गरिबी निवारण कोष अब मन्त्रालयको महाशाखामा सीमित

मंगलबार, १४ मंसिर, २०७८
डिजिटल संस्करण

मुलुकको गरिबी अन्त्य गर्न भन्दै दाताको सहायतामा विगत १८ वर्षदेखि सञ्चालित गरिबी निवारण कोष अब मन्त्रालयको एउटा महाशाखाका रूपमा सीमित हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोषलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत ल्याउने निर्णय गरेको छ । कोषले अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेर गतिविधि गरिरहेको थियो । कार्यविभाजन नियमावलीको अनुसूची हेरफेर गरेर कोषलाई मन्त्रालयअन्तर्गत सञ्चालन गर्ने निर्णय भएको भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले बताइन् । 

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत नै कोष खारेज गर्ने घोषणा गरिसकेको छ । गत १५ जेठमा चालू आव ०७८/७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले कोष खारेज गर्ने घोषणा गरेका थिए । कोषमा आबद्ध करिब ३२ हजार सामुदायिक समूहलाई सहकारीमा रूपान्तरण गर्ने र समूहहरूले परिचालन गरेको १९ अर्ब सहकारीको बिउ पुँजीको रूपमा उपयोग गरी गरिबी निवारण कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ । वैदेशिक सहायतामा आधारित कार्यक्रममा आउने दाताको सहयोग रोकिएपछि कोषले काम अघि बढाउन सकेको थिएन । 

अब मन्त्रालयको गरिबी निवारण महाशाखामार्फत कोषका काम अघि बढाइनेछ । मन्त्रालयमा अहिले पनि कर्मचारी, सहकारी तथा गरिबी निवारण महाशाखा छ । तर, कार्यबोझलाई हेरेर तत्कालका लागि अस्थायी दरबन्दी सिर्जना गरेर सहसचिवमातहत कोषका काम अघि बढाउने तयारी मन्त्रालयको छ । 

 सम्पत्ति हस्तान्तरणको तयारीमा कोष 
बजेटमार्फत गत जेठमै घोषणा भएपछि कोषले मातहतको सम्पत्ति हस्तान्तरण गर्ने तयारी गरिसकेको छ । कोषका कार्यकारी निर्देशक नारायणप्रसाद अर्यालले सम्पत्ति हस्तान्तरणको तयारी भइसकेको बताए । ‘मन्त्रालयले बुझ्ने अवस्थामा कोष सम्पत्ति हस्तान्तरणका लागि तयार छ,’ उनले भने । गत असोजभित्रै सम्पत्ति हस्तान्तरण गर्नेसम्बन्धी मन्त्रालय र कोषबीच सहमति भएको थियो । कोषमा भएका राजनीतिक नियुक्तिलगायतका विषयमा भने आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने मन्त्री श्रेष्ठले बताइन् । 

२५ कात्तिक ०७५ मा मन्त्रिपरिषद्ले गरिबी निवारण कोषको पुनर्संरचनाका लागि कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको थियो । यसलाई कोष खारेजीकै अर्थमा लिइएको थियो । ०७५ कै पुसदेखि त कोषलाई सहायता प्रदान गरिरहेका विश्व बैंकलगायतको सम्झौता मिति नै सकिएपछि सहायता रोकियो । त्यसयता विनाकाम कोषले तीन वर्षको अवधि गुजारेको छ । ०७६ देखि त सरकारले कोषलाई सञ्चालन खर्च मात्र दिएको छ ।

 के हुन्छ कोषको अर्बौँ सम्पत्ति ? 
कोषले हालसम्म करिब २७ अर्ब २८ करोड खर्च गरिसकेको छ । ०६० मा अध्यादेश जारी गरी ०६१ सालदेखि कोषले काम सुरु गरेको थियो । १४ वर्षको अवधिमा कोषले समुदायस्तरमा ठूलो लगानी गरेको छ । कोषले सञ्चालन गरेको घुम्ती कोषमा १५ अर्ब लगानी गरिएको थियो । सामुदायिक समूहले लगानी गरेर सिर्जना गरेको चार अर्बसहित कोषमा १९ अर्ब रुपैयाँ छ । 

कोषअन्तर्गत ३२ हजार दुई सय ७६ सामुदायिक समूह छन् । एउटा सामुदायिक समूहमा एउटा घुम्ती कोष हुने व्यवस्था छ । जनसंख्या, गरिबीको अवस्था आदिका आधारमा घुम्ती कोषको रकम फरक–फरक छ । अहिलेको प्रमुख चुनौती यही घुम्ती कोषको व्यवस्थापन बनेको छ । गरिबी निवारण कार्यक्रमले गठन गरेको सामुदायिक समूहहरूलाई सहकारीमा बदल्ने मोडलमा व्यवस्थापनको तयारी सरकारले यसअघि नै अघि बढाइसकेको छ । अब ती सामुदायिक समूह सहकारी बन्छन् । ती समूहले संकलन गरेको रकम सहकारीमा बस्छ र सहकारीकै मोडलमा अघि बढ्छ । ६४ जिल्लाका पाँच सय ५१ स्थानीय तहमा कोषले कार्यक्रम सञ्चालन गरेको थियो । 

 दाताको सहायतामा सञ्चालित अपारदर्शी कार्यक्रम 
गरिबी निवारणका लागि सहयोग पुर्याउने भन्दै विश्व बैंकको सहायतामा ०६१ मा कार्यक्रम सुरु भएको थियो । नेपालको गरिबी निवारणमा आएको यो सबैभन्दा ठूलो कार्यक्रम थियो । तर, सुरुदेखि नै यो कार्यक्रम विवादित बन्यो ।कोषका पदाधिकारीको विलासितादेखि अर्बौँ बजेट बेहिसाब खर्च गरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ फागुन ०७१ मा कोषका तत्कालीन कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा नै दायर गरेको थियो । आर्थिक वर्ष ०६६/६७ देखि ०६८/६९ सम्मको अवधिमा दुई करोड ७८ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

गरिबको उत्थान गर्न आएको सहायताको १० अर्ब त तलब, सुविधा, भत्ता, गाडी खरिदजस्ता प्रशासनिक खर्चमै सकियो । कार्यालयका लागि किनिएका गाडी, मोटरसाइकल, घरायसी सामानसमेत कोषका पदाधिकारी र कर्मचारीले घर पुर्याएको सतर्कता केन्द्रको छानबिनले देखाएको थियो । केन्द्रले ०७५ मा कोषको छानबिन गरेको थियो । 

समुदायमा लगानी भएको भनिएको १९ अर्बको पनि जवाफदेही कोही नभेटिएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले नै थप छानबिनको सिफारिस गरेको थियो । त्यसमा १९ अर्बमा भ्रष्टाचार भएको भन्दै थप छानबिन गरी दोषीमाथि कारबाही गर्न केन्द्रले सिफारिस गरेको थियो । पूर्वाधार निर्माणतर्फको करिब पाँच अर्बमा पनि अनियमितता भएको केन्द्रको ठहर थियो । कोषमार्फत विभिन्न जिल्लामा गरेर पाँच हजार ६ सय ६१ साना पूर्वाधार निर्माण गरिएका थिए । यसबाहेक परामर्श, तालिम, गोष्ठी, अनुगमन, भ्रमणलगायतमा पनि व्यापक अनियमितता भएको केन्द्रले औँल्याएको थियो ।

सुझावित समाचार