ओलीको आमसभाअघि नागरिक अगुवाहरूको मार्चपास

शुक्रबार, २३ माघ, २०७७
डिजिटल संस्करण

आँखा जुधाउने आँट गर पुजारी 
म बीसौँ शताब्दीको अछुत हुँ 
म गोल भूगोलको गहुँगोरो अफ्रिका हुँ 
म अपमानित इतिहासको हिसाब चाहन्छु 
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु 

बिहानै साढे सात बजेतिर लैनचौरस्थित पद्मरत्न तुलाधरको घरअघि बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूको आवाज घन्किरहेको थियो । आहुतिको ‘गहुँगोरो’ अफ्रिका’ शीर्षकको कविता अभियन्ताहरूको एकै स्वरमा गुन्जिरहेको थियो । कवि प्रणिका कोयूले नेतृत्व गरिरहेकी थिइन् ।  छेवैमा  बेलायती दूतावास र भारतीय दूतावास भर्खर ब्युँझेझैँ देखिन्थे, त्यो पनि नागरिकहरूको सामूहिक स्वरहरूले ।

प्रतीकात्मक शैलीमा दुई कूटनीतिक नियोगअघि आन्दोलन गर्न पुगेका अभियान्तहरूको भेला प्रहरीहरूको घेरोभित्र थियो । त्यही घेरोभित्रबाट उनीहरू चिच्याइरहेका थिए, ‘म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ।’ प्रधानमन्त्री केपी ओलीले गरेको गैरसंवैधानिक कदमविरुद्ध बृहत् नागरिक आन्दोलन निरन्तर सडकमा छ । त्यसैको निरन्तरतास्वरूप शुक्रबार बिहानै नागरिक अगुवाहरू लैनचौर पुगेका थिए । 

यता प्रधानमन्त्री ओली नारायणहिटीअघि आमसभा गर्न लागिपरेका छन् । प्रहरीहरू तैनाथ छन् । बिहानैबाट सडक जाम छ । हरेक दिन एक गाँसका लागि ज्यालादारीमा काम गर्ने दरबारमार्गका ठेलाहरू हटेका छन् । उनीहरूलाई प्रहरीले हिजैबाट विस्थापित गरेका छन् । र, त्यहीँ आज ‘समृद्धि’को नारा लगाउने, ‘कोही भोकै पर्नुपर्दैन’ भनेर भाषण गर्ने ओलीले सम्बोधन गर्दै छन् । 

ओलीको सम्बोधनअघि नै बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू सडकमा पुगेका छन् । प्रतिगमनविरुद्ध उभिएका छन्, त्यो पनि कूटनीतिक नियोगअघि । आन्दोलनमा सरिक हुन पुगेका कवि बच्चु हिमांशु साथीहरूसँग भनिरहेका थिए, ‘नारायणहिटीअघि नै आमसभा गर्नुपर्ने ? नेपाली जनताले थुकेको दरबारअघिबाट सम्बोधन गरेर ओलीले के संकेत गर्न खोजेका हुन् ?’ 

 ०००

आहुतिको कविता वाचन गर्दै बृहत् नागरिक आन्दोलन अगाडि बढ्यो । लैनचौरबाट मार्चपास गर्दै शीतलनिवासअघि पुगेर कोणसभा गर्ने योजनामुताबिक अगाडि बढेका अभियन्ताहरू सयौँ प्रहरीहरूबाट घेरिएका थिए । अगाडि प्रहरीको हुल थियो, पछाडि खाली गाडी प्रहरीले कुदाइरहेका थिए । त्यहीबीच नारा लगाउँदै हिँडिरहेका थिए नागरिक आन्दोलनका अभियन्ताहरू  । तर, शीतलनिवासको नजिक होइन, पानीपोखरीमै प्रवेश निषेध गरेर प्रहरीहरू तैनाथ भइदिए । त्यहीँ कोणसभा भयो । 

कोणसभामा बोल्दै अभियन्ता रविन्द्र श्रेष्ठले भने, ‘प्रहरी साथीहरू हामीभन्दा धेरै हुनुहुन्छ । तर, तपाईंहरूमाथि भएको प्रतिगमन पनि याद गर्नुहोला । प्रहरी साथीहरूलाई ओली सेक्युरिटी प्रालिकोे सेक्युरिटी गार्डको हैसियतमा राखेर तपाईंहरूमाथि प्रतिगमन भएको छ । घरमा गएर ऐनामा आफूले लगाएको फुली हेर्नुहोस् ।’ साथै श्रेष्ठले जुन संविधान पालना गर्ने र जनताको हक र अधिकारलाई सुनिश्चित गर्ने कसम खाएर आउँदै गर्दा त्यसमाथि पनि ओली सेक्युरिटी प्रालिले प्रहरीमाथि नै प्रतिगमन गरेको बताए । 

श्रेष्ठले  नेपाली सेनाले लिम्पियाधुरा र लिपुलेक जोगाउन नसकेको, त्यहाँ पाइला पनि राख्न नसकेको भनेर व्यंग्य पनि थपे । तर, खोकनामा बन्दुक तेर्स्याएर आदिवासी नेवारको भूमि सेनाले अपहरण शैलीमा अधिग्रहण गरेकोप्रति खेद प्रकट पनि गरे । उनले भने, ‘नेपाली सेनाले हामीमाथि प्रतिगमन गर्‍यो । नेपाल प्रहरीले हामीमाथि प्रतिगमन गर्‍यो ।’

०००
आन्दोलनमा ७५ वर्षीय खगेन्द्र संग्रौला  हातले ब्यानर समातेर फटाफट हिँडिरहेका थिए । लैनचौरदेखि पानीपोखरीसम्म उस्तै जोसमा हिँडिरहेका संग्रौला, कृष्ण खनाललगायतको ऊर्जामाथि कार्यक्रम सञ्चालक गोविन्द छन्त्याल भनिरहेका थिए, ‘आन्दोलनमा कपाल सेतै फुलेका खगेन्द्र संग्रौलादेखि १८–२० वर्षका युवाहरू हुनुहुन्छ ।’ छन्त्यालले यसो भनिरहँदा संग्रौला मुसुमुसु हाँसिरहन्थे ।

उनै संग्रौलाले केही समयअघि भनेका थिए, ‘मैले आधा जीवन सडकलाई दिइसकेँ । अब सडकलाई दिन बाँकी जीवन थिएन । तैपनि अलिकति बाँकी रहेको जीवन दिनका लागि सडकमा आइपुगेको छु ।’ आन्दोलनकै बीच कुराकानीका क्रममा संग्रौलाले नयाँ पत्रिकालाई भने, ‘सडकमा त सधैँ हुनेछु । यो शरीर पो मरेर जाला, मेरो विचार र निष्ठा त कहिल्यै मर्दैन नि  !’ 

वक्तामा रूपमा आएका अभियन्ता श्याम श्रेष्ठले पानीपोखरीमै अभियन्ताहरूलाई रोकेकोप्रति आक्रोश पोखे, ‘राष्ट्रपतिज्यूलाई शीतलनिवास पुगेर हाम्रो कुरा सुनाउनु थियो । संविधानले नदिने नियुक्तिहरू कसरी गर्नुभयो भनेर प्रश्न गर्नु थियो । तर, प्रहरीहरू हाम्रालाई सुरक्षा होइन, पर्खाल भएर उभिए ।’ श्यामले खटाएको, आदेश दिएको मान्नुपर्ने भए पनि न्याय र सत्यको पक्षमा उभिन प्रहरीहरूलाई उभिन अनुरोध गरे । उनले भने, ‘यदि देशमा तानाशाह आयो भने फेरि गोली पड्कने दिन आउन सक्छ । तर, त्यहाँ जाने को ? ओली जाँदैन, तपाईंहरू जाने हो ।’ 

कृष्ण खनालले पनि प्रहरीले पानीपोखरीमै रोकेकोमाथि प्रश्न गरे । उनले भने, ‘हामीसँग यहाँ प्लेकार्ड छ । शीतलनिवास पुगेर भवन पुगेर देखाउन चाहन्थ्यौँ । राष्ट्रपतिलाई सोध्न चाहन्थ्यौँ, तिमी साक्षी भएर आएको संविधानको हालत के छ ? तर, हामीलाई राज्यले यहीँ छेक्यो ।’ सेतै कपाल फुलिसकेको खनालले यस्ता छेकबारले आफूहरूलाई छेक्न नसक्ने दाबी पनि गरे ।  त्यस्ता छेकबार धेरैपटक पार गरेर अगाडि बढेको भन्दै शीतलनिवास र प्रहरी प्रशासनलाई ०६२/६३ सालको जनआन्दोलन स्मरण पनि गराए । 

युवा अभियन्ता प्रनेताले संविधानमाथि भएको कुमाथि प्रश्न तेर्स्याइन् । उनले संविधानमाथि भएको अधिकार मृत अवस्थामा पुगेकाले र प्राप्त उपलब्धिहरू गुम्ने खतरा भएकाले ती उपलब्धि बचाउन र जोगाउन सडकमा आउनुपर्ने आह्वान गरिन् । भनिन्, ‘अधिकार सुनिश्चित गर्न रनभुल्ल परेर बस्नुपर्ने अवस्था नरहेकाले आन्दोलनमा सबैलाई  आउन आह्वान गर्छु ।’

सुझावित समाचार