बुबाबारे ११ सेलिब्रेटीका मनका कुरा

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

आज बुबाको मुख हेर्ने दिन।  सामाजिक सञ्जाल बुबाहरूको फोटोले रंगिएको छ। परिवारमा आमा–बुबाको महत्वपूर्ण भूमिका हुन्छ। पूर्वीय संस्कृतिमा आमा र बुबाको मुख हेर्ने दिन हरेक वर्ष आउँछन्। कुसे औँसीलाई बुबाको मुख हेर्ने दिनको रूपमा लिइन्छ। शब्दले मात्रै बुबाआमाको भूमिकाको वर्णन गर्दा कमै होला। आज हामीले केही कलाकारलाई आफ्ना बुबाको बारेमा सोधेका छौँ। 

बुबाको भूमिका निकै गहिरो छ 
करिश्मा मानन्धर, अभिनेत्री 
मलाई बुबाबारे त्यति भन्न आउँदैन। किनकि उहाँको भूमिका त्यति गहिरो हुन्छ। मेरो बुबाले मेरो आमाको लागि निकै नै खुसी दिनुभएको थियो। आमाबुबाको खुसी नै सन्तानको खुसी हो। बुबाआमाको कारण म यो दुनियाँमा छु। बुबाआमालाई आज एक दिन मात्रै सम्झिएर पुग्दैन।

फोन गरेर आशीर्वाद लिएँ 
भुवन केसी, अभिनेता 
म अहिले सुटिङमा बाहिर छु। आज बिहानै भिडियो कलमा बुबाआमाको मुख हेरेँ। उहाँको आशीर्वाद लिएँ। जीवनमा बुबाआमाको भूमिका निकै नै फराकिलो हुन्छ। जसरी मैले मेरो छोरालाई संस्कार सिकाएको छु त्यसरी नै मेरो बुबाआमाले मलाई सिकाउनुभएको छ। बुबा बन्न जिम्मेवार हुनुपर्छ। बुबा परिवारको भरोसा हो। मेरो बुबाआमालाई म सधैँ खुसी देख्न चाहन्छु। 

बुबाआमालाई एक दिन मात्रै माया नगरौँ 
सरिता लामिछाने, कलाकार 
मैले कुनै समय पनि बुबाआमालाई बिर्सिएको भए पो आज सम्झनु। सँगै नभएकोले बिहानै भिडियो कल गरेँ। बुबाआमाप्रति हरेक दिन हरेक पल निरन्तर माया छ। आँखा खोल्दा बुबाआमालाई देख्छु। तर, अहिले ए कदिन मात्रै बुबाआमा भनेर मरिहत्ते गर्ने अरू दिन बुबाआमालाई हेलाँगर्ने चलन बढेको छ। यो मलाई ठीक लाग्दैन। बुबाआमा भएपछि मात्र हामी खुसी हुन्छौँ। जीवनमा जन्म दिने र कर्म दिने  बुबाआमालाई एक दिन मात्रै माया नगरौँ।

सानो छँदा बुबासँग निकै डराउँथेँ
विपिन कार्की, कलाकार 
मेरो अहिले बुबा विराटनगर हुनुहुन्छ। म कामको सिलसिलामा बाहिर छु। आज बिहानै बुबासँग फोनमा कुरा गरेँ। म सानो छँदा बुबासँग निकै डराउँथेँ। बुबाको अघि निकै ज्ञानी बन्थेँ। बुबा निकै मर्यादामा बस्नुहुन्थ्यो। त्यसैले परिवारभित्र त्यही संस्कार बस्यो। यदि सानोमा बुबासँग नडराएको भए म सायद बिग्रन्थेँ होला। अहिले पनि केही काम गर्दा बुबाआमाको मन दुख्ने काम गरेँ कि भन्ने लाग्छ। नयाँ काम गर्दा बुबाआमालाई सोध्छु। उहाँहरूको रायविना कुनै पनि काम गर्न सकिन्न झैँ लाग्छ। 

मेरो लागि बुबा छहारी हुनुहुन्छ
केकी अधिकारी, अभिनेत्री  
बुबा सबैजनाका लागि मुख्य पात्र हुनुहुन्छ। बुबाले उत्तरदायी हुन सिकाउनुभयो। जिम्मेवारी र कर्तव्य सिकाउनुभयो। बुबाकै कारण आफूलाई जिम्मेवार बनाएँ। बुबा भएर परिवारमा खुसी छ। उहाँले देखाएको बाटो मेरा लागि सफलता हो। मैले जीवनको हरपाइलामा बुबाको साथ पाएकी छु। उहाँको छहारी र छत्रछायाले आफूलाई बलियो बनाएकी छु। बुबाआमा हुनुहुन्छ र त केही गर्दा खुसीको आभास हुन्छ। 

बुबाको बानी–व्यवहारप्रति म ‘प्राउड’ गर्छु
अनमोल केसी, अभिनेता 
बुबा सुटिङका लागि बाहिर हुनुहुन्छ। मेलै बिहानै कल गरेर उहाँको आशीर्वाद लिएँ। मेरो करिअरमा बुबाको भूमिका निकै नै ठूलो छ। उहाँकै कारण म यहाँ आएँ। मेरो बुबाको बानी–व्यवहारप्रति म निकै ‘प्राउड’ गर्छु। उहाँले मलाई सानैदेखि सही बाटो देखाउनुभयो। म फिल्ममा लाग्नुको प्रेरक नै बुबा हो।  

बुबाआमासँगै बस्न मन लाग्छ
सिर्जना सुब्बा, कलाकार 
आज मात्रै बुबालाई सम्झिएर पुग्दैन। बुबाआमा भनेको पाइलापाइलामा साथ दिने भगवान् हो। म सधैँ बुबाआमासँगै हुन्छु। कहिलेकाहीँ ढाटा भए पनि मलाई बुबाआमासँगै बसेको महसुस हुन्छ। बुबाआमासँगै बसेको सम्झन्छु। उहाँहरूको मनमा ठेस लाग्ने कुनै काम गर्न सक्दिनँ। संसारमा सबैभन्दा इमानदार माया नै बुबाआमाको हो। उहाँहरूलाई सम्झन कुनै विशेष दिन चाहिँदैन। हामीलाई उहाँहरूले हुर्काउनुभयो, अब बुबाआमाको रेखदेख गर्ने कर्तव्य हाम्रो हो। 

आफूले संघर्ष गर्न थालेपछि बुबाको संघर्ष बुझेँ
नवराज पराजुली, कवि 
जब म काठमाडौं आएँ, त्यसपछि मात्रै बुबाको माया र कर्तव्य बुझेँ। बुबाबाट टाढा भएर आफ्नो जिन्दगीलाई संषर्घको बाटोमा हिडाउँदा बुबाको खुब याद आयो। आफैँले व्यवहार चलाउन परेपछि मात्रै मैले बुबाको व्यवहार र कर्तव्य बुझेँ। आफूले संघर्ष गरेपछि बुबाको दुःखको पीडा मैले बुझ्न थालेँ। अहिले बुबा झापा हुनुहुन्छ। म कवि भएको कारण नै बुबा हो। कहिले म उहाँको श्राेता–दर्शक हुन्थेँ कहिले उहाँ दर्शन श्राेता बन्नुहुन्थ्यो। म वाचन गर्थेँ बुबा सुन्नुहुन्थ्यो, बुबा वाचन गर्नुहुन्थ्यो म सुन्थेँ।

बुबा संस्कारी र जिम्मेवार भएर त हामी जिम्मेवार भयौँ
कालीप्रसाद बाँस्कोटा, गायक
म भाग्यमानी ठान्छु, प्रायः बुबाआमासँग छुट्नुपरेको छैन। हामी सधैँ सँगै हुन्छौँ। मलाई बुबाआमाको अभाव खासै भएन। किनकि म अभाव हुने गरी कतै गएर बसेको छैन। हरेक परिवारमा संस्कार बुबाबाट नै सुरु हुन्छ। बुबा जिम्मेवार भएर त हामी जिम्मेवार छौँ। बुबाको जिम्मेवारीको मापन गर्न सकिन्न। कुन परिवारले कस्तो संस्कार बोक्छ भन्ने कुरा बुबामै भर हुन्छ। 

मेरो हिरो भनेकै बुबा हुनुहुन्छ
पल शाह, अभिनेता
म जहाँ भए पनि जन्म दिने बुबाआमालाई जतिवेला नि ‘मिस’ गरिराखेको हुन्छु। संसारको महान् व्यक्ति नै बुबाआमा हो। मैले जे सिकेँ त्यो बुबाबाटै सिकेँ। त्यसो त आमाको भूमिका पनि बुबाको भन्दा धेरै छ। आजको दिन बुबा विशेष दिन भएकोले मैले बुबाको जिम्मेवारलाई निकै कदर गर्छु। उहाँको कारण म आज यो ठाउँमा आएको हुँ। मेरा लागि हिरो हिरोइन भनेको बुबाआमा नै हुनुहुन्छ। 

बुबाआमा जिन्दगीको ठूलो खुसी
रेखा शाह, गायिका 
मेरो बुबा त हुनुहुन्न। केही वर्षअघि मात्रै बित्नुभयो। उहाँ नभए पनि बुबाको याद कहिल्यै मेटिँदैन। आफू जहाँ भए पनि बुबाको बाटो पछ्याउन मन लाग्छ। बुबा भनेको हछारी हो। बुबा हुनुहुन्न, तर म उहाँको भूमिका भुल्दिनँ। उहाँले सिकाएको बाटो मैले पछ्याइरहेकी छु। बुबाआमा जिन्दगीका सबैभन्दा ठूलो खुसी हो। मेरो बुबाको कारण म जिम्मेवार हुन सिकेकी हुँ। 
प्रस्तुति : शिवहरि घिमिरे
 

सुझावित समाचार