बाबुराम भट्टराईको दाबी– हिटलरले जे गऱ्याे, केपी ओली त्यही गर्दै छन्

बुधबार, २९ पुष, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली हिटलरको पथमा अगाडि बढिरहेको बताएका छन् । केपी ओली प्रवृत्ति फासिस्ट र हिटलरी प्रवृत्ति रहेको उनले उल्लेख गरे ।
 
सरकारको संसद् विघटन गर्ने कदमविरुद्ध पोखरामा आयोजित विरोध सभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हिटलरले पनि उखानटुक्काहरू हालेर मान्छे जुरुक्कजुरुक्क उचाल्थ्यो । अझै पनि तपाईं युट्युबहरूमा हेर्न सक्नुहुन्छ । सबै निर्वाचित संस्थाहरू भत्काइदिने हिटलरले जे ग¥यो केपी ओलीले त्यही गरेको छ । जसरी हिटलरले जर्मनी सिध्यायो, त्यसैगरी केपी ओलीले सिध्याउँछन् । केपी ओलीलाई नसच्याउने हो भने अब संघीयता पनि खारेज गर्छन् । न्यायालय, शिक्षा, विश्वविद्यालय सबै कब्जा गरेर हिटलरले तानाशाही फासीवाद लाद्यो । केपी ओलीले त्यसै गर्छन्,’ उनले भने । 

हिटलरी प्रवृत्ति सबैलाई डुबाउने र आफू पनि डुब्ने प्रवृत्ति रहेको उनको भनाइ छ । प्रचण्ड र माधव नेपालले यो प्रवृत्ति नचिन्दा अहिले यो समस्या आएको उनले टिप्पणी गरे । आफूले प्रचण्डलाई निर्वाचनलगत्तै ओली प्रवृत्तिलाई बल पुग्ने गरी पार्टी एकता नगर्न भनेको उनले जानकारी दिए । माधव नेपाल र प्रचण्ड अझै पनि सच्चिने भ्रम पालेर निर्णायक ढंगले अगाडि बढ्न नसकेको उनको भनाइ छ । 

प्रचण्ड र माधव नेपाललाई अझै पनि हुन्छ कि भनेर हारगुहार गर्न छाड्न उनले आग्रह गरे । ‘जर्मनमा हिटलरले करोडौँ मान्छे मा¥यो । प्रेमिकालाई विष खुवायो । अन्तिम समयमा पनि आत्मसमर्पण नगरी आफू र आफ्ना मान्छेलाई विष खुवाएर मारेको हो । आफू पनि विष खाएर स्वाहा भयो । केपी ओली त्यस्तै हुन् । अन्त्यमा सर्वनास नभएसम्म छाड्दैनन् । 

असारमै केपी ओलीले संसद् विघटन गर्ने धम्की दिएको र प्रचण्ड र नेपाल डराएर छोड्दा अहिलेको नियति आएको उनले बताए । आफूले त्यतिवेला नै ओली प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्दा नमान्दा यो अवस्था आएको उनले सुनाए । ‘उहाँहरूले डराएर छोड्ने ठूलो गल्ती गर्नुभयो । मैले असारमै संसद् विघटन गर्छन् भन्दा त्यही धम्की ओलीले माधव र प्रचण्डलाई दिएका रहेछन् । मैले ओलीले आपत्काल घोषणा गर्छन् भनेर उतिवेलै भनेको हो । नपत्याए सोध्नुभए हुन्छ,’ उनले भने । 

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानलाई भिरको डिलमा पु¥याएका छन् अब कहिले खसाल्छन्, त्यो हेर्न हेर्न मात्र बाँकी रहेको उनको भनाइ छ । आफूहरूले यस्तै मूर्ख शासक आउँदा सनकका भरमा संसद् विघटन गर्छन् भनेरै संविधान अपूर्ण छ भनेको उनले जिकिर गरे । सनकको भरमा केही गर्न नसकुन् भनेरै पूर्णसमानुपातिक संसदीय व्यवस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आफूहरूले माग गरेको उनले स्मरण गरे । 

संवैधानिक अदालतको कुरा पनि यत्तिकै नगरेको उनको भनाइ छ । ‘त्यतिवेला कांग्रेस–एमालेले मानेनन् । हाम्रो प्रचण्ड धेरै उदार, सबैलाई दिन्छु–दिन्छु भने । सबै छोडिदिनुभयो, त्यसको परिणाम ७० वर्ष लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने अवस्थामा आइपुगेको छ । अहिले त अदालतले के गर्छ–गर्छ । साँच्चै भन्न सकिने अवस्था छैन । ओलीले जुन ढंगले मान्छे भरेका छन् । आसेपासे प्रयोग गरेर धम्क्याएर अन्यथा गर्न सक्छन् । त्योभन्दा माथि जनताको अदालतमा हामी जानुपर्छ,’ उनले भने ।

दुईतिहाइको बहुमत हुँदा संसद् भंग गर्नेले फेरि चुनाव गर्छ भनेर कसैले नसोचे हुने उनको प्रस्टोक्ति थियो ।

सुझावित समाचार