राष्ट्रपति राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान, शीर्ष वार्ता आजै, चार समझदारीपत्रमा हस्ताक्षर हुने

सोमबार, ९ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा आज  ढाका प्रस्थान  गरेकी छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटालगायतले बिदाइ गरेका छन् । नेपाल एयरलाइन्सको विशेष विमानबाट उनी बंगलादेश प्रस्थान गरेकी हुन् । उनको भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, वाणिज्यसचिव दिनेश भट्टराई, पर्यटनसचिव यादव कोइरालासहित २७ जना छन्  ।

गणतन्त्र स्थापनापछि नेपालबाट पहिलोपटक राष्ट्रपतिको भ्रमण भएको हो । राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदलगायत उच्च अधिकारीसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ भने दुई देशका वाणिज्य र पर्यटनसचिवहरूबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ । समकक्षी हमिदले आजै राजकीय रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । 

राष्ट्रपति बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको १००औँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ । ‘राष्ट्रपतिज्यूको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ, उहाँको भ्रमणका अवसरमा नेपाल र बंगलादेशबीच चार समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ,’ बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले ढाकाबाट टेलिफोनमा भने, ‘गणतन्त्र स्थापनापछि हाम्रो राष्ट्रपतिको पहिलो भ्रमण हो। उहाँलाई समकक्षी हमिदले ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्नुहुने कार्यक्रम छ ।’  आजै बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री डा. एके अब्दुल मोमेनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

बंगलादेशका राष्ट्रपति हमिदले गत वर्ष कात्तिक २६ देखि २९ सम्म नेपालको भ्रमण गरेका थिए । यसअघि बंगलादेश र नेपालका प्रधानसेनापतिहरूले एक–अर्को मुलुकको औपचारिक भ्रमण पनि गरिसकेका छन् । राष्ट्रपति भण्डारीले ढाकामा नेपाल बंगलादेश सम्बन्धबारे सम्बोधन गर्ने पनि कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत मिश्रका अनुसार नेपाल र बंगलादेशका आपूर्तिसचिवहरुबीच रोहनपुर सिंघाबाद रेल्वे रुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालबाट वाणिज्यसचिव दिनेश भट्टराईले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । नेपाल र बंगलादेशबीच अतिरिक्त पारवहन रुटका रूपमा यसलाई लिइएको छ  र यो तेस्रो मुलुकका लागि व्यापार र पारवहनका लागि सहयोगी हुने जानकारहरूको भनाइ छ । ‘यो विषय केही समयअघिदेखि द्विपक्षीय छलफलमा थियो, अहिले मूर्तरूप पाउने भएको छ,’ राजदूत मिश्रले भने । उनका अनुसार कृषिसम्बन्धी स्यानिटरी तथा फाइटोस्यानिटरी सहयोगसम्बन्धी अर्को सम्झौता हुनेछ । यसमा पनि वाणिज्यसचिव भट्टराईले नेपालका तर्फबाट हस्ताक्षर गर्नेछन् ।

दुई देशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी एउटा तथा २०२२ देखि २०२५सम्म सांस्कृतिक आदानप्रदान गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । यी सम्झौतामा नेपालका तर्फबाट पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले हस्तार गर्ने कार्यक्रम छ । चारवटा समझदारीपत्रमा हस्ताक्षरसम्बन्धी छलफलका लागि नेपाल सरकारको एड्भान्स टिम ढाका पुगेर सम्बन्धित अधिकारीहरूसँग छलफलमा व्यस्त रहेको परराष्ट्र स्रोतले जनाएको छ ।

बंगलादेशले राष्ट्रपिताको जन्मशताब्दी तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाठका अवसरमा ४ चैतदेखि दशदिने कार्यक्रम आयोजना गरिरहेको छ । नेपालसहित सार्क सदस्य मुलुकहरू भारत, माल्दिभ्स, श्रीलंका र भुटानका शीर्ष नेतालाई बंगलादेशले निमन्त्रणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १३ चैतमा ढाका पुग्ने कार्यक्रम छ ।

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे, भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ पनि समारोहमा सहभागी हुन ढाका पुग्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी ढाकाबाट मंगलबार अपराह्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
 

सुझावित समाचार