जनकपुरधाम–अयोध्या रेल आजदेखि नियमित

शनिबार, १२ मंसिर, २०८३
प्रिन्ट संस्करण
  • ६०४ किलोमिटर यात्रा १९ घण्टामा, सीता जन्मभूमि जनकपुर र राम जन्मभूमि अयोध्या जोड्ने सरयू–कमला एक्सप्रेस सातामा एकपटक चल्ने, जनकपुरबाट शनिबार र अयोध्याबाट सोमबार छुट्ने

जनकपुरधाम- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा गत सोमबार उद्घाटन गरिएको जनकपुरधाम–अयोध्या रेल आज (शनिबार)देखि नियमित हुने भएको छ । यसअघि गत मंगलबार जनकपुरधाम आएको रेल सोही दिन अयोध्या फर्किएको थियो ।

नेपाल र भारतबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सञ्जालमार्फत जोड्ने उद्देश्यले सुरु हुन लागेको यो सेवाले करिब ६०४ किलोमिटर दूरी १९ घण्टामा पार गर्नेछ । स्लिपरको भाडा ५८४ रुपैयाँ र एसीको अधिकतम दुई हजार १७६ रुपैयाँ भाडादर कायम भएको नेपाल रेलवे कम्पनीले जनाएको छ ।

प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस रेल हरेक साता शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा भारतीय समयअनुसार अयोध्या क्यान्ट स्टेसन पुग्नेछ । त्यस्तै, रेल प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्याबाट अयोध्याका लागि छुट्नेछ । उक्त रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा नेपाली समयअनुसार जनकपुरधाम आइपुग्नेछ ।

बिहीबारदेखि सुरु भएको टिकट बुकिङ शनिबार बिहानसम्म कायम रहने पराजुलीले बताए । तर, कति यात्रुले टिकट काटे भन्ने विवरण उनले खुलाउन चाहेनन् ।

जनकपुरबाट जयनगर हुँदै अयोध्या, ११ स्टेसनमा रोकिने
करिब ६०४ किलोमिटर लामो रेलमार्गले नेपालसहित भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहरलाई जोड्नेछ । जनकपुरधामबाट छुटेको रेल जयनगर कस्टम र्याड हुँदै भारत प्रवेश गर्नेछ । त्यसपछि मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, पनियहवा, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ । यात्राका क्रममा यी स्टेसनमा रेल रोकिनेछ ।

नेपाल रेलवे कम्पनीले सार्वजनिक गरेको समयतालिकाअनुसार जनकपुरधामबाट छुटेको रेल शनिबार दिउँसो २:२५ बजे जयनगर पुग्नेछ । त्यहाँ एक घण्टा रोकेर ३:२५ बजे प्रस्थान गर्नेछ । भारतीय समयअनुसार जयनगरमा २:१० बजे पुगेर ३:१० बजे छुट्नेछ ।

सोमबार अयोध्याबाट फर्किने, मंगलबार जनकपुरधाम आइपुग्ने
अयोध्याबाट जनकपुरधाम फर्किने रेल प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट छुट्नेछ । साँझ ६:२० बजे अयोध्याधाम पुग्ने रेल मनकापुर, बस्ती र गोरखपुर हुँदै पूर्वतर्फ लाग्नेछ । समयतालिकाअनुसार रेल सोमबार राति १०:१३ बजे गोरखपुर पुग्नेछ । त्यसपछि पनियहवा, नरकटियागन्ज, रक्सौल, सीतामढी, सिसो र मधुबनी हुँदै जयनगर पुग्नेछ । मंगलबार बिहान भारतीय समयअनुसार ८:३० बजे जयनगर आइपुग्ने रेल त्यहाँ दुई घण्टा रोकिनेछ । बिहान १०:३० बजे जयनगरबाट छुटेर नेपाली समयअनुसार १०:४५ बजे प्रस्थान गर्ने रेल दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्नेछ ।

स्लिपरको ५८४ रुपैयाँ, एसीको दुई हजारभन्दा बढी भाडा, अधिकतम ६० दिनअघि अग्रिम टिकट बुकिङ गर्न मिल्ने
भारतीय रेलवेले सरयू–कमला एक्सप्रेसलाई पूर्णतः आरक्षित रेल सेवाका रूपमा सञ्चालन गर्ने जनाएको छ । रेलमा कन्फर्म टिकट भएका यात्रुले मात्र यात्रा गर्न पाउनेछन् । आरएसी (क्यान्सिल भएको टिकटका सट्टा) सुविधा नहुने भएकाले प्रतीक्षा सूचीमा रहेका यात्रुले समेत यात्रा गर्न पाउनेछैनन् ।

रेलमा चार श्रेणीका टिकट उपलब्ध हुनेछन् । भारतीय रेलवेले निर्धारण गरेको भाडादरअनुसार स्लिपर श्रेणीको टिकट ३६५ भारु (नेपाली ५८४), वातानुकूलित तृतीय इकोनोमी श्रेणीको ८८५ भारु (नेपाली १,३१६), वातानुकूलित तृतीय श्रेणीको ९६५ भारु (नेपाली १,५४४), वातानुकूलित द्वितीय श्रेणीको १,३६० भारु (नेपाली २,१७६) तोकिएको छ । नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक पराजुलीका अनुसार नेपाली यात्रुले भाडा नेपाली रुपैयाँमा तिर्नुपर्नेछ ।

टिकट भारतीय रेलवे आरक्षण प्रणालीअन्तर्गत बुकिङ गर्न सकिनेछ । यात्रुले भारतीय रेलवेका आइआरसिटिसी वेबसाइट तथा मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ एजेन्ट र नेपालमा उपलब्ध अधिकृत सेवा एजेन्टमार्फत टिकट काट्न सक्नेछन् । भारततर्फका यात्रुले रेलवे आरक्षण काउन्टरबाट समेत टिकट लिन सक्नेछन् ।

यात्रुले अधिकतम ६० दिनअघिसम्म अग्रिम टिकट बुकिङ गर्न पाउनेछन् । तत्काल, प्रिमियम तत्काल, ज्येष्ठ नागरिक, महिला तथा आकस्मिक कोटाको सुविधा भने उपलब्ध हुनेछैन । कुल आरक्षित सिटमध्ये ७० प्रतिशत एन्ड टु एन्ड र ३० प्रतिशत रोडसाइड कोटाका लागि छुट्याइएको छ ।

रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ । टिकट काट्दा यात्रुको नाम, उमेर, लिंग, राष्ट्रियता र परिचयपत्रसम्बन्धी विवरण अनिवार्य हुनेछ । यात्राका क्रममा दुवै देशका नागरिकले वैध परिचयपत्र साथमा राख्नुपर्ने भारतीय रेलवेले जनाएको छ ।

१७ डिब्बा, चार श्रेणीका सिट
सरयू–कमला एक्सप्रेसमा कुल १७ वटा डिब्बा रहनेछन् । त्यसमध्ये शयनयान श्रेणीका सात, वातानुकूलित तृतीय इकोनोमी श्रेणीका तीन, वातानुकूलित तृतीय श्रेणीका तीन र वातानुकूलित द्वितीय श्रेणीका दुईवटा डिब्बा रहनेछन् । बाँकी दुईवटा एसएलआर डिब्बा हुनेछन् ।

यात्रुले श्रेणीअनुसार तोकिएको तौलसम्म सामान नि:शुल्क लैजान पाउनेछन् । भारतीय रेलवेले तोकेको व्यवस्थाअनुसार प्रथम वातानुकूलित श्रेणीमा ७० किलो, द्वितीय वातानुकूलितमा ५० किलो तथा तृतीय वातानुकूलित र शयनयान श्रेणीमा ४०–४० किलोसम्म सामान लैजान सकिनेछ ।

नेपाली रेलवेलाई मासिक २७ लाख भारु आम्दानी
जनकपुरधाम–अयोध्या रेलसेवा सञ्चालन हुँदा घाटामा रहेको नेपाल रेलवे कम्पनीलाई आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ । सरयू–कमला एक्सप्रेसले नेपाल रेलवे कम्पनीको ट्र्याक प्रयोग गरेबापत भारतीय रेलवेले मासिक शुल्क तिर्नुपर्नेछ । प्रबन्ध सञ्चालक पराजुलीका अनुसार नेपालको रेलवे ट्र्याक प्रयोग गरेबापत भारतीय पक्षले मासिक २७ लाख भारु तिर्ने सहमति भएको छ । यसअघि जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदै आएको छ ।
 

सुझावित समाचार