कसरी जोगिने साइबर अपराधबाट ?

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

अभिभावक सचेत हुने हो भने बालबालिकालाई साइबर अपराध गर्ने या त्यसको सिकार हुने दुवै अवस्थाबाट जोगाउन सकिन्छ


कोरोनाले मानिसलाई घरघरमा थुनेको समयमा अधिकांशको समय कटाउने माध्यम इन्टरनेट बनेको छ । देशभरका शैक्षिक संस्था बन्द छन् । कलिला बालबालिका बन्द कोठामा सीमित छन् । भर्चुअल कक्षाका कारण पनि बालबालिकाको इन्टरनेटसितको निकटता बढेको छ । स्मार्ट मोबाइल, कम्प्युटर या ल्यापटप उनीहरूका साथी बनेका छन् । जसले गर्दा अधिकांश स्कुले तथा कलेजका विद्यार्थीले सामाजिक सञ्जालमा लामो समय बिताउने गरेका छन् । फेसबुक, भाइबर, इमो, युट्युब, ह्वाट्सअप, ट्विटर, इन्स्टाग्राम, टिकटकजस्ता सञ्जाल उनीहरूको रमाउने थलो बनेका छन् । 

आजकल बालबालिका सामाजिक सञ्जालमा जति सक्रिय हुँदै छन्, उनीहरू उत्ति नै असुरक्षित पनि हुँदै छन् । पछिल्लो समय लकडाउनको अवधिमा सामाजिक सञ्जाल अपराध गर्नेहरूको नयाँ हतियार बनेको छ । कलिला बालबालिकाले सामाजिक सञ्जाललाई उपयुक्त ढंगले प्रयोग गर्नै जानेका हुँदैनन् । त्यसैले पनि यसमा आमाबुबाले निगरानी एवं हस्तक्षेप गर्नु अति जरुरी छ ।

अधिकांश साइबर अपराधका घटना बुझ्दा प्रेम र यौनसम्बन्ध जोडिएको देखिन्छ । अहिलेका बालबालिकाले कलिलै उमेरमा प्रेम सम्बन्ध स्थापित गरी यौनजन्य क्रियाकलाप गरेर त्यसको भिडियो तथा फोटो तयार गर्ने र सम्बन्ध बिग्रेको अवस्थामा तिनै भिडियो तथा फोटो सामाजिक सञ्जालमा सेयर गर्नेजस्ता कार्य बढ्दै गएका छन् । खासगरी सामाजिक सञ्जालबाट नग्न फोटो तथा भिडियो सेयर गर्ने र मौका पर्दा त्यसको दुरुपयोग गर्ने क्रियाकलाप बढेको हुनाले पनि अभिभावक बढी नै सचेत हुनुपर्ने देखिन्छ । बालबालिकाका यस्ता क्रियाकलापले साइबर अपराधको ग्राफ निकै बढाएको देखिन्छ । 

घटना १ : धनगढीकी एक १६ वर्षीया बालिका फेसबुकमा भण्डारी थरका अपरिचत युवकसित साथी बनिन् । उनीहरूबीच फेसबुकमै घन्टौँ कुराकानी हुन थाल्यो । कुराकानीकै क्रममा ती युवकले यौन प्रस्ताव राखे । उनले मानिनन् । फेक आइडी बनाएर युवकले युवतीको अश्लील फोटो र भिडियो अपलोड गरिदिए । उनका दाजुले ३ भदौ ०७६ मा प्रहरीमा उजुरी दिए । 

घटना २ : काठमाडौँको एक निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालनका लागि बनाइएको फेसबुक म्यासेन्जर समूहमा सोही विद्यालयकी ८ कक्षामा अध्ययनरत बालिकाको नग्न भिडियो पठाइयो । अनुसन्धानबाट ती बालिकासँग प्रत्यक्ष चिनजान नभएका, फेक फेसबुक एकाउन्टमार्फत जोडिएका ३३ वर्षीय पुरुष पक्राउ परे ।

घटना ३ : हेटौँडाकी १४ वर्षीया बालिकाको अनलाइन गेम फ्रीफायर खेल्ने क्रममा बाग्लुङका केसी थरका युवकसँग चिनजान भयो । पछि उनीहरू प्रेममा परे । युवकले ती बालिको अन्तरंग फोटो र भिडियो हात पारे । जब सम्बन्धमा समस्या आयो, युवकले बालिकाको फेसबुक ह्याक गरेर ती फोटो र भिडियोहरू अपलोड गरिदिए । जाहेरी प्रहरीमा पुग्यो ।

घटना ४ : फेसबुकमा बलात्कारी संगठन नामको समूह बनाएर केही युवाले बलात्कारलाई प्रोत्साहन गर्ने खालका पोस्ट गरेपछि प्रहरीले त्यस कार्यमा संलग्न दुई किशोरलाई पक्राउ ग¥यो ।

घटना ५ : भक्तपुरकी एक बालिकाको भिडियो बनाएर म्यासेन्जरको स्टोरीमा एक युवकले पोस्ट गरे । बालिकाले हटाउन भनिन्, तर युवकले मानेनन् । फेसबुक र ह्वाट्सअपमा कुराकानी हुने युवकले नै उनलाई त्यसो गरेका थिए । बालिकाले धेरै आग्रह गर्दा हटाउन नमानेर उल्टै धम्की दिएपछि उनी बाध्य भएर प्रहरीसम्म पुगिन् ।

यी प्रतिनिधि घटनाले सामाजिक सञ्जालमार्फत कस्ता प्रकृतिका अपराध भइरहेका छन् भनेर अनुमान गर्न सकिन्छ । नेपाल प्रहरी साइबर ब्युरोको तथ्यांक हेर्दा ७६ प्रतिशत अपराध सामाजिक सञ्जालसँग सम्बन्धित छन् । २०७७÷७८ मा तीन हजार चार सय ५१ जना फेसबुकका माध्यमबाट साइबर क्राइममा परेका थिए । जसमा १८ वर्षमुनिका ४९ बालिका र २५ बालक पीडित थिए ।

नेपालमा साइबर अपराध नियमन गर्ने विद्युतीय कारोबार ऐन २०६३ बनेको छ । ऐनको दफा ४७ मा उल्लिखित ‘विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने’ भन्ने व्यवस्थाअन्तर्गत सामाजिक सञ्जालसम्बन्धी साइबर अपराधको अनुसन्धान गर्ने गरिएको छ । जसमा कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले रोक लगाएका वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा फैलाउने, महिलालाई जिस्क्याउने, हैरान गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई समेत आपराधिक दायित्वभित्र समेटी अनुसन्धान गरिँदै आएको छ । यी कार्य गर्नेलाई हाम्रो कानुनले पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

बालबालिकाले इन्टरनेट चलाउँदा अभिभावकले निगरानी गर्ने, बालबालिकाले सामाजिक सञ्जालको प्रयोग कसरी गरिरहेका छन्, कुन–कुन साइट हेर्छन्, के गर्दै छन्, फेसबुकमा के कुरा पोस्ट गर्छन्, उनीहरूका साथी कस्ता छन् जस्ता विषयमा ध्यान दिनुपर्छ । साथै, साइबर अपराध र साइबर कानुनबारे पनि उनीहरूलाई सचेत गराउनुपर्छ । सम्भव भएसम्म बालबालिकालाई सामाजिक सञ्जालबाट टाढै राख्नु राम्रो हुन्छ । अभिभावक सचेत हुने हो भने बालबालिकालाई साइबर अपराध गर्ने या त्यसको सिकार हुने दुवै अवस्थाबाट जोगाउन सकिन्छ । साथै, बालबालिकाले पनि आफू साइबर अपराधबाट पीडित भएको अवस्थामा अभिभावकलाई भन्नुपर्छ र उहाँहरूको सहयोगमा प्रहरी कार्यालयमा गई त्यसबारे उजुरी गर्नुपर्छ । (गुप्ता कानुनका विद्यार्थी हुन्)
 

सुझावित समाचार