राष्ट्रिय सभा अध्यक्ष सडक निरीक्षणमा

सोमबार, १२ माघ, २०७७
डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको स्थलगत अनुगमन गरेका छन् । अध्यक्ष तिमल्सिनाले रूपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको सडकको स्थलगत अनुगमन गरेका हुन् ।

उनको नेतृत्वमा आएको ११ सदस्यीय टोलीले गल्छीदेखि रसुवागढीसम्मको सडकको स्थलगत अनुगमन गरेको गल्छी–त्रिशूली–मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । शुक्रबार र शनिबार भएको अनुगमनमा टोलीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डसहित रसुवागढी जलविद्युत् आयोजना, रसुवागढी नाका, एकीकृत भन्सार कार्यालय र रसुवागढीकोसमेत स्थलगत निरीक्षण गरेको भण्डारीले जानकारी दिए ।

अध्यक्ष तिमल्सिनाले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने छोटो दूरीको सडकखण्ड निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । शनिबार रसुवागढी नाकामा नयाँ पत्रिकासँग कुरा गर्दै उनले विगतमा सडकको कामले गति लिन नसके पनि पछिल्लो समय कामको प्रगति सन्तोषजनक पाएको बताए ।

उनले रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार कार्यालय, रसुवागढी जलविद्युत् आयोजना तथा सुक्खा बन्दरगाहजस्ता आयोजनाहरूका काममा पनि यसरी नै तीव्रता ल्याउनुपर्ने बताए । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढीको दूरी ८२ किलोमिटर रहेको छ । राष्ट्रिय प्राथमिकताप्राप्त मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो ।

सुझावित समाचार