प्रदेश १ पत्रकार महासंघ अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

२१ पदका लागि ४६ जनाको उम्मेदवारी

शनिबार, २१ चैत, २०७७
डिजिटल संस्करण

चैत २५ गते हुने  नेपाल पत्रकार महासंघ प्रदेश १ समितिको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले शुक्रबार साँझ प्रकाशन गरेको अन्तिम नामावालीअनुसार पत्रकार महासंघ प्रदेश १ समितिको अध्यक्षमा विराटनगरका  लीलावल्लभ घिमिरे, झापाका मोहनकाजी न्यौपाने र इलामका सोमनाथ सुसेलीबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । घिमिरेले प्रेस संगठन र प्रेस युनियनको गठबन्धनबाट, न्यौपानेले प्रेस चौतारी र प्रेस मञ्चको गठबन्धनबाट र  सुसेलीले प्रेस युनियनबाट स्वतन्त्र बागी उम्मेदवारी दिएका हुन् ।  

प्रकाशित अन्तिम नामावलीअनुसार प्रदेश १ समितिको २१ पदका लागि ४६ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश १ समितिका  सातजना  पदाधिकारी, पाँचजना खुला सदस्यसहित आदिवासी जनजाति, महिला, मधेसी, दलित, सीमान्तकृत समूहका आठजना सबै सदस्यहरू अलग–अलग दुईवटा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

नेपाली कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्र र एमाले माधव खनाल समूहको प्रेस संगठनले एउटा गठबन्धन बनाएको छ । अर्को गठबन्धनमा एमाले ओली समूहको प्रेस चौतारी र जनता समाजवादी पार्टीनिकट प्रेस मञ्च नेपालले बनाएका छन् ।

नामावलीअनुसार समितिको खुला उपाध्यक्षमा चौतारीका रोहितकुमार राई र युनियनका लवदेव ढुंगानाबीच प्रतिस्पर्धा हुनेछ । महिला उपाध्यक्ष पदमा चौतारीकी कोकिला ढकाल र युनियनकी हिमाकुमारी चेम्जोङले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, महासचिव पदका लागि प्रेसमञ्चका फिपराज बेघा लिम्बू र प्रेस संगठनका विवेक गौतमले उमेदवारी दिएका छन् ।  
सचिव पदका लागि चौतारीका अविजाल विष्ट र प्रेस संगठनका देवेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुनेछ । समावेशी सचिव पदमा चौतारीका सन्तवीर लामा र युनियनका सन्तोष यादवको उम्मेदवारी कायम छ । कोषाध्यक्षमा प्रेस संगठनका विमल लामिछाने  र चौतारीका सन्तोष रुचालको भिडन्त हुनेछ । महासंघको २५ चैतमा केन्द्र, प्रदेश र जिल्लाको एकैपटक पहिलोचोटि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हुँदै छ ।  

सुझावित समाचार