कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन, चार सयभन्दा बढी बिरामी

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ताका कारण चौतर्फी त्रास सिर्जना भएको छ । सोमबारदेखि फैलिएको झाडापखलाबाट अहिलेसम्म चार सयभन्दा बढी बिरामी परेका छन् । 

लुम्बिनी प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको विशेषज्ञसहितको टोलीले अहिले महामारीस्थलको अध्ययन गरेर नमुना संकलन गरी प्रयोगशालामा पठाएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बिहीबार साँझसम्म शिवराज अस्पतालमा मात्र हाल ११० जना उपचारत छन् । जसमध्ये २० जना सामान्य, ८० मध्यम र १० जना जटिल प्रकृतिका बिरामी रहेको बताएको छ  । 

स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेका अनुसार २२८ जना डिस्चार्ज हुँदा जटिल ३२ बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको छ । प्रकोप फैलिएको पाँचाँै दिन बिहीबारसम्म बिरामीको संख्या बृद्धि भइरहेको अस्पताल प्रशासनको भनाइ छ । 

बिहीबार  साँझसम्म ४ सयभन्दा बढी बिरामी पुगेका छन् । अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूको सख्या १ सयभन्दा बढी रहेको बताइएको छ । 

कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा बेड अपुग भएपछि नजिकै रहेको श्रीराम गोरखा माविमा राखेर उपचार भइरहको शिवराज अस्पतालका डा. मुकेश चौधरीले बताएका छन् ।
 
नगरको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायतका गाउँमा झाडापखालाका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ । बिरामीलाई अस्पतालले थेग्न सक्ने अवस्था नरहेको डा. मुकेश चौधरीले बताएका छन् । 

अहिले उक्त क्षेत्रमा ७ जना डाक्टर र ५० जना बढी स्वास्थ्यकर्मी उपचारमा खटिएका छन् । 
 

सुझावित समाचार