युरोकपका नतिजा यसपटक धेरैका लागि आश्चर्यजनक रह्यो । उपाधि दाबेदार मानिएका ठूला टोलीहरू प्रतियोगिताको अघिल्लो चरणबाटै बाहिरिए । धेरैको मनपर्ने टोली चाँडै बाहिरिएपछि उनीहरूको युरोकप पनि सकिएको छ ।
अब थोरैका लागि मात्रै युरोकप बाँकी छ जस्तो लाग्छ । केही नयाँ टोलीहरूले आश्चर्यजनक प्रदर्शन गरेका छन् । मेरा लागि भने चेक रिपब्लिकको प्रदर्शन आश्चर्यजनक लागेको छ । स्विट्जरल्यान्डको प्रदर्शन अर्काे चमत्कारिक लागेको छ ।
बेल्जियम विश्व वरीयताको शीर्ष स्थानमा रहेको टोली हो । यद्यपि, यसअघिको भन्दा उसको पनि यसपटकको प्रदर्शन राम्रो लागेको छ । त्यसैले पनि यसपटक कुनै खेलको पूर्वानुमान मुस्किल छ । राम्रो मानिएका टोलीहरू सहजै आउट भइरहेका छन् । तुलनात्मक रूपमा कमजोर मानिएका टोलीहरूले एकपछि अर्काे आश्चर्यजनक प्रदर्शन दिइरहेका छन् । यद्यपि, मेरो विचारमा यसपटक स्विट्जरल्यान्ड, बेल्जियम, इंग्ल्यान्ड र चेक रिपब्लिक सेमिफाइनलमा पुग्नेछन् ।
युरोकपमा मलाई मनपर्ने टोली इंग्ल्यान्ड हो । क्रिस्टियानो रोनाल्डो मनपर्ने खेलाडी हुन् । यसपटक पनि युरोकप पोर्चुगलले जित्छ जस्तो लागेको थियो । यद्यपि, पोर्चुगल प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । मलाई मनपर्ने टोली इंग्ल्यान्ड भने भाग्यवश अहिलेसम्म प्रतिस्पर्धामा टिकेको छ ।
उसको पनि समूहगत चरणको प्रदर्शन सोचेजस्तो भएन । त्यसका बाबजुद प्रिक्वार्टरफाइनल चरणमा जर्मनीविरुद्ध उसले जस्तो खेल खेल्यो, त्यसले केही आशा जगाएको छ । इंग्ल्यान्ड अझ अघि बढेको हेर्ने इच्छा छ । हुन त आफूले मनपरेको टोली भनेर एकोहोरो समर्थन गरेर मात्रै पनि हुन्न । उसले राम्रो पनि खेलेको हुनुपर्छ । बाँकी खेलमा इंग्ल्यान्डले जितका लागि खेलोस् ।
जारी युरोकपमा सबै टोलीहरूले तीव्र गतिमा खेलेका छन् । यसले गर्दा पनि प्रतियोगिता निक्कै रोमाञ्चक भइरहेको छ । युरोकपकै कारण यसपटकको लकडाउन पनि सहज कटेको महसुस गरेको छु । यसपटकको युरोकपको कुनै पनि खेल दिक्कलाग्दो भएको छैन । त्यसैले प्रतियोगिताका सबै खेल हेर्न सकेको छु । मध्यरातिका खेल पनि छुटाएको छैन । आगामी विश्वकपका खेलहरू अझ तीव्र गतिका हुने अनुमान गरेको छु । यसले युरोपियन फुटबलमा परिवर्तन देखिएको छ ।