भारतबाट फर्किने नेपालीलाई होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश वा स्थानीय तहमार्फत घर पठाइने
सरकारले भारतसँग जोडिएका आठ नाकानजिकै एक–एक हजार मानिस अट्ने आठवटा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ । त्यसको जिम्मा सेनालाई दिइएको छ ।
झापाको काँकडभिट्टा, मोरङको रानी भन्सार, पर्साको वीरगन्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकानजिकै होल्डिङ सेन्टर बनाइनेछ । मन्त्रिपरिषद्ले एक साताअघि नै नाकानजिकै पायक पर्ने स्थानमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।
भारतबाट आउने नेपालीलाई सुरुमा होल्डिङ सेन्टरमा राखिनेछ । सम्बन्धित प्रदेश वा स्थानीय तहमार्फत उनीहरूलाई व्यवस्थित रूपमा घर पठाइनेछ । नेपालीबाहेकका नागरिकको प्रवेशमा सरकारले प्रतिबन्ध लगाइसकेको छ । होल्डिङ सेन्टरमा लाग्ने खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ।
काँकडभिट्टामा सेना परिचालित भइसकेको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए । उनका अनुसार अन्य जिल्लाहरूमा पनि स्थानीय प्रशासनसँग समन्वय गरेर सेनाले होल्डिङ सेन्टर स्थापना गर्नेछ ।
कोरोनाको पहिलो लहरका वेला गत वर्ष सरकारले नाकामा १९ वटा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातवटा होल्डिङ सेन्टरको व्यवस्थापन गरेको थियो । यसपटक भने हवाई यात्रुहरूलाई राख्ने होल्डिङ सेन्टर छैन ।
सैनिक प्रवक्ता पौडेलका अनुसार देशभरि क्वारेन्टिन, आइसोलेसन सेन्टरको सञ्चालन, व्यवस्थापन र स्थापनामा सेनाले सहयोग गर्नेछ । संक्रमणबाट मृत्यु हुनेहरूको शव व्यवस्थापन पनि सेनाले गर्दै आएको थियो । तर, यसपटक परिवारले इच्छा गरेमा स्वास्थ्य सतर्कतासहित परिवारलाई शव व्यवस्थापन गर्न दिने गरी मन्त्रिपरिषद्ले निर्देशिका संशोधन गरेको छ ।