करिब एक अर्ब ३० करोड जनसंख्या भएको मुलुकमा सीमित ‘युनिकर्न’ हुनुको कुनै अर्थ छैन, त्यसैले पराग अग्रवालहरूको उपलब्धिमा उत्सव मनाउनु बेतुके काम हो
२९ नोभेम्बरमा ट्विटरका संस्थापक एवं कार्यकारी निर्देशक ज्याक डोर्सीले पदबाट राजीनामा दिएर ३७ वर्षीय पराग अग्रवाललाई कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिएपछि भारतीय मिडियामा हल्ला–खल्ला मच्चियो । ‘अमेरिकाले भारतीय प्रतिभाबाट धेरै फाइदा पाइरहेको छ !’ लगत्तै २१औँ शताब्दीका प्रविधि धनाढ्य सेलिब्रेटी एलोन मस्कले थपे । यी टिप्पणीले मुम्बईदेखि क्यालिफोर्नियासम्म उत्सव र आतिसबाजी निम्त्यायो । औपनिवेशिकताको ७५ वर्षपछि पनि जतिसुकै अपमानजनक किन नहोस्, पश्चिमको अनुमोदनबाट भारतीयको गर्वले छाती फुल्छ । सन् १९९७ को भारत भ्रमणमा बिल गेट्सले ‘दक्षिण भारतीयहरू ग्रहमा दोस्रो–सबैभन्दा चतुर मानिस हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए । मस्कले बिल गेट्सकै भनाइलाई थोरै मिठो ढंगले प्रस्तुत गरेका मात्र हुन् ।
सन् २००० मा लेखिएको बहुचर्चित पुस्तक ‘द कर्मा अफ ब्राउन फोक’का लेखक विजयप्रसाद लेख्छन्– ‘जसले अपेक्षा गरिरहेका थिए, तिनका लागि उनले (गेट्सले) चिनियाँलाई सबैभन्दा बढी चतुर बताएका थिए । त्यसपछि पनि अपेक्षा गर्नेहरूले के बुझ्नुपर्छ भने गेट्सजस्ता गोराहरू चतुरका सूचीमा पर्दैनन्, किनभने गोराहरू अद्वितीय छन् र चतुर व्यक्ति छान्ने जिम्मेवारी पनि उनीहरूकै हो । गेट्सले दिनेजस्ता अभिव्यक्तिमा सामन्यतया एसियाली र विशेषतः दक्षिण एसियाली प्राविधिक रूपमा चतुर मजदुर हुन् भन्ने सन्देश दिन्छ ।’ ‘यी अभिव्यक्तिले एसियालीको संख्या प्राविधिक क्षेत्रमा बढी हुनु प्राकृतिक हो भन्ने देखाउँछ, जहाँ यी एसियालीको समकालीन सांस्कृतिक इतिहासलाई बेवास्ता गरिएको हुन्छ । र, उपमहाद्वीपमा ‘प्राकृतिक उत्कृष्ट’हरूका बाबजुद पनि गरिबी हट्न सकेको छैन’ प्रसाद थप्छन् ।
वास्तवमा भारतीय आप्रवासीहरू अमेरिकी र धेरै हदसम्म बेलायतमा आधारित कर्पोरेट पदानुक्रमहरूमा उच्चस्तरको पदमा निर्विवाद रूपमा रहेका छन् । ‘नाइन रिजन्स द इन्डियन्स सिइओ किप्स कमिङ टु द रेस्क्यु’ नामक सिएनएनको २०२०को विश्लेषणमा वरिष्ठ पत्रकार, लेखक एवं मिडिया कार्यकारी एसमित्र कलिताले प्राविधिक क्षेत्रमा भारतीयहरूको संख्या बढेको भनेर दिइने कारणबारे सटिक टिप्पणी गरेकी छिन् । उनी भन्छिन्– ‘सामूहिक सफलतालाई भारतीय अद्वितीयतावादका रूपमा हेरिने जोखिम बढिरहेको छ, जसमाथि म विश्वास गर्दिनँ ।
बरु बाह्य कारकहरूले भारतीय कार्यकारी निर्देशकको उदयमा योगदान पुर्याएको छ । अर्थात्, यी योगदानका पृष्ठभूमिमा कर्पोरेट अमेरिका, विश्वव्यापीकृत कार्यस्थल, प्राविधिक विकास र सफल हुन सक्ने नेताहरू रहेका छन्,’ कलिता लेख्छिन्, ‘प्रायः सबै नयाँ भारतीय सिइओहरू मात्रात्मक (क्वान्टिटेटिभ) इन्जिनियरिङ पृष्ठभूमिबाट आएका छन्, जसले उनीहरूलाई असाधारण तथ्यांकीय बुद्धिमत्ता अर्थात् ‘डेटा इन्टेलिजेन्स’ दिन्छ ।
ट्विटर घोषणापछि मसँग भएको संवादमा कलिताले ‘स्थायित्व चाहने वा विश्वव्यापी प्रभुत्वलाई स्वीकार गर्ने जोकोहीले पनि कम्पनीको नेतृत्व गर्न सक्दैन र गर्दैनन् । भारतीयलाई नियम कसरी पालना गर्ने भनेर थाहा छ र परिणाम प्राप्त गर्नका लागि कहिले मार्ग परिवर्तन गर्ने वा अवरोध गर्ने भन्ने अनौठो क्षमता पनि छ’ भनेकी छिन् । कलिताले भनिन्– ‘याद राख्नुहोस् कि अमेरिका आएका भारतीयहरू सबैभन्दा मेधावी र चतुर छन् र हालैका आँकडा हेर्ने हो भने सबैभन्दा धनी पनि छन् । प्रमाणका लागि एक अन्तर्राष्ट्रिय विद्यार्थीको ट्युसन बिल (शिक्षा शुल्क) मात्रै हेर्नुहोस् । त्यसकारण हामीले विशेषाधिकार र शक्तिको लेखाजोखा नगरी अपेक्षाकृत रूपमा सानो तर महŒवपूर्ण संख्याको सफलतामा श्रेष्ठताको भावना प्रदर्शन गर्नुअगाडि सतर्क हुन आवश्यक छ ।’
पराग अग्रवाल, सत्या नडेला, सुन्दर पिचाई, अरविन्द कृष्णहरू ‘युनिकर्न’ हुन् । युनिकर्न शब्दको प्रयोग भेन्चर क्यापिटालिस्ट (नाफा आर्जन गर्न सकिने स्टार्ट अप वा उद्योगमा लगानी गर्ने पुँजीपति) एलिन लीले गरेकी थिइन् । उनका अनुसार १० करोड डलर सम्पत्ति भएका स्टार्ट अप कम्पनी वा कम्पनीका मालिकलाई युनिकर्न शब्दले जनाइन्छ । करिब एक अर्ब ३० करोड जनसंख्या भएको मुलुकका लागि यी गिनेचुनेका युनिकर्न निकै कम हुन् र यस्ता उपलब्धिमा उत्सव मनाउनु बेतुके काम हो ।
अग्रवाल कार्यकारी निर्देशक हुँदा भारतमा सत्ताको आशीर्वादबाट माथि उक्लेका कुख्यात आसेपासे–पुँजीपति (क्रोनी–क्यापिटालिस्ट) गौतम अडानीले ‘भारतको प्रतिभाको सम्पन्नता र अमेरिकाको मेरिटोक्रेसी (सक्षमतन्त्र) प्रणालीका लागि एक अर्को उत्कृष्ट क्षण’ भन्दै विरोधाभाषी ट्विट लेख्नसमेत भ्याए । यस सन्दर्भमा निर्भीक पत्रकार, स्तम्भकार एवं एम्नेस्टी इन्टरनेसनल भारतका पूर्व–निर्देशक आकार पटेलका अनुसार भारत प्रतिभाका रूपमा सम्पन्न छैन । बरु अवस्था विपरीत देखिन्छ अर्थात् ‘कक्षा आठका ५० प्रतिशत विद्यार्थीले परीक्षामा कुनै डिभिजन ल्याउन सक्दैनन्, कक्षा पाँचका ५० प्रतिशत विद्यार्थी कक्षा २ को किताब पढ्न सक्दैनन् । भारतका प्रत्येक तीन विद्यार्थीमा एक विद्यार्थी चरम रूपमा कुपोषित छन् । अग्रवाल र अन्य कार्यकारी निर्देशकहरू कुलीन भारतका सानो हिस्सा मात्र हुन्,’ पटेल भन्छन् ।
पटेलका अनुसार भारतका अति चयनात्मक इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)मा पढ्नेहरू निकै कमले स्नातकोत्तर इन्जिनियरिङ गर्छन् । त्यस अर्थमा आइआइटीले चाल्नीको काम गर्छ । यसरी क्षीण हुँदै गएर परागलगायत गिनेचुनेकाहरू मात्र निर्देशक बन्न पुग्छन् । निःसन्देह यी निर्देशकहरू र अडानी पनि विशेषाधिकारयुक्त पृष्ठभूमिबाट आउँछन्, जहाँ उनीहरू स्कुल, पहुँच र अवसरहरूबारे अनभिज्ञ हुन्छन् । यस अर्थमा प्राविधिक कार्यकारी निर्देशकहरूले धेरै सानो कुलीन वर्गको प्रतिनिधित्व गर्छन् र भारतीय उपमहाद्वीपको वास्तविकता भने यथार्थमा धेरै भिन्न छ । ढाका ट्रिब्युनबाट