परिवारै संक्रमित, अस्पतालमा बेड पाउन पालो कुर्नुपर्ने अवस्था, निजी अस्पतालमा भए पनि बेड मिलाइदिन गुहार
कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि काठमाडौं उपत्यकाका सरकारी अस्पताल पनि भरिन थालेका छन् । मंगलबार मात्रै उपत्यकामा एक हजार नौ सय ६६ जनामा संक्रमण देखिएको छ । संक्रमितले अस्पतालमा बेड पाउन पालो कुर्नुपर्ने अवस्था छ ।
सोमबार दिउँसो टेकु अस्पतालको इमर्जेन्सीअगाडि बिरामी र आफन्तको भिडभाड थियो । इमर्जेन्सीअगाडि बिरामीका लािग पालो कुर्न राखिएको कुर्सीमा बसेर सुजन कार्की फोनमा अस्पतालमा बेड उपलब्ध गराइदिन आग्रह गरिरहेका थिए । उनी भन्दै थिए, ‘बिहानैदेखि अरू अस्पतालमा पनि बेडको बारेमा बुझिरहेको छु, यता आजै खाली हुँदैन रे, निजी अस्पतालमा भए पनि बेड मिलाइदिनुपर्यो ।’
६० वर्षीय आमाबुवा दुवैलाई श्वासप्रश्वासमा समस्या देखिएपछि कुलेश्वर बस्दै आएका सुजन सोमबार बिहानै ७ बजे टेकु अस्पताल पुगे । उनीसहित ९० वर्षीया हजुरआमा, ६० वर्षीय आमा सीता र ६० वर्षीय बुवा वीर कार्कीलाई ३ वैशाखमै कोरोना पजिटिभ देखिएको थियो । परिवारका सबै सदस्यलाई संक्रमण भएपछि उनीहरू होम आइसोलेसनमा बस्दै आएका थिए । सीतालाई शनिबारदेखि नै खोकी बढ्दै गएको थियो भने बुबा वीरलाई आइतबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि सुजनले दुवैजनालाई बिहानै अस्पताल पुर्याएका थिए । तर, अस्पतालमा बेड खाली नहुँदा उनीहरूलाई इमर्जेन्सीमै राखिएको छ ।
डा. सागर राजभण्डारी, निर्देशक सरुवारोग अस्पताल, टेकु
बेड खाली नभएपछि सामान्य बिरामीलाई चेकजाँच गरेर घर पठाइरहेका छौँ । त्यसको कुनै तथ्यांक राखिएको छैन ।
उनका अनुसार आमालाई छातीमा संक्रमण सुरु भएको छ भने बुबालाई अक्सिजन दिइरहनुपर्ने भएको छ । उनी भन्छन्, ‘घरमा ९० वर्षीया हजुरआमा एक्लै हुनुहुन्छ । यता बेड खाली नभएकाले अन्य अस्पताल लान खोजेको, कतै खाली छैन रे । मामा र भाइ बिहानैदेखि चार–पाँचवटा अस्पताल पुगिसके । अहिले फुपूलाई फोन गरेको, ललिततपुरको स्टार हस्पिटलमा खाली छ भन्छन्, कन्फर्म भाको छैन ।’
परिवारमा सबैलाई संक्रमण भएपछि एक सातादेखि नै होम आइसोलेसनमा बसे पनि वृद्ध आमाबुबालाई गम्भीर स्वास्थ्य समस्या देखिएपछि तीनजनाको स्याहार गर्न निकै गाह्रो भइरहेको सुजन सुनाउँछन् । भन्छन्, ‘सरकारीमा बेड पाएको भए उपचारका लागि सस्तो पथ्र्यो, अब हजुरआमा पनि बिरामी हुनुभयो भने के गर्ने, घरमा स्याहार गर्ने अरू मान्छे पनि छैनन् ।’ यसो भन्दा उनी निकै आत्तिरहेका थिए ।
सरुवारोग अस्पताल टेकुमा ११ घन्टा कुरेपछि बल्ल बेड
देशको एक मात्र सरुवारोग अस्पताल टेकु बिरामीले भरिएको छ, बेड पाउन पालो कुर्नुपर्छ । पिसिआरको रिपोर्ट पजिटिभ आएपछि भीमसेनस्थान बस्ने ६० वर्षीय सेते विश्वकर्मालाई परिवारका सदस्यले गत बुधबार बिहानै टेकु अस्पताल पु¥याएका थिए । सास फेर्न गाह्रो हुन थालेपछि उनलाई इमर्जेन्सीमा ल्याइएको थियो । तर, ११ घन्टा कुरेपछि मात्रै उनले बेड पाए । ‘सुरुमा दिनभरि कुर्दा पनि बेड नै पाइएन, एकजना डिस्चार्ज भएपछि मात्रै पाइयो । अहिले आइसियूमा राखिएको छ,’ उनकी पत्नी संगीताले भनिन् ।
विश्वकर्मालाई अहिले आइसियूबाट नर्मल आइसोलेसनमा सारिएको छ । सरकारी अस्पतालमा उपचार खर्च नलाग्ने भए पनि बाहिरबाट ल्याउनुपर्ने औषधि र अन्य खर्च धान्न पनि संगीतालाई गाह्रो भइरहेको छ । विश्वकर्मादम्पतीले भीमसेनस्थानमा पसल चलाउने गर्छन् । श्रीमान्लाई संक्रमण भएपछि संगीता पाँच दिनदेखि अस्पताल बाहिरै कुरिरहेकी छिन् । आफन्तले बिहान बेलुकी अस्पतालमै खाना पुर्याइदिन्छन् । डाक्टरहरूले श्रीमान्लाई सन्चो हँुदै गइरहेको बताएपछि उनी छिटै घर फर्किने आसमा छिन् ।
५९ वर्षीय आमालाई सास फेर्न अप्ठ्यारो भएपछि सीतापाइलाका गौतम रिजाल (नाम परिवर्तन)ले बिहीबार बिहानै टेकु अस्पताल ल्याएका थिए । पाँच दिनअगाडि कोरोना पुष्टि भए पनि उनले आमालाई होम आइसोलेसनमै राखेका थिए । डाक्टरले अक्सिजन सेचुरेसन निकै कम हुन थालेकाले अस्पतालमै राख्नुपर्ने बताए । तर, रातिसम्म पनि बेड खाली नभएपछि उनलाई अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको इमर्जेन्सी आइसोलेसनमा बेड कुरिरहेकाको दैनिक भिड लाग्ने गर्छ । होम आइसोलेसनमा बस्दा स्वास्थ्य समस्या जटिल भएर अस्पताल पुगेका बिरामीका आफन्त अस्पतालमा पनि ठाउँ नपाउँदा चिन्तित भएर फर्किने गरेका छन् । इमर्जेन्सीमा पनि बेड अपुग हुन थालेपछि अस्पतालले चारवटा बेड थपेको जनाएको छ । ती पनि भरिएका छन् । वार्डमा भर्ना गर्नुपर्नेबाहेक इर्मेजेन्सीमा कति बिरामी आए भन्ने लेखाजोखासमेत छैन । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘बेड खाली नभएपछि सामान्य बिरामीलाई चेकजाँच गरेर घर पठाइरहेका छौँ । त्यसको कुनै तथ्यांक राखिएको छैन ।’
छातीमा संक्रमण बढ्दै गएको रिपोर्टले देखाएपछि कलंकी बस्दै आएकी धादिङकी ३० वर्षीया माया थापालाई आफन्तले आइतबार बेलुकी टिचिङ अस्पताल पुर्याए । उनलाई खोकीसँगै श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । अस्पताल पुग्दा इमर्जेन्सी वार्ड पनि बिरामीले भरिएको थियो । बेड पाउने टुंगो नभएपछि आफन्तले सोही एम्बुलेन्समा कलंकी फर्काए । सास फेर्न गाह्रो भएकाले अक्सिजनको सिलिन्डरसमेत सँगै लगिएको थियो । राति कलंकीको सहिद मेमोरियल अस्पतालमा बेड पाएपछि आइसियूमा भर्ना गरिएको आफन्तले बताएका छन् । मायाको परिवार र आफन्त गरी ११ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालमा कुरुवा बस्दै आएका शंकर थापा भन्छन्, ‘सबैजना बिरामी भएकाले अस्पतालमा कुर्ने मान्छे पनि छैैनन् । घरमा बच्चाहरू पनि संक्रमित छन्, तिनीहरूलाई कसले हेर्ने ? अस्पतालले प्रतिदिन बेडको मात्रै साढे ११ हजार लिएको छ, सरकारीमा बेड पाएको भए यति खर्च हुँदैनथ्यो ।’
संक्रमितको चाप बढेपछि बेड थप्दै शिक्षण अस्पताल
शिक्षण अस्पताल महाराजगन्जले बिरामीको संख्या बढ्दै जाँदा आइसोलेसनमा बेड थपिरहेको अस्पतालका निर्देशक डा.दिनेश काफ्लेले बताए । तर पनि, बेड नपाएर इमर्जेन्सीमै बस्नुपर्ने बाध्यता हटेको छैन । आठ/दश बिरामीलाई इमर्जेन्सीमै ‘होल्ड’ गरेर राख्ने गरिएको छ । सामान्य लक्षण देखिएका संक्रमितलाई अस्पतालले होम आइसोलेसनमा पठाउने गरेको छ ।
अस्पतालको प्रशासन शाखामै कार्यरत एक महिला कर्मचारीलाई गत मंगलबार संक्रमण देखिएपछि होमआइसोलेसनमा पठाइएको थियो । उनका श्रीमान्लाई पनि संक्रमण देखिएको थियो । श्वासप्रश्वासको समस्या बढ्न थालेपछि दुवैजना शुक्रबार दिउँसो अस्पताल पुगेका थिए । तर, राति मात्रै बेड पाए । अहिले दम्पती नै आइसियुमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।
बिरामीको चाप बढेपछि शिक्षण अस्पतालले बेड संख्या पनि बढाउँदै लगेको बताएको छ । मंगलबार अस्पतालमा ४० जना आइसोलेसनममा, ६ जना आइसियूमा र चारजना भेन्टिलेटरमा छन् । बेड खाली नहुँदा आइसियूमा राख्न्ुापर्ने गम्भीर बिरामीलाई अन्यत्र ‘रेफर’ गर्ने गरिएको छ ।
सिजनल फ्लुका लक्षणसहित अस्पताल आउनेको संख्या गत सातादेखि दोब्बरले बढेको छ । अक्सिजनको आवश्यकता नपर्ने बिरामीहरूका लागि नयाँ भवनमा पनि आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी भइरहेको निर्देशक काफ्लेले बताए । ‘तर, बेड थपेर मात्र हुने अवस्था छैन, हामीसँग जनशक्तिको पनि अभाव छ । त्यसैले बिरामीको फ्लोअनुसार थप बेड व्यवस्थापन गर्नसमेत अब गाह्रो भइरहेको छ,’ उनले भने । कोभिडका लागि छुट्याइएको भवनको अर्को तलामा पनि चाँडै २२ बेडमा अक्सिजन पाइप जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।
टेकु अस्पतालमा आइसोलेसनमा बेड ३३, आइसियू नौ र भेन्टिलेटर ११ वटा सञ्चालनमा छन् । तर, मंगलबार मात्रै अस्पतालमा ५५ जना आइसोलेसनमा, ११ जना आइसियूमा र १० जना भेन्टिलेटरमा उपचाररत छन् । ‘आइसोलेसनका सबै बेड क्षमताभन्दा बढी बिरामी छन् । अब हामीसँग सिरियस केसको एउटा बिरामीबाहेक राख्ने क्षमता छैन । त्यसैलै इमर्जेन्सीमै भए पनि अक्सिजनको आपूर्ति गरेर बिरामीको उपचार गरिरहेका छाँै,’ टेकु अस्पतालका प्रवक्ता नवराज गौतमले भने ।
संक्रमण भयावह हुन थालेपछि बिरामीका आफन्तलाई सरकारी अस्पतालमा बेड नपाइने चिन्ताले सताउन थालेको छ । जनकपुरका मोहम्मद खातुनले गत बुधबार ६१ वर्षीय बुबालाई टेकु अस्पतालमा भर्ना गरे । ‘यहाँ बेड नपाएको भए निजी अस्पतालमा उपचार खर्च व्यहोर्नै मुस्किल पथ्र्यो । सरकारी अस्पतालले शुल्क नलिँदा धेरै सजिलो भएको छ । तैपनि अहिलेसम्म एक लाख जति खर्च भइसक्यो । बुबालाई आइसियूबाट नर्मल आइसोलेसनमा सारेको छ, छिटै डिस्चार्ज गर्ने भनेका छन्,’ उनले भने ।
काठमाडौंको कपन बस्ने पुष्पा तामाङले संक्रमित बुबाआमाका लागि वीर अस्पतालमा बल्लबल्ल बेड पाउन सकेको बताइन् । शिक्षण अस्पतालमा गत बुधबार गरेको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएपछि उनीहरू होम आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासको समस्या बढ्न थालेपछि शुक्रबार बेडका लागि सबै सरकारी अस्पताल धाउँदासमेत नपाएको पुष्पाले बताइन् । ‘काठमाडौंका सबैजसो सरकारी अस्पताल गयौँ, बेड पाइएन । आफन्तको सहयोगमा बल्लतल्ल यहाँ पाइयो,’ कुरुवा बसेकी उनले भनिन् ।
संक्रमितको संख्या बढ्न थालेपछि वीरले मंगलबार मात्रै १५ बेड थपेको छ । अहिले अस्पतालमा ४० जना आइसोलेसनमा, ६ जना आइसियू र एकजना भेन्टिलेटरमा उपचाररत छन् । इमर्जेन्सीमा निमोनिया, रुघाखोकी, ज्वरो, दमका बिरामी आउने क्रम निकै बढेको अस्पतालले जनाएको छ ।
पाटन अस्पतालले इमर्जेन्सीमा कोरोनाको लक्षणसहितका बिरामी बढ्न थालेपछि आइसोलेसनमा बेड संख्या पनि थप्दै लगेको छ । तर, पनि बेड खाली छैनन् । आइतबार ८८ जना आइसोलेसनमा, नौजना आइसियूमा र आठजनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोनाका लगि इमर्जेन्सीमा छुट्याइएका बेडहरू पनि सबै भरिएका छन् ।
त्यस्तै, बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि अहिले सञ्चालनमा रहेका सबै बेड संक्रमित र संक्रमणको शंका गरिएका बिरामीले भरिएका छन् । मंगलबार अस्पतालमा एक सय ३६ जना आइसोलेसनमा छन् । अस्पतालले चाँडै १० वटा आइसियू र ३५ वटा बेड थप्ने तयारी गरिरहेको छ । आइतबार अस्पतालमा ११ जनाको आइसियू र आठजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
छाउनीस्थित सेनाको अस्पतालले कोरोना संक्रमितका लागि ४० बेड छुट्याएको छ । अहिले २९ जना आइसोलेसनमा, चारजना आइसियूमा, दुईजना ‘हाई केयर’मा, पाँचजना विशेष क्याबिनमा र एकजना स्क्रिनिङमा उपचाररत छन् ।
२४ घन्टामा चार हजार पाँच सय २४ संक्रमित थपिए, १८ को मृत्यु
देशभर पछिल्लो २४ घन्टामा थप चार हजार पाँच सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ सय ७२ पीसीआर परीक्षणमा चार हजार तीन सय ६४ र एब हजार नौ एन्टिजेन परीक्षणमा एक सय ६० जना गरी ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ । संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा छन् ।
