

यथास्थितिमा एमसिसी अनुमोदन गर्न नसकिने निर्णय गरेको एकीकृत समाजवादीले सदनमा प्रस्तुत प्रस्ताव फेल हुने अवस्थामा पनि सत्तागठबन्धन सुरक्षित रहने विश्लेषण गरेको छ । एमसिसी पास–फेल जे भए पनि गठबन्धनलाई निरन्तरता दिन सकिने निष्कर्ष निकाल्दै उसले यथास्थितिमा प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ । 

बेदुराम भुसाल, महासचिव

मतदान शब्द किन प्रयोग गर्ने ? मतदान प्रक्रियामा जाने भयो भने न निर्णय गर्ने हो । प्रक्रिया कसरी जान्छ भन्ने अझै टुंगिएको छैन । त्यसैले तत्काल संसदमा प्रस्तुत हुँदा एमसिसीको विरोध गरेर विपक्षमा बोल्ने निर्णय गरिएको हो ।

एमसिसी आइतबार सदनमा प्रस्ताव भएपछि पार्टीभित्र उत्पन्न विवाद सुल्झाउन सोमबार बसेको सचिवालय बैठकले पक्ष कि विपक्षमा मत दिनेबारे भने स्पष्ट खुलाएको छैन । एकीकृत समाजवादीभित्र ‘नो भोट’को विकल्पमा पनि छलफल भइरहेको छ । गठबन्धनभित्र अझै साझा धारणा प्रस्ट भइनसकेको मतदानका विषयमा प्रस्ट हुन हतारो गर्नुपर्ने स्थिति नरहेको पार्टीको विश्लेषण छ । ‘८ फागुनमा प्रतिनिधिसभामा पेस एमसिसी प्रस्तावको विपक्षमा रहने’ सचिवालय बैठकको निर्णयबारे जानकारी दिन जारी विज्ञप्तिमा छ । 

महासचिव बेदुराम भुसालले एमसिसी मतदान प्रक्रियामा जान्छ कि जाँदैन भन्ने विषय नै टुंगो नलागिसकेकाले अहिलेका लागि सदनमा प्रस्तावको विपक्षमा बोल्ने मात्र निर्णय गरिएको प्रस्ट्याए । ‘मतदान शब्द किन प्रयोग गर्ने ? मतदान प्रक्रियामा जाने भयो भने न निर्णय गर्ने हो । प्रक्रिया कसरी जान्छ भन्ने अझै टुंगिएको छैन । त्यसैले तत्काल संसद्मा प्रस्तुत हुँदा एमसिसीको विरोध गरेर विपक्षमा बोल्ने निर्णय गरिएको हो,’ भुसालले भने ।

एमसिसी पास वा फेल हुने कुराले गठबन्धनमा कुनै असर नपर्ने दाबी गर्दै उनले फेल भएकै अवस्थामा पनि सरकार नढल्ने पार्टीको निष्कर्ष रहेको सुनाए । ‘प्रस्ताव पास वा फेल हुँदा सरकार ढल्ने या नढल्ने भन्ने हुँदैन । खासमा सरकारको नीति तथा कार्यक्रम र बजेट निर्णयार्थ प्रस्तुत हुँदाचाहिँ गठबन्धनमा रहेको दलले पक्षमा उभिनुपर्छ र मतदान पनि गर्नुपर्छ । तर, अरू प्रस्तावमा त गठबन्धनको कुनै पनि दलले फरक मत राख्न सक्छ, अन्त पनि यो अभ्यास भएकै छ,’ भुसालले भने, ‘त्यसैले एमसिसी पास नहुँदा अहिलेको गठबन्धन रहँदैन भन्ने बुझाइ गलत छ, यसले कुनै असर पार्दैन । यद्यपि, त्यही विषयमा कांग्रेसले निहुँ खोजे बेग्लै विषय हो । त्यतिवेला मात्र गठबन्धन भत्किन पनि सक्छ ।’ 

बैठकमा सम्मानित नेता झलनाथ खनालसहित केही नेताले भने स्थायी कमिटीको निर्णयविपरीत संसद्मा टेबुल गर्न दिएर पार्टी पक्षमा उभिएको गलत सन्देश गएको भन्दै आपत्ति प्रकट गरेका थिए । उनीहरूले पार्टीले प्रस्टसँग विपक्षमा मतदान गर्ने निर्णय गरेर जानुपर्ने धारणा पनि राखेका थिए । बैठकले एमसिसीको विरोध गर्दै सडकमा उत्रिएकामाथि गरिएको ज्यादतीपूर्ण दमनको भत्र्सना गर्ने र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको समुचित प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ । 

कांग्रेस प्रवक्ता महत भन्छन्–एमसिसीको निर्णयमा गठबन्धनको परीक्षण हुन्छ

डा. प्रकाशशरण महत, कांग्रेस प्रवक्ता

गठबन्धनका दलहरूले एमसिसी टेबुल गर्न जसरी सहयोग गर्नुभयो, त्यसैगरी निर्णयमा सहयोग गर्नुहुनेछ भन्ने लागेको छ । तर, उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ र सहयोग गर्नुहुन्छ भन्ने १२ फागुनमा थाहा हुन्छ । उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ त्यस आधारमा हामी गठबन्धनबारे दृष्टिकोण बनाउनेछौँ । अहिले नै अनुमान गर्न सकिँदैन । 

एमसिसीविरुद्ध सर्वोच्चमा रिट पेस
एमसिसीविरुद्ध सर्वोच्चमा रिट परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार पेस गरेको रिट दर्ता भने भइसकेको छैन । रिटमा एमसिसी पारित गर्ने प्रक्रिया संसद्मा चल्न नदिन प्रतिषेधको आदेश माग गरिएको छ । त्यस्तै, एमसिसीले संवैधानिक सर्वोच्चता र न्यायालयको क्षेत्राधिकारसमेतमा हस्तक्षेप गरेको हुँदा यसलाई मान्यता दिन र कार्यान्वयन गर्न नमिल्ने परमादेशको आदेश पनि रिटमा माग गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थ, परराष्ट्र, कानुन मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ । 

सुझावित समाचार