राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

बुधबार, ७ पुष, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै १२ पुसदेखि लागू हुने गरी सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लाको निर्वाचन अधिकृतमा नियुक्ति गरेको हो । राष्ट्रिय सभाका १९ सिटका लागि १२ माघमा निर्वाचन हुँदै छ । 

आयोगले यसअघि गत १ पुसमा विज्ञप्ति जारी गर्दै प्रदेश १ का लागि मोरङ, प्रदेश २ का लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि पोखरा, लुम्बिनी प्रदेशका लागि दाङ, कर्णाली प्रदेशका लागि सुर्खेत, सुदूरपश्चिम प्रदेशका लागि धनगढी मतदान केन्द्र तोकेको थियो । तिनै मतदान केन्द्रका लागि अहिले  निर्वाचन अधिकृतहरू तोकिएका हुन् ।

प्रदेश १ का लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्साल, प्रदेश २ का लागि धनुषा जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेल, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराई, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापा, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्य, सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूलाई तोकिएको छ ।

सुझावित समाचार