मालिका बन्यो ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

गुल्मीमा पहिलोपटक मालिका गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको छ । नेपाल सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिमका मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरिएको हो । 

बिहीबार जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरे । उनले स्थानीय तहपछिको थुप्रै उपलब्धि नागरिकको पक्षमा भएको बताए । सिटामोल दुई घन्टा हिँड्नुपर्ने र सुत्केरी हुन डोका र स्टेचरमा बोकेर सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य स्थानीय तहले पूरा गरेको उनले बताए । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा स्थानीय तहहरूले सञ्चालन गरेका योजना र बजेट निकै महत्वपूर्ण र समाजवादउन्मुख भएको पराजुलीको भनाइ थियो ।

मालिका गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर छन् । वडा नम्बर ६ अर्जैबाट गर्भवती महिलाको घरमा हरियो झन्डा राख्ने कार्यक्रम अहिले सबै वडामा विस्तार गरिएको छ । अहिले गर्भवतीकोमा हरियो झन्डा र एक क्यारेट अन्डा कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकामा स्वास्थ्य संयोजक वसन्तराज भुसालले जानकारी दिए ।

मालिका गाउँपालिकामा आठवटा स्वास्थ्यचौकी, तीनवटा सामुदायिक स्वास्थ्य इकाइ, पाँच बेडको एउटा कोभिड अस्पताल र पाँचवटा एम्बुलेन्स छन् । पालिकामा कुल ५८ जना स्वास्थ्यकर्मी तथा ७७ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत नागरिकको सरल सहज रूपमा स्वास्थ्य सेवा र सुविधा प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । 

गत आर्थिक वर्ष ०७७/७८ मा गाउँपालिकाभित्रका सबै वडाका कुल तीन सय ३२ जना गर्भवती भएका छन् । जसमा दुई सय ४२ जना गाउँपालिकाभित्रैका बर्थिङ सेन्टरमा प्रसूति भएका छन् । गुल्मी अस्पतालमा ४२, लुम्बिनी मेडिकल कलेज पाल्पामा २५,  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १४ जना प्रसूति भएका छन् । मदाने गाउँपालिका–१ अग्लुङ स्वास्थ्य चौकी, पुर्कोट स्वास्थ्य चौकी, श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्र, जोहांग स्वास्थ्य चौकी, अम्मरपुर स्वास्थ्य चौकी, युनाइटेड मिसन अस्पताल तथा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक÷एकजना प्रसूति भएको गाउँपालिकाले जनाएको छ ।  

सुझावित समाचार