उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग

मेलम्चीको १७ करोड लिटर थपिएपछि उच्चतम् ३० करोड लिटर आपूर्ति, तर ४० प्रतिशत बाटोमै चुहावट

सोमबार, १६ चैत, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा हाल खानेपानीको दैनिक माग ४३ करोड लिटर छ । तर, केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्दै आएको छ । अझ, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर सात करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ । 

अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कूल आपूर्ति ३० करोड लिटर पुग्नेछ । तर, खानेपानी वितरणको नयाँ प्रणालीमा कति चुहावट हुने हो ? पर्याप्त परीक्षण भएको छैन । नयाँ प्रणालीका लागि बिछ्याइएका ११ सय किलोमिटर पाइपमध्ये दुई सय किलोमिटर मात्र परीक्षण भएको छ । जसमा १५ प्रतिशत चुहावट हुने देखिएको छ ।

२२ वर्षपछि उपत्यकावासीको धारामा मेलम्चीको पानी आइपुगेको छ । आइतबार पहिलो चरणअन्तर्गत चाबहिलको महांकालचौरस्थित ट्यांकीबाट पानी वितरण गरिएको छ । उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलगायतले दिउँसो २ बजे महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका थिए । त्यहीँबाट आपूर्ति भएको पानी डिल्लीबजार, मैतीदेवी, घट्टेकुलो क्षेत्रसम्म वितरण गरिएको छ ।

‘अहिले पुरानै वितरण प्रणालीबाट पानी पठाएका छौँ । केही दिन परीक्षण अवधि राखेका छौँ,’ केयुकेएलका प्रवक्ता प्रकाश राईले भने । आइतबार महांकालचौरसँगै अनामनगर, मीनभवन र खुमलटारस्थित ट्यांकीबाट पनि पानी वितरण गर्ने योजना थियो । तर, पछि महांकालचौरबाट मात्रै वितरण गरियो । चारवटै ठाउँबाट गरी सुरुका दुई दिन चार करोड लिटर, तेस्रो दिन साढे ६ करोड र चौथो दिनदेखि साढे आठ करोड लिटर पानी वितरण गर्ने योजना केयुकेएलले बनाएको थियो । 

अहिले सुन्दरीजलस्थित एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार दैनिक साढे आठ करोड लिटरसम्म पानी वितरण गरिनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर गरी दैनिक १७ करोड लिटरसम्म उपत्यकामा पानी वितरण गर्न सकिने प्रवक्ता राईले बताए । मेलम्ची खानेपानी आयोजनाले गत शुक्रबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो ।

पहिलो चरणको परीक्षण सफल भएमा २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौंमा आएको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । उनले भृकुटीमण्डपस्थित जडान गरिएको नयाँ धाराको टुटी खोलेर उद्घाटन गर्नेछिन् । दोस्रो चरणमा बालाजु क्षेत्रमा पानी पठाउने केयुकेएलको तयारी छ । त्यसपछिको चरणमा महाराजगन्ज, पानीपोखरी र बाँसबारी क्षेत्रमा पानी पठाइनेछ । 

पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले केयुकेएलले तत्काल समस्या सामाधानका लागि एउटा टोली तयारी अवस्थामा राखेको छ, जसले समस्या देखिनासाथ सम्बन्धित ठाउँमा पुगेर मर्मत सम्भार गर्नेछ । ‘हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ,’ प्रवक्ता राईले भने । 

कुन–कुन स्थानमा पानी आउने, कुन ठाउँमा नआउने तथा कुन–कुन समयमा पानी आउने भन्ने विषयमा सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमार्फत उपभोक्तालाई जानकारी दिइरहेको छ । ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि त्यसबारे बुझ्न सक्ने केयुकेएलले जनाएको छ । 

मेलम्ची खानेपानी आयोजनाले गत १० फागुनमा पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । २२ फागुनमा पानी सुन्दरीजलस्थित प्रसोधन केन्द्रमा आइपुगेको थियो । प्रधानमन्त्री केपी ओलीले त्यसको अवलोकन गरेका थिए ।
मेलम्चीको पानी उपत्यकामा ल्याउन ०५५ मा मेलम्ची खानेपानी विकास समितिको गठन गरिएको थियो । आयोजना निर्माणका लागि ०५८ मा एसियाली विकास बैंकसँग ऋण सम्झौता भएको थियो । 

नयाँ वितरण सञ्जाल पनि तयारी अवस्थामा 
नयाँ वितरण प्रणाली पनि तयारी अवस्थामा रहेको केयुकेएलअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जनाएको छ । ११ सय किलोमिटर नयाँ पाइप बिछ्याउने काम सम्पन्न भएको छ । दुई सय किलोमिटरमा ट्यांकरको पानी हालेर परीक्षण कार्य पनि गरिएको पिआइडीका निर्देशक कमल श्रेष्ठले बताए । 

‘नयाँ प्रणालीमार्फत पानी वितरणका लागि पनि हामी तयारी अवस्थामा छौँ । दुई सय किलोमिटरमा ट्यांकरबाट पानी हालेर परीक्षण गरिसकेका छौँ । परीक्षण सफल पनि भइसकेको छ,’ श्रेष्ठले भने । उनका अनुसार बाँकी नौ सय किलोमिटरमा मेलम्चीको पानी आएपछि नै परीक्षण गर्दै पानी वितरण गरिनेछ । 

‘पानी प्राप्त भएपछि महिनामा ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि मेलम्चीबाट आउने पानी १० प्रतिशत परीक्षणमा खर्च गर्छौँ । परीक्षण गर्दा पाइपमा जमेका फोहोर पनि बाहिर आउने गरी फ्लसिङ गर्नुपर्छ ।’ उनका अनुसार नयाँ प्रणालीमा जोडिएका एक लाख १० हजार घरधुरीलाई पानी पु¥याउन एक वर्ष लाग्नेछ । 

नयाँ प्रणालीबाट वितरण सुरु नगरेसम्म उपत्यकाका सबै ठाउँमा मेलम्चीको पानी नआउने केयुकेएलले जनाएको छ । ‘हामीले चाहेर पनि दैनिक र सबैतिर पानी वितरण गर्न सक्ने अवस्था छैन । पुरानो प्रणालीका पाइपहरू साना साइजका छन् । ती लाइनबाट धेरै धारा जोडिएका छन् । त्यसैले त्यो लाइनमा दिनभरि नै पानी दिँदा पनि सबै धारामा आउन गाह्रो नै छ,’ केयुकेएलका प्रवक्ता राईले भने ।

केयुकेएलले अहिले सुन्दरीजल, भक्तपुरको महादेव खोला, फर्पिङ, ललितपुरको चारघरे, मूलडोल, शिवपुरी, विष्णुमती, अल्ले, बोडे, भण्डारे, पाँचमाने, कीर्तिपुरको नौमुले, दूधपोखरी, सिम, जोहाहिटीलगायतका मुहानबाट पानी आपूर्ति गरिरहेको छ । त्यस्तै, ट्युबेलमार्फत भूमिगत पानी उत्पादन र ट्यांकरमार्फत वितरण गर्दै आएको छ । भूमिगत पानीको अत्यधिक दोहन भएकाले पानीको सतह पनि घट्दै गएको छ ।

See More On

सुझावित समाचार