दोस्रो जनआन्दोलन अनि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणन्त्रात्मक संविधान जारी भएपछि मुलुकका झन्डै एकचौथाइ जनसंख्या ओगटेका दलित समुदायले अब जातीय विभेदको अचानोमा किचिनु पर्नेछैन भन्ने आस गरेका थिए । देशमा पटक–पटक राजनीतिक प्रणाली नै परिवर्तन हुँदैगर्दा दलित समुदायको पीडा जहाँको तहीँ रहने नियति कायमै रह्यो ।
एक वर्षअघि रुकुम चौरजहारीको सोतीमा ६ जनाको नरसंहार घटना यही नियतिको निरन्तरताको रूपमा घट्यो । ०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढामगर, सञ्जु विक र गोविन्द शाहीको बर्बरतापूर्ण नरसंहार भयो । १२ युवा घाइते भए ।
सरकारी, गैरसरकारी तथा संसदीय समितिको अध्ययन प्रतिवेदनहरूले उक्त हत्याकाण्ड जातीय विभेदको कुरूप अनुहार भएको ठहर गरेका छन् । त्यो जघन्य हत्याकाण्डले नेपाली समाजमा आजसम्मका सबै राजनीतिक परिवर्तनका उपलब्धि, छुवाछुतमुक्त राष्ट्र घोषणा र कानुनी व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरिदिएको त छ नै, सिंगो नेपाली समाजलाई कलंकित पार्ने नृशंस काण्डपछि समाजमा देखिएको मौनता थप पीडादायी र आश्चर्यजनक छ । यसले समाजको संस्कृति र शिक्षामाथि पनि दरिलो प्रश्न उब्जिएको छ ।
घटनाको सुरुवात
प्रेमिकाको आग्रहमा साथीहरूसहित प्रेमिका भगाउन नवराज विक सोती पुगेका थिए । प्रेमिकाको आँगनसम्म नटेकेका नवराजसहितको समूहलाई वडाध्यक्षको निर्देशनमा सारा गाउँलेले घेरा हाली लखेटी–लखेटी, हतियार प्रयोग गरी कुटने, पिट्ने काम भयो । ६ जनाको हत्या भएको र बाँकी १२ जनालाई मरणासन्न हुने गरी कुटपिट गरेको घटनाका स्थलगत अध्ययन प्रतिवेदनहरूमार्फत सार्वजनिक भइसकेका छन् ।
नरसंहारपछि लासहरूको प्रकृति मुचुल्का, पोस्टमार्टम रिपोर्ट, प्रमाणहरूको व्यवस्थापनमा भएको गम्भीर षड्यन्त्र र लापरवाहीले सरकार तथा सम्बन्धित निकाय नियोजित गलत उद्देश्यतिर परिचालित भएको प्रस्ट देखिनु अक्षम्य छ । हातखुट्टा भाँचिएका, आँखा, दाँत फुटाइएका, जिउभरि घाउ भएका लासहरूको स्थिति प्रकृति मुचुल्कामा ठोस रूपले उल्लेख छ, न त पेटमा पानी नभएको स्पष्ट पारिएको छ ।
६ जनाको हत्या र १२ जना घाइते बनाउने कुनै हतियार प्रमाणका रूपमा पेस गरिएको छैन । अदालतमा सरकारले अपराधीलाई आजन्म कारावासको माग गरी मुद्दा दर्ता त गरेको छ, तर आधारभूत प्रमाण कमजोर पारेर ! यसबाट ठूलो मुद्दा चलाएको हल्ला गरी आक्रोश मत्थर पार्ने अनि समयक्रममा प्रमाण कमजोर भएको नाममा अपराधीलाई क्रमशः मुक्त गर्ने स्पष्ट खाका नै देखिन्छ । तसर्थ, सरकार र त्यसका संयन्त्रहरूले नियोजित रूपमा तयार पारेका पोस्टमार्टम रिपोर्ट, प्रकृति मुचुल्कालाई ठाडै षड्यन्त्रपूर्ण ठानी अस्वीकार गर्नुपर्छ ।
सोती नरसंहारलगत्तै रुकुम र जाजरकोटमा राजनीतिक दलनिकट दलित भातृ संघ–संगठन तथा दलित अधिकारकर्मी र पीडित परिवारले आन्दोलन सुरु गरे । आन्दोलनमा जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीको महŒवपूर्ण भूमिका थियो ।
मैले हिजो मात्र उहाँसँग टेलिफोन संवाद गरेको थिएँ । सिपी घर्ती र नवराजका बुबा मुनलाल नेपाली विकको भनाइमा संघीय सरकारबाट मृतक परिवारलाई १०–१० लाख र प्रदेश सरकारबाट एक–एक लाख रुपैयाँ प्राप्त भएको थियो । प्रतिनिधिसभाबाट माननीय देवेन्द्र पौडेलको नेतृत्वमा गठित ‘चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समिति’ले स्थलगत अध्ययन/अनुसन्धान गर्नुका साथै सरोकारवाला निकायसँग परामर्श गरी प्रतिवेदन संसद््समक्ष पेस भइसकेको अवस्था थियो । समितिले पीडित परिवारको रोजगारीको ग्यारेन्टीका साथै घाइतेहरूको उपचार र मृतकहरूको सम्झनामा घटनास्थलमा पार्क निर्माण गर्नेलगायत सिफारिस गरेको थियो, जसको कार्यान्वयन भएको छैन ।
दलित समुदायको संघर्ष
नेपालको इतिहासमा राजनीतिक परिवर्तनका हरेक आन्दोलन र संघर्षमा उत्पीडित एवं दलित समुदायको त्याग, तपस्या र बलिदानको भूमिका नजरअन्दाज गर्न मिल्दैन । राजनीतिक परिवर्तनको आन्दोलनसँगै हजारौँ वर्षदेखि कुरीति र कुसंस्कारको रूपमा रहेको जातीय भेदभाव तथा छुवाछुतविरुद्धको आन्दोलनमा दलितहरूले ज्यान गुमाउनुका साथै अंगभंग भएका घटनाहरू छन् । यो जातीय विभेदको अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट समेत विविध प्रयास भई नै रहेका छन् ।
यो मुलुकका लाखौँलाख दलितले समानता र मानवीय मर्यादा पाउन सक्ने अवस्था नहुँदासम्म संयुक्त सामाजिक–सांस्कृतिक रूपान्तरणको आन्दोलन सञ्चालन गर्नु आजको आवश्यकता हो
संयुक्त राष्ट्रसंघद्वारा जारी मानवअधिकारसम्बन्धी घोषणापत्र र सबै प्रकारका जातीय विभेदहरूको उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा डर्वान घोषणापत्र (जातिवादविरुद्धको विश्व सम्मेलनमार्फत ग्रहण गरिएको)प्रति प्रतिबद्धताजस्ता विषयले हाम्रो आन्दोलनले अन्तर्राष्ट्रिय प्रभाव पारेको पुष्टि हुन्छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजले सुरुवात गरेको संयुक्त आन्दोलनको केही समयपछि संयुक्त दलित जातीय संघर्ष समिति पनि आन्दोलनमा सहभागी बन्नुले आन्दोलन अझ उत्कर्षमा पुगेको थियो । आन्दोलनको राप र तापले गर्दा संसद््भित्र पनि पटक–पटक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्् अवरुद्धसमेत गरेर संसद्मा महत्वपूर्ण भूमिका खेलेको थियो ।
राज्यको दायित्व
नेपालको प्रथम लिखित कानुन १९१० को मुलुकी ऐनबाट छुवाछुत संस्थागत गर्न थालियो । दलित समुदायमाथि विभेदी कानुन बनाएर जबर्जस्ती लादिएको हुनाले राज्यबाटै कडा कानुन ल्याई जातीय भेदभाव र छुवाछुत हटाउने संकल्प जरुरी छ । ००७ सालको क्रान्तिसँगै दलित समुदायको हक अधिकारका लागि विविध प्रयास सुरु भए तापनि यसले जुन गतिमा समस्याको समाधान हुनुपथ्र्यो, त्यो हुन सकेको छैन ।
०२० को मुलुकी ऐनबाटै दलित समुदायलाई भेदभाव गर्न नपाइने व्यवस्था गरियो । ०४७ सालको संविधानले पनि दण्डनीय मानेकै थियो । जनआन्दोलन ०६२/६३ पछिको पुनस्र्थापित प्रतिनिधिसभाले ०६३ जेठ २१ गते जातीय भेदभाव र छुवाछुतमुक्त राष्ट्र घोषणा गरी ०६८ सालमा जातीय भेदभाव र छुवाछुत (कसुर तथा सजाय) ऐन पारित गर्ने काम आफैँमा सकारात्मक कदमको रूपमा लिन सकिन्छ ।
दलित समुदायको अनवरत संघर्षका कारण ०५४ सालमा स्थापना भएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र ०५८ सालमा गठन गरिएको राष्ट्रिय दलित आयोग पनि एउटा उपलब्धिकै रूपमा लिनुपर्छ । वर्तमान संविधानले पनि केही मौलिक हक प्रदान गरेको छ । धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक र धारा ४० मा दलितको हकको व्यवस्था आफैँमा महत्वपूर्ण उपलब्धि हुन् । त्यसैगरी, राष्ट्रिय दलित आयोग संवैधानिक आयोगका रूपमा आउनु पनि सकारात्मक परिणाम हो ।
राज्यले यतिवेला तेजाब छ्याप्दा २० वर्ष जेल सजाय हुने कडा कानुन बनाउन मिल्छ भने दलित समुदायलाई त यो समाजले हजारौँ वर्षदेखि तेजाबले बनाउने कुरूपताभन्दा बढी पीडा दिएको छ भन्ने राज्यले बुभ्mन जरुरी छ । राज्यले जातीय विभेद र छुवाछुत गर्नेका लागि कडाभन्दा कडा कानुन ल्याउन जरुरी छ । राज्यस्तरबाटै यो विभेद र कुरीति हटाउन विशेष कार्ययोजना बनाई दलित समुदायको सर्वाङ्गीण विकास गर्नेतर्फ राज्यले ध्यान दिन जरुरी छ ।
आगामी दिनमा खेल्नुपर्ने भूमिका
दलित समुदायले राणाशासन अन्त्यपछि मुक्ति मिल्छ भन्ठाने । त्यसपछि पञ्चायत समाप्त भए मुक्ति हुन्छ भन्ने माने । १० वर्षे सशस्त्र युद्ध र ०६२/६३ को जनआन्दोलन र सामन्तवादको प्रतीक राजतन्त्र समाप्त भएपछि दलित समुदायले पूर्ण मुक्ति हुने आशा देखाइयोे । तैपनि, हामीले सोती नरसंहार भोग्नुपरेको छ । अहिलेसम्म नखुलेको चेतनाको द्वार कहिले खुल्ने ? हामी अब कुन राजनीतिक परिवर्तन पर्खेर बस्ने ? अबको संघर्ष अन्तिम संघर्ष हुनुपर्छ । यो मुलुकका लाखौँलाख दलित समुदायले समानता र मानवीय मर्यादा पाउन सक्ने अवस्था नहुँदासम्म संयुक्त सामाजिक–सांस्कृतिक रूपान्तरणको आन्दोलन सञ्चालन गर्नु आजको आवश्यकता हो ।
निष्कर्ष
सोती घटनाबाट नेपाली समाज आज पनि विभेदकारी वर्णव्यवस्थामा आधारित छ भन्ने पाठ सिक्नुपर्छ । दुःखद परिवेश सोती हत्याकाण्डमै सीमित छैन, रूपन्देहीकी अंगीरा पासी, धनुषा सबैलाका शम्भु सदा, रौतहटका विजय राम, बझाङकी सम्झना विक हुँदै विस्तारित रूपमा छ । हाम्रो आन्दोलनमा गैरदलित समुदायका न्यायपे्रमी एवं प्रगतिशील जमातको सानो हिस्सा पनि साथमा हुनु सुखद सन्दर्भ बनेको छ । ३४ जना अभियुक्तमध्ये जिल्लाबाट चार, उच्चबाट दुई र सर्वोच्च अदालतबाट पाँच गरी नौजना तारेखमा छुटेका छन्, बाँकी २५ जना पुर्पक्षका लागि थुनामा छन् । अदालतबाट पीडित परिवारले न्याय पाउलान् कि नपाउलान् भन्ने चिन्ता–चासो छ । आवश्यक परेमा न्यायका निम्ति जस्तोसुकै आन्दोलन गर्नुपर्ने हुन सक्छ ।
(परियार संविधानसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य हुन्)