हुम्लाका लागि छुट्याइएको ३० हजार क्विन्टल चामल सुर्खेत, नेपालगन्ज र धनगढीका गोदाममा थन्कियो, हुम्ली भोकै

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

तीन ठाउँका गोदाममा कति मौज्दात छ चामल ?

नेपालगन्जमा २०,९६९, धनगढीमा १६,८२९ र सुर्खेतमा १०,८६२ क्विन्टल चामल मौज्दात

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेतस्थित गोदाममा थन्किएको चामल । सुर्खेतसहित नेपालगन्ज र धनगढीस्थित गोदाममा हुम्लाका लागि छुट्याइएको १०–१० हजार क्विन्टल चामल थन्किएको छ । तस्बिर : रमेश रावल/नयाँ पत्रिका

खाद्यान्न नभएर उत्तरी हुम्लामा भोकमरी हुने स्थिति छ । स्थानीय बासिन्दा चामलका लागि जिल्ला र सिंहदरबारको सरकार गुहार्दै सिमकोट हुँदै काठमाडौंसम्म आइपुगेका छन् । तर, हुम्लाका लागि छुट्याइएको ३० हजार क्विन्टल चामल महिनौँदेखि सुर्खेत, नेपालगन्ज र धनगढीस्थित खाद्यका गोदाममा थन्किएको छ । भोकले छटपटिइरहेका नागरिकलाई चामल उपलब्ध गराउन भने राज्यले चासो देखाएको छैन । 

गणेश आचार्य, सिडिओ, हुम्ला

हेलिकोप्टरबाट ढुवानी गरे १० मिनेटमै भोकमरी भएको क्षेत्रमा खाद्यान्न पुर्‍याउन सकिन्छ भनेर मन्त्रालय र खाद्यलाई लिखित पत्र नै पठाएको छु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष ०७८/८९ मा हुम्लाका लागि तीन लाख १५ हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । सुर्खेत, नेपालगन्ज र धनगढीका गोदामबाट १०–१० हजार क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पठाउन कोटा तोकेको छ । तर, त्यो कागजमा मात्रै सीमित छ । नेपालगन्जको गोदाममा २० हजार नौ सय ६९, धनगढीमा १६ हजार आठ सय २९ र सुर्खेतमा १० हजार आठ सय ६२ क्विन्टल चामल महिनौँदेखि थन्किएको छ । पठाउन पहल गरेको छैन । 

सरकारले हुम्लाको नाम्खा गाउँपालिकामा गत वर्षदेखि चामल पठाइएको छैन । आलु र उवा मात्रै फल्ने नाम्खाको लिमी क्षेत्रमा भोकमरी हुने अवस्था भएपछि स्थानीय बासिन्दा राज्यसँग चामल माग्न पाँच हजार मिटर उचाइको न्यालुलेकमा तीन फिट जमेको हिउँमा पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट आएका थिए । तिल, जाङ र हल्जीका बासिन्दाको बैठकले ‘सरकारसँग पीडा सुनाउन’ उनीहरूलाई पठाएको हो । उनीहरूमध्ये नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङ र हुम्लाका सांसद छक्कबहादुर लामा सिंहदरबारलाई गुहार्न सोमबार साँझ काठमाडौं आइपुगेका छन् । 

अहिले हुम्लामा करिब सय क्विन्टल चामल मात्रै मौज्दात रहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘त्यति चामल पनि सदरमुकाममा मात्रै छ, अन्यत्रको डिपो खाली छ,’ उनले भने । 

खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले स्थलमार्गबाट लिमी क्षेत्रमा चामल पठाउन अहिले सम्भव नभएको बताइन् । हिमपात हुने गरेका कारण यो जाडोभर स्थलमार्गबाट ढुवानी गर्न नसकिने उनको भनाइ छ । हेलिकोप्टरबाट ढुवानी गर्न खाद्य कम्पनीको विनियमावलीमा व्यवस्था छैन । ‘दुर्गम क्षेत्रमा सडकमार्ग र हवाईजहाजबाट मात्रै चामल ढुवानी गर्नुपर्ने व्यवस्था छ । हेलिकोप्टरबाट चामल ढुवानी गर्ने व्यवस्था छैन,’ सुवेदीले भनिन्, ‘तर, संकटका वेला हेलिकोप्टरबाट चामल ढुवानी गर्नेबारे विशेष निर्णय पनि हुन सक्छ ।’

नाम्खा गाउँपालिकामा चीनको केरुङ–ताक्लाकोट हुँदै चामल ढुवानी हुने गरेको थियो । हिल्सा नाकाबाट चामल भित्रिने गरेको थियो । तर, कोरोना महामारीका वेला चीनले बन्द गरेका नाका अझै खोलेको छैन, जसका कारण नाम्खामा खाद्यान्नको थप संकट चुलिएको छ । नेपालगन्ज र सुर्खेतबाट हवाईजहाजबाट चामल ढुवानी गर्न गत भदौमा टेन्डर भएको थियो । तर, टेन्डर प्रक्रियामा चलखेल भएको भन्दै अदालतमा मुद्दा परेपछि ढुवानी प्रक्रिया अवरुद्ध छ ।

स्थलमार्गबाट मंगलबारदेखि नै सिमकोटमा चामल ढुवानी गरिने सूचना अधिकारी सुवेदीले बताइन् । तर, सिमकोट चामल पुर्‍याउन पनि डेढदेखि दुई साता लाग्ने उनले बताइन् । ‘एक ट्रकमा दुई सय ७० देखि तीन सय क्विन्टलसम्म चामल ढुवानी हुन्छ । सुर्खेत, नेपालगन्ज र धनगढीबाट सदरमुकाम सिमकोटसम्म चामल पुर्‍र्‍याउन १० देखि १५ दिन लाग्छ,’ उनले भनिन्, ‘त्यहाँबाट विभिन्न डिपोमा पठाइनेछ ।’

शर्मिला न्यौपाने सुवेदी, सूचना अधिकारी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी

सिमकोटका लागि स्थलमार्गबाट मंगलबार नै चामल पठाउँछौँ, तर त्यहाँ पुग्न पनि १० देखि १५ दिन लाग्छ । धेरै समस्या देखिएको लिमी क्षेत्रमा हिमपातका कारण तत्काल स्थलमार्गबाट ढुवानी गर्न सम्भव छैन

सोमबारको नयाँ पत्रिकामा चीनसँग जोडिएको हुम्लाको उत्तरी क्षेत्र लिमीमा भोकमरीको अवस्था रहेको समाचार प्रकाशित भएको थियो । त्यसलगत्तै खाद्यले स्थलमार्गबाट तत्काल सिमकोट खाद्यान्न पठाउने निर्णय गरेको हो । ‘कार्यतालिकाअनुसार समयमै हवाईजहाजबाट ढुवानी हुन नसकेपछि स्थलमार्गबाट सिमकोटमा चामल तुरुन्तै पठाउने भएका हौँ,’ सुवेदीले भनिन् ।

खाद्य कम्पनीले यसअघि गत भदौमा बाढीपहिरोपीडित दार्चुलाको व्यास नगरपालिका १, २, ३ र ४ नम्बर वडाका बासिन्दाका लागि ११ दिनभित्र टेन्डर प्रक्रिया पूरा गरेर ६ सय क्विन्टल चामल हेलिकोप्टरबाट ढुवानी गरेको थियो । हुम्लाका सिडिओ आचार्यले पनि हेलिकोप्टरबाट चामल ढुवानी गरेर तत्काल समस्या समाधान गर्न मन्त्रालयलाई सुझाएको बताए ।

चीनले अनुदानमा दिएको ६ महिनालाई पुग्ने खाद्यान्न सीमापारि छ, तर ढुवानीमा चासो छैन
करिब एक महिनाअघि चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय नाम्खा गाउँपालिकाले गरेको थियो । तर, हिल्सा नाका पारिपट्टि आइपुगेको मैदा र चामल नेपाल ल्याउन सम्बन्धित निकायले चासो देखाएको छैन ।

‘वर्षापछि निरन्तर हिमपात हुँदा सडकमार्गबाट ढुवानी हुन सकेको छैन । त्यसपछि प्रदेश र केन्द्र सरकारलाई सो खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गर्न पत्राचार गरे पनि सुनुवाइ भएको छैन । हेलिकोप्टर पाए १० मिनेटमै भोकमरी भएको क्षेत्रमा खाद्यान्न पुग्छ,’ हुम्लाका सिडिओ आचार्यले भने । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सोमबार हुम्लाका प्रजिअ आचार्यलाई फोन गरेर वस्तुस्थितिबारे जानकारीसमेत लिएका थिए । त्यसक्रममा हेलिकोप्टरबाट हिल्सामा रहेको खाद्यान्न ढुवानी गर्न सके तत्कालको समस्या समाधान हुनेबारे सुझाएको आचार्यले बताए । 

देशभरका गोदाममा डेढ लाख क्विन्टल खाद्यान्न, तर जनता भोकै
देशभरका गोदाममा एक लाख ६७ हजार आठ सय ८३ क्विन्टल खाद्यान्न मौज्दात छ । तर, दुर्गमका नागरिक खाद्यान्न अभावका कारण भोकमरी व्यहोर्न बाध्य छन् । खाद्य कम्पनीका अनुसार चामल एक लाख १६ हजार चार सय ५० क्विन्टल, धान ४३ हजार एक सय ५७ क्विन्टल र गहुँ आठ हजार दुई सय ७५ क्विन्टल मौज्दात छ । 

यसमध्ये पनि सुर्खेत, धनगढी र नेपालगन्जका गोदाममा उच्च मौज्दात छ । तर, समयमै ढुवानी हुन सकेको छैन । धनगढीबाट हुम्ला बझाङ, बाजुरा, दार्चुला र डडेल्धुरामा खाद्यान्न ढुवानी हुने गरेको छ । त्यस्तै, सुर्खेतबाट दैलेख, मुगु र डोल्पा तथा नेपालगन्जबाट जाजरकोट, कालिकोट र हुम्लामा खाद्यान्न ढुवानी हुने गरेको छ ।

खाद्य कम्पनीकी सूचना अधिकारी सुवेदीले स्थलमार्गबाट नियमित रूपमा खाद्यान्न ढुवानी भइरहेको दाबी गरिन् । ‘टेन्डर प्रक्रियाबाट ढुवानीकर्ता छनोट भइसकेको छ । र, नियमित प्रक्रियाबाट दुर्गममा ढुवानी जारी छ,’ उनले भनिन्, ‘हुम्लाको उत्तरी भेगमा भने काठमाडौंबाट केरुङ नाका हुँदै चामल ढुवानी हुँदै आएको थियो । तर, चीनले केरुङको बाटो प्रयोग गर्न नदिँदा चामल ढुवानी गर्न सकिएको छैन ।’

कम्पनीका ठूला गोदाममध्ये विराटनगरमा नौ हजार ६७ क्विन्टल, जनकपुरमा एक हजार ८६ क्विन्टल, काठमाडौंमा सात हजार आठ सय ८९ क्विन्टल, पोखरामा नौ सय ९१ क्विन्टल, भैरहवामा तीन हजार चार क्विन्टल खाद्यान्न मौज्दात छ । त्यसैगरी, बिर्तामोडमा सात हजार सात सय ३४ क्विन्टल, लहानमा आठ हजार तीन सय ४७ क्विन्टल, तुल्सीपुरमा तीन हजार दुई सय ४२ क्विन्टल, बर्दियामा आठ हजार सात सय नौ क्विन्टल र वीरगन्जमा चार हजार दुई क्विन्टल चामल मौज्दात छ । 

चीनले दिएको ६ महिनालाई पुग्ने खाद्यान्न हिल्सा नाकामै, ढुवानी भएन
करिब एक महिनाअघि चीनले नाम्खा गाउँपालिकाका लागि चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो । त्यसमध्ये १८ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गाउँपालिकाले गरेको थियो । तर, हिल्सा नाका पारिपट्टि आइपुगेको मैदा र चामल नेपाल ल्याउन सम्बन्धित निकायले चासो देखाएको छैन । ‘वर्षापछि निरन्तर हिमपात हुँदा सडकमार्गबाट ढुवानी हुन सकेको छैन । त्यसपछि प्रदेश र केन्द्र सरकारलाई सो खाद्यान्न हेलिकोप्टरबाट ढुवानी गर्न पत्राचार गरे पनि सुनुवाइ भएको छैन । हेलिकोप्टर पाए १० मिनेटमै भोकमरी भएको क्षेत्रमा खाद्यान्न पुग्छ,’ हुम्लाका सिडिओ गणेश आचार्यले भने । 

काठमाडौं ओर्लेका नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङले भने–भोकमरीको कथा बोकेर  आएको छु, सिंहदरबारले सुन्ला कि !

सोमबार साँझ काठमाडौं आइपुगेका नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङ (बायाँ) र हुम्लाका सांसद छक्कबहादुर लामा त्रिभुवन विमानस्थलमा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नाम्खा गाउँपालिकाको लिमी क्षेत्रमा करिब ११ सय घरपरिवार छन् । उवा र आलुबाहेक उत्पादन केही हुँदैन । चरन अभाव हुँदा पशुपालन व्यवसाय पनि बन्द भएको वर्षौँ भयो । जीवन गुजारा गर्न स्थानीय बासिन्दा चिनियाँ क्षेत्र ताक्लाकोटमा ज्याला–मजदुरी गर्न जान्थे । तर, कोरोनालगत्तै चीनले नाका बन्द गरेपछि त्यो पनि रोकियो । चीनकै बाटो भएर हिल्सा नाका हुँदै सरकारले पठाउने खाद्यान्न पनि आउन बन्द भयो । गत वर्षको असोजमा केही चामल आएको थियो, त्यसयता केही गएन । 

चीनले नाका बन्द गरेपछि गत वर्ष पनि गाउँमा अनिकाल सुरु भयो । केटाकेटी भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि म समस्या लिएर सदरमुकाम सिमकोट आएँ । सिडिओसाबलाई गाउँको पीडा सुनाएँ । संघीय सांसद छक्कबहादुर लामालाई भेटेँ । सबैतिर हारगुहारपछि गत वर्षको असोजमा केही क्विन्टल चामल र केही बोरा नुन गाउँ पुग्यो । तर, त्यसले कति पो धान्थ्यो र ? डेढ–दुई महिनाअघि गाउँलेले जोगाएर राखेको रासन सकियो । केही दिन त उवाको सातु खाएर पनि गुजारा गर्‍यौँ, त्यो पनि सकिएपछि फेरि अनिकाल सुरु भयो । 

समस्या समाधानका लागि तिब्बतस्थित पोलङ काउन्ट्रीमा गुहार मागेँ। उनीहरू सहयोग दिन तयार भए । त्यही बेला हिउँ पर्‍यो । लिमि आउने बाटो हिउँले पुरियो । उनीहरूले दिएको मैदा र चामल पनि नाकामै अड्कियो, गाउँ ल्याउन सक्ने अवस्था भएन् । सरकारले पनि चासो देखाएन । 

केही दिनअघि केही उपाय लाग्छ कि भनेर फेरि सदरमुकाम आएँ । सिडिओसापलाई भेटे । तर, सदरमुकाममा पनि चामल छैन्, थोरै छ रे । त्यो पनि हिउँले बाटो पुरिएका कारण लग्न सकिने अवस्था छैन् । हिमपातकै कारण म पनि गाउँ जान नसक्ने भएँ । उता गाउँमा  भोकमरीले मर्नुपर्ने अवस्था बढ्दै गयो । त्यसपछि फोनबाट स्थानीयलाई सिमकोट नै बोलाएँ । ज्यानको माया मारेर हिउँको पहाड छिचोल्दै २५/३० जना साथीहरू अस्ती शनिबार सिमिकोट आई पुगे । सांसद् छक्कबहादुर पनि गाउँमै रहेछन् । उहाँसहित फेरि सिडिओलाई भेट्यौं । तर, सदरमुकामको प्रयासबाट मात्रै केही उपाय नचल्ने देखियो । सिंहदरबारमा बस्ने हाम्रा नेताहरूलाई नै पीडा सुनाउनुपर्ने भयो । 

सबै जना काठमाडौं आउन पैसा पनि नहुने भयो, त्यसैले म आएँ । मैले सिंहदरवार चिनेको छैन । एक्लै आएर मेरो गाउँको समस्या कहाँ राख्नु ? त्यसैले सांसद छक्कबहादुरलाई पनि भने । उहाँसँगै जहाजमा १३ हजार रूपैयाँ खर्च गरेर आज(सोमबार) साँझ काठमाडौं आइपुगेको छु । पाँच दिन लगाएर गाउँबाट आएका  स्थानीय सिमकोटमै छन् । गाउँको भोकमरीको कथा बोकेर आएको छु । हामीले नै चुनेर पठाएका प्रतिनीधि बस्ने सिंहदरबारले पक्कै सुन्ला कि ! 

सिमिकोटमै चामल छैन, नुन पनि सकिदै छ : छक्कबहादुर लामा, सांसद हुम्ला
लिमिको समस्याबारे म जानकार छु । रोजीरोटीका लागि स्थानीय तिब्बततर्फका बजारमा निर्भर थिए । तर, लक डाउनपछि त्यो बन्द भयो । गाउँमा अनिकाल नै लाग्ने अवस्था आयो । गतबर्ष हामीले केही खाद्यन्न पठायौं । यसबर्ष पनि पठाउने तयारी चल्दै थियो । त्यही बेला हिउँ पर्न सुरु भयो । बाटो पुरै बन्द भयो । लिमिमा फेरी अनिकाल सुरु भयो । पाँच दिन लगाएर स्थानीय बासिन्दा चामल लिन सिमकोट आएका छन् ।

तर, सिमकोटमै चामल छैन । सिमिकोटमा अहिले चामल मात्र होइन, मैदा समेत छैन । नुन सकिने अवस्थामा छ । समस्या बिकराल छ । समाधान गर्न सरकार समक्ष गुहार माग्न म आफै नाम्खा–६ का वडा अध्यक्षलाई लिएर आएको छु । सरकारसँग समस्या राख्नेछु । हेरौ, सरकारले के गर्छ ? विकट हुम्लाको पीडा सुन्छ कि सुन्दैन ?

सुझावित समाचार