नयाँ पत्रिका समाचार प्रभाव : छुट चामल अनियमितता गर्ने प्रमुख र सुब्बा निलम्बित

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

हुम्लाको सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामल घोटाला गर्ने कार्यालय प्रमुख र सुब्बा निलम्बित भएका छन्। निषेधाज्ञाका वेला खाद्यान्न बिक्रीमा सरकारले दिएको २० प्रतिशत सहुलियत चामल घोटाला गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख निर्मल थापा र सुब्बा भरत अधिकारी निलम्बित भएका हुन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार ९० दिनका लागि उनीहरूलाई निलम्बन गरिएको हो। ‘कार्यालयमा नयाँ कर्मचारी खटाइसकेको छ। अब प्रक्रियाबद्ध रूपमा उनीहरूको छानबिन हुन्छ,’ चन्दले नयाँ पत्रिकासँग भने, ‘जनतालाई छुटमा दिएको चामल जनताले पाउनुपर्छ।’

लकडाउनमा २० प्रतिशत सहुलियत दरको चामल अनियमितता गरेको समाचार नयाँ पत्रिकामा प्रकाशित भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आन्तरिक लेखा परीक्षण अधिकृत मदन रायमाझी र घनश्याम अर्याललाई छानबिन गर्न हुम्ला पठाएको थियो।

छानबिन समितिको जिम्मा लिएका मदन रायमाझी भने यस विषयमा बोल्न चाहेनन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका कार्यालय प्रमुख निर्मल थापा र सुब्बा भरत अधिकारी मिलेर नाै सय १७ क्विन्टल चामलमा २० प्रतिशत छुट दिएको भन्दै सर्वसाधारण जनताबाट पुरानै मूल्य असुल गरेका थिए।

दुईजनाको खल्तीमा १० लाख ६४ हजार
लकडाउनको अवधिमा २० प्रतिशत मूल्य छुट दिएको चामलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका प्रमुख निर्मल थापा र सुब्बा भरत अधिकारीको मिलेमोतोमा दुई कर्मचारीले दश लाख ६४ हजार अनियमितता गरेका थिए। उनीहरूले नाै सय १७ क्विन्टल चामल तीन हजार ५८ घरधुरीलाई २० प्रतिशत छुट दिएको भन्दै आफ्नो खल्तीमा हालेका हुन्।

३० केजीका अरुवा मोटा चामलको मूल्य एक हजार सात सय ४० पर्छ। २० प्रतिशत छुट दिँदा एक हजार तीन सय ९२ रुपैयाँ पर्न जान्छ । सर्वसाधारण जनतालाई लकडाउनको समयमा अनियमितता गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख निर्मल थापा निलम्बित भएर हुम्ला जिल्ला छोडेका छन्।

सुझावित समाचार