प्रधानमन्त्रीसँग छलफल गर्न जसपा नेताहरू बालुवाटारमा

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । सचिवालय बैठक सकेपछि सचिवालयका पाँचजना नेता आफ्ना माग र सत्तासमीकरणबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार पुगेका हुन् ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना माग सम्बोधन गराउने र सत्तासमीकरणबारे छलफल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो । तर, कार्यदल नबनाईकनै जसपाका शीर्ष नेताहरू  बुधबार र बिहीबार सचिवालय बैठक बसेका छन् । 

बिहीबारको बैठकबाट पाँचैजना शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति र आफ्ना मागहरूबारे तीनवटै दल सत्तारुढ एमाले, समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेका थिए । सोही निर्णयबमोजिम बिहीबार साँझ जसपाबाट प्रधानमन्त्री ओलीलाई भेट्न नेताहरू पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई बालुवाटार गएको केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

झाले यसअघि वार्ता टोली बनाउने भनिए पनि शीर्ष पाँचजना नेताले नै सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

सुझावित समाचार