कांग्रेस सभापतिलाई एसपी पाण्डेले घरमै पुगेर दिए ज्यान मार्ने धम्की

मंगलबार, २० पुष, २०७८
डिजिटल संस्करण

कांग्रेस सिराहाका सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई एसपी हिराबहादुर पाण्डेले मध्यरात घरमै पुगेर गोली हान्ने धम्की दिएका छन् । सभापति यादवले नै जिल्ला प्रहरी कार्यालयको प्रमुखबाट आफूलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गराएको भन्दै गोली हान्ने धम्की दिएका हुन् । 

सरुवाको खबर पाएपछि आक्रोशित भएका एसपी पाण्डे सोमबार मध्यरात करिब साढे १ बजेतिर जिल्ला प्रहरीकै भ्यान लिएर धनगढीमाई नगरपालिका– ९ जिरोमाइलस्थित सभापति यादवको घर पुगेका थिए । सभापति यादवका अनुसार त्यसअघि पाण्डेले साढे १० बजेतिर फोनबाटै धम्क्याएका थिए । 

‘खाना खाएर सुत्ने तर्खर गर्दैगर्दा साढे १० बजेतिर पाण्डेले फोन गरेर मेरो सरुवा गराइदिनुभएछ, म आउँदै छु, अब देखाइदिन्छु भन्दै धम्याएका थिए,’ यादवले नयाँ पत्रिकासँग भने, ‘सरुवा भएको आक्रोश होला भन्ठानेर म सुत्न गएँ । करिब साढे एक बजेतिर ठुल्ठूलो स्वरमा कराइरहेको सुनेर म ब्युँझिएँ । घरको आँगनमा आएर एसपी पाण्डेले गालीगलौज गरिरहेका थिए । वेलावेलामा पेस्तोल निकालेर बाहिर निस्किन धम्क्याउँदै थिए । मैले तत्कालै गृहमन्त्री र सिराहाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर त्यो सुनाएँ ।’

गृहमन्त्री र सिडिओलाई खबर गरेपछि करिब दुई बजेतिर जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले एसपी पाण्डेलाई लिएर गएको उनले जानकारी दिए । पाण्डेको सरुवामा आफ्नो कुनै भूमिका नरहेको पनि उनले बताए । 

गत ११ कात्तिकमा किसन धामीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई छुटाउन यादवले दबाब दिएको र आफूले नमानेपछि गृहमन्त्रीसँग साँठगाँठ गरी सरुवा गराएको एसपी पाण्डेले आफूनिकटहरूलाई बताएका थिए । धामीको हत्या आरोपमा प्रहरीले सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । यादवले भने पक्राउ परेकाहरूलाई छुटाउन कुनै दबाब नदिएको दाबी गरेका छन् । मध्यरातको घटनाबारे बुझ्न खोज्दा एसपी पाण्डे सम्पर्कमा आउन सकेनन् । उनी सोमबार नै रवाना लिएर हिँडिसकेकाले घटनाबारे आफूले केही बताउन नसक्ने डिएसपी सुवास बुढाथोकीले बताए । पाण्डे गत ८ असारमा सिराहाको प्रहरी प्रमुखमा सरुवा भएका थिए । 

सिराहाका प्रजिअ लालबाबु कवारीले घटनाबारे गृह मन्त्रालयबाट छानबिन थालिएको जानकारी दिए । ‘घटनाको विषयमा बुझ्न सोमबार प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारसहितको टोली आएको थियो । टोलीले जिल्ला सभापति यादवसँग भेटघाट गरेर फर्किएको छ,’ प्रजिअ कवारीले भने, ‘छानबिन चलिरहेको छ ।’

See More On

सुझावित समाचार