लुम्बिनी प्रदेशमा सरकार ढाल्ने–जोगाउने खेल

मंगलबार, ७ बैशाख, २०७८
डिजिटल संस्करण

विपक्षीले ल्याए अविश्वास प्रस्ताव, मुख्यमन्त्रीले बनाए प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकार टिकाउन आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादीका तीन सांसदलाई मन्त्री बनाएका छन् । अविश्वास प्रस्ताव दर्ता भएको तीन घण्टाभित्रै मुख्यमन्त्री पोखरेलले जसपाका सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझीलाई मन्त्री बनाएका हुन् । उनले जसपाकै सांसद कल्पना पाण्डेलाई पनि मन्त्री बनाएका छन् । अविश्वास प्रस्तावमा उनको भने हस्ताक्षर छैन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ४१ सांसद्ले हस्ताक्षर गरी प्रदेश सभामा सोमबार पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा नेपाली कांग्रेसका १९, माओवादीका १७, जसपाका ५ गरी ४१ सांसदको हस्ताक्षर छ । उनीहरूले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् । अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सोमबारै सरकारमा सहभागी माओवादीका मन्त्रीहरू केसी र सुदर्शन बरालले राजीनामा दिएका थिए । 

८७ सदस्यीय प्रदेश सभामा हाल ८५ सदस्य छन् । माओवादीका दुई सांसद एमालेमा प्रवेश गरेकाले उनीहरू पदमुक्त भएपछि सभा ८५ सदस्यीय भएको हो । जसमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । बहुमतका ४३ सांसद चाहिन्छ । एमाले एक्लैका ४१ सांसद छन् । तर, दुईजना नेपाल पक्षमा खुलेकाले पोखरेललाई फ्लोरक्रसको चिन्ता छ । एमालेका सबै सांसद्ले मतदान गरे पनि बहुमत पुग्न दुई सांसद् नपुग्न, त्यस्तै कर्णालीमा जस्तै फ्लोरक्रस भए थप दुई सांसद नपुग्ने हिसाव गरी मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई मन्त्री बनाएको देखिन्छ । 

विपक्षी दलहरूले पोखरेलको विकल्प खोज्न गत चैत मध्यदेखि अविश्वास प्रस्तावको गृहकार्य गरेका थिए । त्यसको सुइँको पाएपछि मुख्यमन्त्री पोखरेलले सुरु भएको एक सातामै हिउँदे अधिवेशन अन्त्य गरे । सत्ता समीकरणमा निर्णायक शक्तिका रूपमा रहेको जसपालाई मनाउन माओवादी र कांग्रेसले केही दिनदेखि नै प्रयास गरिरहेका थिए । आइतबार अबेरसम्म चलेको वार्तामा जसपाका चार सांसद अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गर्न तयार भए । तर, सोमबार एकातिर अविश्वास प्रस्ताव दर्ता भएसँगै अर्कोतिर चार सांसद पोखरेल नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी हुन पुगे । प्रस्ताव दर्ता भएको तीन घण्टामै मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसद्लाई सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गरे । नवनियुक्त मन्त्रीहरूलाई प्रदेशप्रमुख धर्मनाथ यादवले तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री पोखरेलले गराए । 

पोखरेलले सन्तोषकुमार पाण्डेलाई भौतिक पूर्वाधार विकास, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्री तथा सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाएका छन् । यससँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् ८ पुगेको छ । उनले सुरुदेखि आफौले सम्हाल्दै आएको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत छाडेका छन् । 

सुझावित समाचार