काठमाडौंको आकाश एकाएक धुम्म, घातक प्रदूषणको घन्टी

शुक्रबार, १३ चैत, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्राले खतराको स्तर पार गरेको छ ।  शुक्रबार दिउँसो २ बजेदेखि एकाएक आकाश धुम्म हुन थालेसँगै भैँसेपाटीमा घातक, भक्तपुर, रत्नपार्कमा रहेका प्रदूषण मापन केन्द्रमा हावाको अवस्था अतिअस्वस्थकर देखाएको छ । अपराह्नमा भैँसेपाटी स्टेसनमा वायुको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३२८ देखि ४४३ पुगेको छ। भक्तपुरमा २१४, रत्नपार्कमा १६९ र फोहोरा दरबार क्षेत्रमा २०४ पुगेको छ । 

हावाको गुणस्तर २०० नाघ्नुलाई अतिअस्वस्थकर र ३०० नाघ्नुलाई खतरनाक मानिन्छ। २०० नाघेमा वृद्धावृद्ध, बालबालिकालाई घरबाहिर ननिस्कन अलर्ट जारी गर्ने गरिन्छ भने ३०० नाघेमा सबै उमेर समूहका नागरिकको स्वास्थ्यमा असर पार्न ठानिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो मानिन्छ भने ५० देखि १०० सम्मलाई मध्यम मानिन्छ। यसैगरी, १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर मानिन्छ ।

तर, सरकारी निकायले यसबारे नागरिकलाई औपचारिक जानकारी दिएका छैनन् । वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले सुक्खा मौसम र डढेलोका कारण वायु प्रदूषण बढेको हुन सक्ने बताए । पर्सिसम्म प्रदूषणको मात्रा नघटेमा अलर्ट जारी गरिने उनले उल्लेख गरे ।

वातावरणविद् भूषण तुलाधरले एक्वुआई ३०० नाघ्नु स्वास्थ्यका लागि निकै घातक हुने र यो अवस्थामा आपतकाल (इमर्जेन्सी) घोषणा गरिनुपर्ने बताए । ‘यो अवस्थामा यातायात आवश्यकताअनुसार मात्र चलाउन भन्नुपर्ने हो । तर, सरकारले प्रदूषण नियन्त्रण कार्ययोजना नै कार्यान्वयन गरेको छैन,’ उनले भने, ‘पुसमा पनि प्रदूषण निकै बढेको थियो, बारम्बार यस्तो हुनु पक्कै राम्रो संकेत होइन । काठमाडौंमा पहिलेदेखि नै बढी प्रदूषण थियो,अब सोच्नुपर्ने वेला आयो ।’

काठमाडौंको आकाश धुम्म भएसँगै ‘कारण के हो ?’ भनेर नागरिकहरूले मौसम पूर्वानुमान महाशाखामा फोन गर्न थालेका छन् । तर, महाशाखाले पनि यसबारे औपचारिक जानकारी दिएको छैन । मौसमविद् शान्ति कँडेलले पनि नेपालमा हालसम्मकै बढी डढेलो लागेका वेला प्रदूषण उच्च भएको जानकारी दिइन् । ‘यो वर्ष हिउँदयाम सुक्खा रह्यो, प्रिमनसुनमा पनि जमिन भिज्ने गरी पानी परेको छैन,’ उनले भनिन्, ‘यी र यस्तै कारणले प्रदूषण बढेको हुन सक्छ ।’ बिहीबार मुलुकका ४७ जिल्लाका चार सय ७९ स्थानमा डढेलो लागेको थियो ।  

काठमाडौं मात्र नभई पोखरा, सौराहा, धनकुटा, दमक, धनगढीलगायतका क्षेत्रमा पनि प्रदूषण बढेको छ । प्रदूषण उच्च भएपछि गत पुस २१ गते सूचना जारी गर्दै बालबालिका र ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्कन अपिल गरेको वातावरण विभागले प्रदूषण नियन्त्रणको कार्ययोजना अगाडि बढाएको छैन ।

See More On

सुझावित समाचार