उद्यमीका जायज सुझाब बजेटमार्फत कार्यान्वयन हुन्छ : अर्थमन्त्री

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझाबहरूलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् ।आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरूसँग सुझाब लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरूका सम्भव र जायज सुझाबहरूलाई कार्यान्वयनमा लैजाने बताएका हुन् ।

तर, के सम्भव र के जायज हुन् भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए । छलफलमा युवा उद्यमीहरूले राखेको सुझाबमा धेरै महत्वपूर्ण अन्तरतत्व अन्तर्निहित रहेको छ भन्ने ठानेको बताए । अहिलेको परिस्थितिमा औसत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको बताए ।

कोभिडको सामना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढंगले बजेट निर्माण हुने जानकारी दिए । अर्थतन्त्रको पुनरूत्थानको कुरा र उन्नति–प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको पनि प्रस्ट पारे । 

कार्यक्रममा युवा उद्यमीहरूले भन्सारमा न्यून बिजकीकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमान्ड शुल्क, निर्यातमा भएका समस्या, स्टिल उद्योगका समस्याहरूको विषय, स्टार्टअप पोलिसीलगायतका विषयमा सुझाब दिएका छन् ।

त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, सेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुने गरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरूको क्षमता बढाउनेलगायतका विषयमा समेत उद्यमीहरूले सुझाब दिए ।
 

सुझावित समाचार