बेलारुसको राजधानीमा रुस र युक्रेनबीच सम्बन्ध सुधारका लागि भइरहेका वार्ताले युक्रेन तनाव घटाउने संकेत गरिरहेको समयमा अब लन्डन र वासिङ्टनले युद्धउन्माद रोक्नुपर्छ
युक्रेनलाई लिएर युद्धउन्माद दिनानुदिन बढ्दो छ । अहिले हेर्दा नाटकका पात्रहरूको भूमिका उल्टिएको भान हुन्छ । डिसेम्बरमा युक्रेनी विदेशमन्त्री ओलेक्सी रेज्निकोभले सन् २००८ मा नेटोले साथ नदिएका कारण रुसले जर्जियामाथि अतिक्रमण गरेको दाबी गरेका थिए । डिसेम्बरमा अमेरिका र बेलायतले पनि युद्ध नचर्कियोस् भनेर युक्रेनमा सैन्यदस्ता नपठाउने भएका थिए ।
अघिल्लो साता रेज्निकोभ सीमाक्षेत्रमा रुसी सैन्य अभ्यास एक वर्षअगाडिको भन्दा बढी खतरापूर्ण नरहेको र तुरन्तै युद्ध नहुने भनी युक्रेनी सांसदलाई आश्वस्त पारिरहेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तापछिको युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले पत्रकार सम्मेलनमा स्पष्ट भाषामा अमेरिका र बेलायतलाई अतिक्रमणको भाष्य नफैलाउन आग्रह गरेका छन् । जेलेन्स्कीका अनुसार यस्तो भाष्यले आतंकको माहोल सिर्जना गर्ने र व्यापारका लागि पनि प्रतिकूल हुने बताएका छन् । अमेरिकाले फरबरीमा रुसले युक्रेनमाथि अतिक्रमण गर्ने दाबी गरेको छ भन्ने प्रश्नमा उनले आफू सरकारप्रमुख भएको र युक्रेनबारे आफू बाइडेनभन्दा बढी जानकार रहेको बताएका थिए । उनले रुसी सैन्य अभ्यासलाई नियमित अभ्यास किन नभन्ने भनेर रुसी अभ्यास युक्रेनसँग सम्बन्धित रहेकामा शंका गरेका थिए । के लन्डन र वासिंगटनले जेलेन्स्कीको भनाइलाई कुनै महत्व दिए त ? उनीहरूले वास्तै गरेनन् ।
गत आइतबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पूर्वी युरोपमा रुसी खतरासँग सामना गर्न ‘थल, जल र वायु’ सेना पठाउने वाचा गरेका थिए । त्यसैगरी बाइडेनले युरोपमा तैनाथ गराउन हजारौँ सेनाका दस्ता तयार गरेर राखेका छन् । युक्रेन युद्धलाई जति महत्व दिँदैन, त्यति नै अमेरिका र बेलायत युद्ध गर्न उद्यत् देखिन्छन् । के यसको अर्थ हामी अँध्यारोमा हावासँग मुक्काबाजी भइरहेको अवस्थाका साक्षी त बनिरहेका छैनौँ ?
यता अमेरिका रुसको डर देखाएर लामो समयदेखि बन्ने भनिएको नोर्ड स्ट्रिम २ ग्यास पाइपलाइन अवरुद्ध पार्न चाहन्छ । अमेरिकाले यो ग्यास पाइपलाइन बिछ्याइए युरोप रुसी ग्यासमाथि निर्भर हुने जोखिममा पर्ने बताउँदै आएको छ । वास्तवमा पाइपलाइन अस्वीकार हुँदा युरोपले अन्यत्रबाट ग्यास खरिद गर्नुपर्नेछ र अमेरिका आफ्नो ‘सेल’ ग्यास निर्यात गर्न खोजिरहेको छ । युक्रेन पनि नोर्ड स्ट्रिम २ रोक्न चाहन्छ किनभने यो पाइपलाइन बिछ्याइँदा रुसले युक्रेनी भूमिमा बिछ्याएको अर्को पाइपलाइनबाट बर्सेनि आइरहेको करिब तीन अर्ब डलर भाडा उसले गुमाउनेछ । त्यसकारण युक्रेनका राष्ट्रपतिले युद्धको विरोध गरे पनि नोर्ड स्ट्रिम २ रोक लगाउने पक्षमा देखिन्छन् । यस्तो परिस्थितिमा युक्रेनको स्थिति आफ्नो काबुबाहिर छ भन्ने देखिन्छ । पाइपलाइनलाई तुहाउने र शक्तिशाली हतियारमा पहुँच बनाउने इच्छाले युरोपलाई मात्र नभई युक्रेनले आफैँलाई प्रलयकारी युद्धमा झोस्ने खतरा देखिँदै छ । यस सन्दर्भमा रुसले र युक्रेनले दुवैले युद्ध नचाहेको अवस्थामा डराउनुपर्ने कारण के ? यस्तो अवस्थामा शीतयुद्धमा आणविक युद्धको अवस्थालाई टारेको बुद्धिमानी पहलकदमीको खाँचो छ, तर बेलायतका सन्दर्भमा यहाँको युद्धपिपासु संसद् प्रलयकारी युद्धको जोखिम उठाउन उद्यत् देखिन्छ ।
यसबीच युक्रेनमा जोखिम गुणात्मक रूपमा बढिरहेको छ, अर्थात् युद्ध भइहाले रुसी सीमाक्षेत्रको युक्रेनको डनबास क्षेत्रमा लडाइँ मच्चिँदैन, किनभने त्यहाँ पहिल्यैदेखि संघर्ष जारी छ, अर्थात् सो क्षेत्रका रुस समर्थित विद्रोहीले पहिल्यैदेखि संघर्ष गरिरहेका छन् र यी विद्रोही रुसी सेनाका अंग होइनन् । स्मरण रहोस्, डनबास क्षेत्रमा युक्रेनी राज्यले नवनाजी दक्षिणपन्थीका माध्यमबाट चरम युद्ध–अपराध र अत्याचार गरेको छ र यसबारे एमनेस्टी इन्टरनेसनलले सन् २०१४ मै युक्रेनी सरकारलाई चेतावनी दिएको थियो ।
युक्रेनको डनबासमा युद्ध लड्न बेलायतका भाडाका सिपाही (डेली मेलको अन्तर्वार्तामा पूर्वसेनाले बताएका थिए) र युक्रेनभित्रकै नवनाजी दक्षिणपन्थीको कुख्यात एजोभ बटालियन तयार छन् । स्मरण रहोस्, एजोभ बटालियनका प्रमुख फासीवादी एन्द्री बिलेत्स्कीले खुलमखुल्ला ‘श्वेत नश्ल’ले ‘कमसल यहुदी नश्ल’विरुद्ध धर्मयुद्ध युद्ध लड्ने घोषणा गरेका थिए । यी फासीवादीले सन् २०१४ को ‘कु’पछि सरकारी वैधानिकता पाएका हुन् । बेलायतबाट भाडाका सिपाही बन्न तयार पूर्वसेना नवनाजी बटालियानमै गइरहेका छन् भन्ने पुष्टि भएको छैन र यससम्बन्धी हामीले डेली मेलसँग जवाफ खोजेका थियौँ, तर कुनै जवाफ आएको छैन ।
क्रेनी कम्युनिस्ट पार्टीका नेता पेत्रो साइमोनेन्को सन् २०१४ को ‘कु’पछि विदेशी भाडाका सिपाही ‘स्वयंसेवी सेना’ बनेर युक्रेनी सेनामा भर्ती हुने वैधानिक छुट दिइएको बताउँछन् । यस क्रममा विश्वभरिका नवनाजी र फासीवादीहरू स्वयंसेवी सेना बनेर युक्रेनमा जम्मा भइरहेको साइमोनेन्को थप्छन् । र, यी स्वयंसेवी सेना अमेरिका र अन्य नेटो सदस्य राष्ट्रका रहेका छन् ।
युक्रेनको सैन्यकरण गरिएको डनबास सीमाक्षेत्र व्यावसायिक सेना, नवनाजी लडाकु, ‘युद्ध पर्यटक’ र नेटोबाट आएका ‘सल्लाहकार’ले भरिएको छ । यो घातक परिस्थितिलाई विस्फोटक बनाउन खासै समस्या हुनेछैन र केही तत्वले युद्ध निम्त्याउने प्रयास पनि गरिरहेका छन् । यो संकटलाई निमिट्यान्न पार्ने एक मात्र उपाय निशस्त्रीकरण हो । बेलायत र अमेरिकाले युक्रेनमा सेना तैनाथ गर्ने घोषणा फिर्ता लिनुपर्छ र तथाकथित हतियार सुसज्जित ‘स्वयंसेवी’ पठाउने काम तुरुन्तै रोकिनुपर्छ । बेलारुसको राजधानीमा रुस र युक्रेनबीच सम्बन्ध सुधारका लागि भइरहेका वार्ताले युक्रेन तनाव घटाउनपट्टि लागेको स्पष्ट देखिन्छ । अब लन्डन र वासिंगटनले हात झिक्ने वेला भयो । मर्निङ स्टारबाट