झुन्डिएको अवस्थामा भेटिएका संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादवको कोठा ८ घण्टापछि प्रहरीले खोलेको छ। मृतकका बुवा शिवप्रसाद यादव मध्यान्न १२ बजे नै भैरहवा आए पनि मृतककी श्रीमती रूपमकुमारी यादव भैरहवा आइनपुगेकोले कोठा नखोलिएको प्रहरीले जनाएको छ।
भैरहवास्थित शान्तिनगरमा रहेको कार्यालयभित्र क्वाटरमा उनी शुक्रबार बिहान करिब साढे दश बजेतिर मृत फेला परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी रिश्रीराम तिवारीले बताए। शुक्रबार बिहान १० बजेपछि बाहिर ननिस्किएका उनी आफ्नै सरकारीनिवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्। बिहान १० बजेसम्म बडीगार्डसँग सम्पर्कमा रहेका उनी ११ बजे कोठामा मृत भेटिएका थिए। उनको कोठा साँझ ६ बजेपछि परिवारका सदस्यहरूको उपस्थितिमा खोलिएको थियो।
उनको मृत्युको यकिन कारण भने खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ। सानो प्वालबाट मात्रै उनी झुन्डिएको देखिएको थियो। प्रहरीले अपरान्ह्र आफन्त बोलाएर मात्रै ढोका खोलेका थिए। मृतक यादवकी श्रीमती साँझ मात्र भैरहवा आइपुगेपछि ढोका खोलिएको थियो। मृतककी श्रीमती र छोरा नआई ढोका नखोल्ने र अनुसन्धान प्रक्रिया पनि सुरु नगर्ने भएपछि प्रहरी दिनभर बाहिर कुरेर बसेको थियो।
प्रहरीको उच्च तहको घटना भएकाले गृह मन्त्रालय या प्रहरी हेडक्वाटरबाट पनि स्वीकृति लिनुपर्ने भएकाले ढिलाइ भएको प्रहरीको भनाइ छ। टेक्निकल टिमबाट अनुसन्धान सुरु गरिएको रुपन्देही प्रहरीले जनाएको छ। यादव २०४९ सालमा सेवा प्रवेश गरेका ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश पाउन लागेका थिए। नवलपरासी रामग्राम नगरपालिका– ५ निवासी उनका एक छोरा र श्रीमती छन्।