मनाङमा गत असार १ गते आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति गर्याे। बाढीबाट बेलिब्रिज, झोलुङेपुल र काठेपुलहरूमा क्षति पुगेको छ। बेंसीसहर–चामे सडकखण्डअन्तर्गत चामे गाउँपालिका– १ स्थित तिमाङ खोलाको बेलिब्रिज जेठ १३ गतेको बाढीले बगायो। उक्त पुल १ वर्षअगाडि मात्र सडक विभागले निर्माण गरेको थियो।
जेठ १३ र असार १ पछिको बाढीले मनाङमा एउटा बेलिब्रिज, १० वटा झोलुंगेपुल र चारवटा काठेपुल बगाएको थियो। मनाङको दानक्यु खोला, तिमाङ खोला, तिमाङ छहरा र स्यार्कु खोलामा अहिले काठको अस्थायी पुल निर्माण गरिएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले मनाङमा यस वर्ष ठूलो वर्षा भएकाले भौतिक संरचनामा ठूलो क्षति पुगेको बताए। पुल बाढीले वगाएपछि चामे गाउँपालिका, सुरक्षाकर्मी र स्थानीयले निर्माण गरेको अस्थायी काठेपुलबाट यात्रु र सवारीसाधन जोखिम मोलेर यात्रा गरिरहेका छन्।
मनाङमा हाइफल लेभलका कारण पुलमा धेरै क्षति पुगेको डुम्रे–बेंसीसहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए। उनले भने, ‘तिमाङ खोलामा पुल निर्माणका लागि डिजाइन र ठेक्का प्रक्रियाकै चरणमा रहेको छ।’ बाढीले पुल बगाएपछि उक्त ठाउँको माटो परीक्षण गरी डिपिआर तयार पारी पक्कीपुल निर्माण गरिने पन्तको भनाइ छ। पन्तका अनुसार मनाङका विभिन्न खोलामा स्थानीय तहको समन्वयमा आठवटा अस्थायी काठेपुल निर्माण गरिएको छ ।
काठेपुलकै भरमा मनाङ
पक्की पुलको अभावमा मनाङको चामे गाउँपालिकादेखि सडकको अन्तिम बिन्दु मनाङको खाङ्सारसम्म पुग्दा ठाउँठाउँमा काठका पुल भेटिन्छन्। खोलाहरूमा काठेपुल निर्माण गर्नुपर्ने मनाङवासीको बाध्यता भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए। उनी भन्छन्, ‘यो हाम्रा लागि बाध्यता हो। पक्कीपुल एक–दुई ठाउँमा छ, भएको पुल पनि असार १ को बाढीले बगायो। काठको पुल प्रयोग गर्नुको विकल्प छैन।’

नेपाली सेनाले सडक निर्माणका वेला निर्माण गरेको काठेपुलबाटै अहिले मनाङमा यातायातका साधनहरू गुडिरहेका छन्। सडक विभागले सेनासँग सडक लिएको नाै वर्ष बितिसक्दा पनि पक्कीपुल निर्माण गर्न नसकेको मनाङको चामेस्थित लोकप्रिय माविका शिक्षक सुरेश थापाको गुनासो छ। उनी भन्छन्, ‘डराइडराई कहिलेसम्म काठेपुलकै भरमा यात्रा गर्ने हो !’ मनाङ सडकमा दैनिक ३० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने भए पनि जोखिम मोलेर यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउँदै आइरहेको सवारीचालक सोम मगराती बताउँछन्। बेंसीसहर–चामे ६५ किलोमिटर, चामे–माथिल्लो मनाङ ३५ किलोमिटर र माथिल्लो मनाङ–खाङ्सार करिब ७ किलोमिटर सडकखण्ड गरी करिब एक सय सात किलोमिटर यात्रा निकै जोखिमपूर्ण रहेको उक्त सडकखण्डमा यात्रा गर्ने यात्रु राजु थापाले बताए।