बेसहारा विद्यार्थीको अभिभावक बन्यो विद्यालय

आमाबाबु नभएका, आर्थिक अवस्था कमजोर भएका २५ बालबालिकालाई आवासीय सुविधा उपलब्ध गराउँदै पाँचथरको जागृति आधारभूत विद्यालय

सोमबार, १७ फागुन, २०७७
डिजिटल संस्करण

फिदिम–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत शिशिर भुजेल अहिले सात वर्षका भए । उनका अविभावक छैनन् । शिशिरलाई मामाघरमा छाडेर आमाले अर्कै विवाह गरिन् । बाबुले पनि दोस्रो विवाह गरेपछि उनी मावलीमै रहे । मावली घरको पनि आर्थिक अवस्था कमजोर भएपछि उनको अध्ययन, लालनपालनको जिम्मा विद्यालयले नै लिएको छ ।

जागृति आधारभूत विद्यालयमा अध्ययन गरिरहेका आर्यन राई ११ वर्षका भए । फिदिम–९ लुम्बाबुङ घर भएका आर्यनको कथा पनि शिशिरसँग मिल्छ । उनी पनि सोही विद्यालयको जिम्मामा छन् । उनको पनि आमाबाबु दुवैले दोस्रो विवाह गरे । त्यसपछि एक्लो भएका आर्यनलाई विद्यालयले जिम्मा लियो । 

शिशिर र आर्यनकी आमा एकै हुन् । तर बाबु फरक । दोस्रो विवाह गरेकी आमाले दुई सन्तानलाई माइतमै छाडेर हिँडेपछि उनीहरूको रेखदेखको जिम्मा विद्यालयले लिँदै आएको छ ।

कक्षा ४ का मिसन तुम्बापो १२ वर्षका भए । उनका बाबुआमा अहिलेसम्म विद्यालयको सम्पर्कमा छैनन् । आमाबाबु छुट्टाछुट्टै बाटो लागेपछि उनी विद्यालयमा आइपुगे । सिवा दोभान मावली घरमा रहेका उनलाई अहिले विद्यालयले लालनपालन गरिरहेको छ । सोही विद्यालयकी आयुषा राईको कथा पनि उस्तै छ । आमाबाबु दुवैले अर्को विवाह गरेपछि मावली घरमा छोडिएकी उनी पनि अहिले विद्यालयको जिम्मामा छिन् ।

जागृति आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गरिरहेकी निरुता ओली आठ वर्षकी भइन् । उनका पनि आमाबाबु सम्पर्कमा छैनन् । आमा पोखरामा छिन् । बाबुले अर्को विवाह गरे । परिवारमा रेखदेखका लागि कोही पनि नभएपछि उनी पनि विद्यालयको लालनपालनमा हुर्की बढिरहेकी छन् ।

जागृति विद्यालयमा रहेका विद्यार्थीमध्ये यी प्रतिनिधि मात्रै हुन् । यहाँ अहिले रहेका आवासीय विद्यार्थीमध्ये सबैजसोका अविभावक छैनन् । भएका पनि आर्थिक रूपमा विपन्न छन् । उनीहरूलाई विद्यालयले नै आश्रय दिएर अध्ययन गराउँदै आएको छ । विद्यालयमा २५ विद्यार्थी अध्ययन गरिरहेका छन् । उनीहरूका कोही पनि अविभावक आफ्ना बालबालिकाको अध्ययन, रेखदेख र स्याहारका लागि तयार छैनन् । मुख्य जिम्मेवार हुनुपर्ने बाबुआमा नै साथमा नभएपछि विद्यालयले उनीहरूलाई आश्रय दिने गरेको छ । विद्यालय नै बेसहाराको अविभावक बनेको छ ।

कसरी हुन्छ व्यवस्थापन ?
जागृति आधारभूत विद्यालयमा मात्रै बाबुआमा नभएका बेसहारा २५ बालबालिका छन् । २०७२ बाट सुरु भएको विद्यालयको त्यस्तो कार्यक्रम सो क्षेत्रका लागि वरदानजस्तै बनेको छ । सुरुदेखि नै विद्यालयले आर्थिक संकटको सामना गरेर बेसहारा विद्यार्थीको व्यवस्थापन गरिरहेको छ । ‘पहिलो वर्ष हामीसँग नौजना विद्यार्थी आवासीय थिए । उनीहरूका लागि सुरुवातमा तत्कालीन जिल्ला शिक्षा कार्यालय र जिल्ला विकास समितिबाट केही आर्थिक सहयोग भएको थियो । शिक्षा कार्यालयले दिएको खाजाबापतको रकम जोगाएर कार्यक्रम सुरु गरियो,’ विद्यालयका प्रधानाध्यापक डिल्ली लुइँटेल भन्छन्, ‘तत्कालीन जिल्ला विकास समितिले दुई लाख रुपैयाँ दियो । त्यसले कतिन्जेल चल्छ र । व्यक्तिगत रूपमा दान गर्न चाहनेलाई अनुरोध गरियो । व्यवसायी मित्रप्रसाद काफ्लेसहितको योगदान धेरै छ ।’
२०७४ देखि फिदिम नगरपालिकाले सहयोग गर्न थालेपछि केही सहज भएको विद्यालयले जनाएको छ । पहिलो वर्ष नगरपालिकाले तीन लाख रकम दिएको थियो । त्यसयता हरेक वर्ष पाँच÷पाँच लाख रुपैयाँ सहयोग गर्दै आएको छ । तर, विपद्मा परेका विद्यार्थी थपिने क्रम बर्सेनि बढ्दै गएकाले जहिल्यै अभावै अभावको सामना गर्नुपरेको प्रधानाध्यापक लुइँटेलको भनाइ छ । विद्यार्थीलाई एकदिनको खानामा मात्रै १८ सय रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको छ ।

साथै, लत्ताकपडा, बिहान दिउँसोको खाजा, बिरामी पर्दा उपचार खर्च जुटाउन समस्या भएको उनले सुनाए । सरकारी निकायबाट भरपर्दो सहयोग नहुने हो भने टिकाउन समस्या हुने विद्यालयको भनाइ छ ।

बिदाको दिनमा समेत पढाइ
जागृति आधारभूत विद्यालयमा अहिले कक्षा ६ सम्म पढाइ हुन्छ । कक्षा ८ सम्म अध्ययन गराउन भनेर यो वर्ष कक्षा ७ को अनुमति लिइएको विद्यालयले जनाएको छ । विद्यालयमा अहिले १०६ जना विद्यार्थी अध्ययनरत छन्, तीमध्ये २५ विद्यार्थी आवासीय छन् । अरू विद्यार्थी पनि नजिक घर भएका छन् । तर, उनीहरू पनि बिहान खाजा समयभन्दा अघि नै विद्यालय आउँछन् । सालघारी क्षेत्रमा रहेका नागरिकको आर्थिक अवस्था कमजोर रहेकै कारण उनीहरू बिहानको खाजा खाने गरी विद्यालय आउँछन् र विद्यालय बिदा भएपछि मात्रै घर जाने गर्छन् । यसरी विद्यालयमा करिब १८ घन्टा पढाइको वातावरण रहेको प्रधानाध्यापक लुइँटेलको भनाइ छ । बिहान ट्युसन, दिउँसो विद्यालयको कक्षा र राति १० बजेसम्म गृहकार्यसहितका गतिविधि दैनिक हुने गरेको छ ।

विद्यालयकी सहायक शिक्षक (वार्डेन) विमला तामाङका अनुसार बिदाको दिनमा समेत पढाइ हुने गरेको छ । बालबालिका बिदामा पनि घर जानभन्दा विद्यालयमै रमाउने गरेको उनको भनाइ छ । ‘विद्यार्थी नै स्कुलमा भएपछि हामी बस्नै प¥यो । लामो बिदा हुने समयमा बाहेक विद्यालय खाली हुँदैन,’ तामाङ भन्छिन् । आवासीय कक्षामा रहेका विद्यार्थी ७ देखि १४ वर्ष उमेरका छन् । उनीहरूको रेखदेख गर्न निकै कठिन हुने तामाङको अनुभव छ । ‘राति जहिल्यै डरैडर हुने गर्छ । सबै एकै खालका हुन्न,’ प्रधानाध्यापक लुइँटेलले भने, ‘कोही राति नै उठेर हिँड्ने समस्या पनि आउने गरेको छ ।’ 

सो विद्यालयमा पढाउने स्थानीयमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ । आफ्ना बालबालिकालाई पैसा तिरेर विद्यालय पठाउन सक्ने सामथ्र्य धेरैको छैन । विद्यालय सेवा क्षेत्रभित्र एक सय ६२ परिवार छन् । हिलिहाङ गाउँपालिकाको माझीटार, सिमखर्क पुछार, तम्फुवा पुछार, फिदिम नगरपालिकाको सालघरी, सरखण्डे, सिवादोभान, कुम्मायक गाउँपालिकाको निवु दोभान क्षेत्रका बालबालिका विद्यालयको सेवा क्षेत्रभित्र पर्छन् । ती क्षेत्रमा अर्को विद्यालय छैन । आफ्ना छोराछोरीलाई स्कुल नै नपठाउने, पठाउनै परे जागृतिमै पठाउनुपर्ने बाध्यतामा स्थानीय छन् । सोही बाध्यताका कारण सेवा क्षेत्रका धेरै बालबालिकाले कक्षा ६ देखि विद्यालय छाड्ने गरेका छन् । अर्को विद्यालय जान–आउन कम्तीमा २० किलोमिटर धाउनु पर्छ ।

सुझावित समाचार