श्रीमती जलाएर फरार अभियुक्त सात वर्षपछि पक्राउ

बुधबार, २८ पुष, २०७८
डिजिटल संस्करण

कपिलवस्तुमा श्रीमतीलाई जलाएर मारेपछि फरार रहँदै आएका श्रीमान् पक्राउ परेका छन् । श्रीमती साबिक भिल्मी गाविस वडा नं. ९ हाल कृष्णनगर नगरपालिका– ६ श्रीनगरकी २१ वर्षीया किस्तालवती चमारलाई जलाएर मारेपछि भागेका सिद्धार्थनगर तहसिल नौगढ धन्सा ग्राम बस्ने  २३ वर्षीय मुलायम चमार पक्राउ परेका हुन् ।

उनलाई प्रहरीले विशेष सुराकीका आधारमा यशोधरा गाउँपालिकाको रंगपुर नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । २०७१ चैत १ गते ससुराली आएका वेला मुलायमले श्रीनगर गाउँको दक्षिण पश्चिम झिन्कन आरखको रहरको खेतमा हत्या गरी श्रीमतीको हात खुट्टा काटेर जलाएका थिए । ससुरा सुखरामले सुतेको वेला छोरीलाई खेतमा लगी बिभत्स हत्या गरी ज्वाइँ भागेको बताए ।

२ दिनपछि मात्रै छोरीको काटिएको खुट्टा कुकुरले लगिरहेको अवस्थामा फेला पारेकाे उनले बताए । विवाह भएको दुई वर्षपछि किस्लावतीको हत्या भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा अभियुक्तको परस्त्रीसँगको सम्बन्धका कारण घटना भएको प्रहरी उपरीक्षक कार्कीले बताए । पक्राउ परेका अभियुक्तबाट प्रहरीले नम्बर प्लेट नभएको निलो मोटरसाइकल, उत्तर प्रदेश प्रान्तीय रक्षक दल महानिर्देशनालयको सिकन्दर लेखिएको परिचयपत्र मोबाइल थान –२ बरामद गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको कार्कीले बताए ।
 

See More On

सुझावित समाचार