अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रैबाट छापामार शैलीमा संविधानको प्रबन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरेका छन् । मुस्लिम समुदायको हकहितको संरक्षण, सम्बद्र्धन सशक्तीकरण विषयमा काठमाडौंमा आइतबार आयोजित अन्तत्र्रिmयामा पौडेलले छापामारशैलीमा संविधान र कानुनको प्रबन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरू गर्ने षड्यन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।
उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्न जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पनि बताए । संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशील र अनुशासित प्रतिनिधिसभाको आवश्यकता रहेको तर्क गरे ।
सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरू गरिरहँदा ती कामहरूलाई साथ–समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टीभित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरू भएको पनि उनले बताए ।
सरकारले गरेका कामबाट विपक्षीहरूले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका वेला पार्टीभित्रबाट असहयोग भएको उनको जिकिर छ ।