विद्यार्थीलाई विश्वस्तरीय तालिम दिइरहेका छौँ : डा. रोशन राठी

बिहिबार, १२ चैत, २०७७
डिजिटल संस्करण

तपाईंहरूले कस्तो तालिम दिनुहुन्छ ?
हामीले कुनै पनि क्षेत्रका विद्यार्थी तथा कर्मचारीलाई हस्पिटालिटी, टुरिजम र कुलिनरी आर्टस्को तालिम दिन्छौँ जसले उनीहरूलाई काम गर्नका लागि सहजता हुन्छ । हामीले कलेज तथा कर्पोरेट हाउसमा इनहाउस ट्रेनरको विकास होस् भनेर ‘ट्रेन द ट्रेनर’ कार्यक्रम पनि चलाउँछौँ । किनभने, हामी सबै ठाउँमा पुगेर तालिम दिन सक्दैनौँ । त्यसैले हामी ट्रेनरहरू पनि उत्पादन गर्ने काम गर्छौँ । यी जति पनि कार्यक्रम छन्, त्यसलाई चाहिने सपोर्ट ‘मेटेरियल्स’ प्रकाशन गर्नका लागि आफ्नै पब्लिकेसन पनि छ । हाम्रो कार्यक्रमका कोर्सबुक आफैँ डिजाइन गरेर प्रकाशन गर्छौं । हामीले इकोसिस्टम डेभलप गर्न खोजेका हौँ । 

कुन–कुन ठाउँमा तालिम दिनुहुन्छ ? 
हामी सातवटै प्रदेशमा तालिम दिन्छौँ । हामीले सबै प्रदेशमा रहेका मुख्य–मुख्य सहरमा तालिम केन्द्र नै सञ्चालन गरेका छौँ । देशभर दुई दर्जन तालिम केन्द्र सञ्चालनमा ल्याएका छौँ । हस्पिटालिटी म्यानेजमेन्टसँग आधारित रहेर एक वर्ष, १५ महिना र २१ महिनाको तालिम दिन्छौँ । देशैभर एउटै सिलेबसमा आधारित भएर विश्वस्तरीय तालिम प्रदान गरिरहेका छौँ । 

तपाईंहरूको तालिमलाई विश्वास गर्नुपर्ने आधार के हुन् ? 
हामीले सञ्चालन गर्ने हस्पिटालिटी, टुरिजम, कुलिनरी सबै कार्यक्रमको देशभित्रै विकास गरेका हौँ । हाम्रा कार्यक्रमको इन्टर्नेसनल बेन्च मार्किङ युरोपियन क्वालिफिकेसन फ्रेमवर्कबाट गराएका छौँ । अनि स्कटिस क्वालिफिकेसन अथोरिटीबाट क्वालिटी एस्योरेन्स गराएका छौँ । हाम्रो कार्यक्रमको स्ट्यान्डर्ड मूल्यांकन गर्नका लागि विश्वले मान्दै आएको स्ट्यान्डर्ड ‘युरोपियन क्वालिफिकेसन फ्रेमवर्क’सँग टाइअप गरेका छौँ ।

यसले हाम्रा कार्यक्रमको इभ्यालुएट र म्यापिङ गरेर बेञ्चमार्किङ गरेको छ । हाम्रो एडभान्स डिप्लोमा हस्पिटालिटी म्यानेजमेन्ट कोर्स युरोपियन क्वालिफिकेसन फ्रेमवर्कको लेबल ५ इक्युभ्यालेन्ट प्रोग्राम हो । हामीले स्विट्जल्र्यान्ड, पेरिस, लन्डन वा नेपालको बिर्तामोडमा पढ्ने कोर्सको लेबल एउटै बनाएका छौँ । विदेशमा भन्दा अत्यन्तै कम खर्चमै इन्टर्नेसनल लेबलको कोर्स नेपालमै पढ्न पाइन्छ ।

विदेशमा पनि कार्यक्रम सञ्चालन गर्नुभएको छ ? 
पक्कै पनि, हामीले नेपालमा डिजाइन गरेको कार्यक्रमलाई बंगलादेश, म्यानमार, चाइना र मलेसियामा पनि विस्तार गरिसकेका छौं । बंगलादेश र म्यानमारमा दुई ब्याचको पढाइ चलिरहेको छ । बंगलादेशमा सन् २०१९ मा पहिलो कोल्याब्रेसन गर्यौँ ।

पहिलो ब्याचले कोर्स पूरा गरिसकेका छन् । दोस्रो ब्याचको पनि आधा कोर्स सकिइसकेको छ । गत हप्ता म बंगालदेश पुगेर पहिलो ब्याचको ग्र्याजुएसन सेरोमनी र तेस्रो ब्याचको वेलकम कार्यक्रम गरेर फर्किएँ । हामीले नेपाली शिक्षा पनि अन्तर्राष्ट्रियस्तरको हुन सक्छ है भनेर प्रमाणित गर्न सकेका छौँ । विदेशका स्थानीय संस्थासँग सहकार्य गरेर नेपाली कोर्समार्फत ट्रेनिङ दिइरहेका छौँ । 

सम्भवतः चाँडै नै बंगलादेशकै ढाकामा दोस्रो पार्टनर ट्रेनिङ कार्यक्रम पनि सुरु गर्दै छौँ । यस्तै, अफ्रिकाको सानो मुलुक टोगोमा पनि चाँडै तालिम सञ्चालन गर्न गइरहेका छौँ । त्यहाँ पनि करिब पार्टनर्सिप एग्रिमेन्ट टुंगिसकेको छ । विदेशमा पनि नेपालमा डिजाइन भएको करिकुलमअन्तर्गत तालिमका कार्यक्रम सञ्चालन हुनेछन् । 

विद्यार्थीलाई रोजगारीको अवसर कस्तो छ ? 
हामीले दक्ष जनशक्ति उत्पादन गरिरहेका छौँ । कसैले सीप सिकेपछि रोजगारी पाउनुपर्छ । हाम्रोमा रहेको स्टुडेन्ट सर्भिस डिपार्टमेन्टले विद्यार्थीलाई उद्योगसँग लिंक गर्ने काम गर्छ । अहिले पनि बजारमा दक्ष जनशक्तिको आवश्यकता छ । अझ हस्पिटालिट तथा टुरिजम क्षेत्रमा दक्ष जनशक्तिको चर्को अभाव देखिन्छ । विश्वभरि हस्पिटालिटी फास्ट ग्रोइङ इन्डस्ट्री हो, यस्तो इन्डस्ट्रीमा दक्ष जनशक्तिको जहिल्यै माग हुन्छ । सीप भएको व्यक्ति बेरोजगार बस्नुपर्दैन ।

हामी अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको लेबल सर्टिफिकेट प्रदान गर्छौँ जसले गर्दा विद्यार्थीलाई विदेशमा पनि रोजगारी पाउन समस्या हुँदैन । हाम्रा विद्यार्थी विभिन्न ठाउँमा काम गरिरहेका छन् । कतिपय विद्यार्थी हाम्रै ट्रेनर हुनुभएको छ । माल्दिभ्स, श्रीलंका, सिंगापुर, क्यानडा, अस्ट्रेलिया, दुबईलगायत मुलुकमा जागिरको अवसर पाइरहेका छन् । कतिपय विद्यार्थीले नेपालमै राम्रो उद्यम सञ्चालन गरिरहेका छन् ।

कुनै नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारीमा हुनुहुन्छ ?
हामी चाँडै कम्प्युटर एनिमेसन र मल्टिमिडिया रिलेटेड डिप्लोमा कार्यक्रम लञ्च गर्दै छौँ । साथै, एडभेन्चर तथा माउन्टेन टुरिजमसँग रिलेटेड अर्को डिप्लोमा कार्यक्रम पनि चाँडै लन्च गर्दै छौँ । नेपालमा एडभेन्चर टुरिजम क्षेत्रमा धेरै अवसर छन् । हामी एडभेन्चर स्पोर्टस्का ट्रेनर पनि उत्पादन गर्नेछौँ । जुन क्षेत्रमा स्कोप छ, हामी त्यहीअनुसारका कार्यक्रम सञ्चालन गर्दै जान्छौँ । 

विदेशी विद्यार्थीलाई नेपालमा ल्याएर पढाउन सकिँदैन ?
हामीले विदेशी विद्यार्थीलाई नेपालमा डिजाइन गरेको कोर्स पढाउन थालिसक्यौँ । विदेशी विद्यार्थीलाई एलसिसिआईले नेपालमा ल्याएर पढाउने वातावरण तयार पार्दै छ । हामीले एउटा मोडल थपेका छौँ जसअन्तर्गत विदेशमा नेपाली कोर्स पढिरहेका हाम्रा विद्यार्थीले सर्टेन टाइम नेपालमा आएर पढ्नुपर्नेछ । केही विदेशी विद्यार्थीहरू ल्याएर ट्रेनिङ पनि गराइसक्यौँ ।

सुझावित समाचार