कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाएनन्

बुधबार, २९ पुष, २०७७
डिजिटल संस्करण

ज्यान जोखिममा राखेर अग्रपंक्तिमा खटिई कोरोना संक्रमितको उपचार गरेका स्वास्थ्यकर्मीले सरकारबाट पाउनुपर्ने जोखिम भत्ता पाएका छैनन् । एक–दुई महिनाको मात्र होइन, अधिकांशले झन्डै दश महिनादेखि जोखिम भत्ता नपाएका हुन् । गत साउनदेखि जोखिम भत्तासँगै कतिपयले मासिक पाउने तलबसमेत पाएका छैनन् । कतिपय अस्पतालका स्वास्थ्यकर्मीले असोजसम्मको भत्ता पाएका छन् भने कतिपयले नियमित तलब मात्रै । कतिपय अस्पतालमा त सरकारले अहिलेसम्म एक रुपैयाँ पनि पठाएको छैन, त्यहाँका स्वास्थ्यकर्मीलाई नियमित तलब पाउन पनि धौ–धौ छ । 

अग्रपंक्तिमा खटिएका झन्डै आठ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । उनीहरूमध्ये अधिकांश निको भइसकेका छन् । तर, आठजनाले ज्यान पनि गुमाएका छन् । यसरी ज्यानकै बाजी राखेर कोरोना संक्रमितको उपचारमा खटिँदा पनि तलब–भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । यो समाचार तयार पार्दै गर्दा सिराहाका ६६ स्वास्थ्यकर्मी दश दिनदेखि आन्दोलनमा छन् । यता, बाराका स्वास्थ्यकर्मी पनि आन्दोलन सुरु गरेका छन् ।

सिराहाका स्वास्थ्यकर्मी दश दिनदेखि आन्दोलित
कोभिड– १९ संक्रमितको उपचारमा ज्यान जोखिममा राखेर खटिएका सिराहाका स्वास्थ्यकर्मी ६ महिनादेखि तलब–भत्ता नपाएपछि आन्दोलित भएका छन् । उनीहरू दश दिनदेखि जिल्ला अस्पताल सिराहाको बहिरंग विभाग (ओपिडी) गेटमा धर्नामा बसिरहेका छन् । 

कोरोनाका संक्रमितको उपचारमा खटिएका ६६ जना स्वास्थ्यकर्मी आलोपालो धर्नामा बस्दै आएका छन् । गत साउनदेखि तलब–भत्ता पाउन नसकेका उनीहरूका मागको अझै सुनुवाइ भएको छैन । उनीहरू सिराहाको चन्द्र माध्यमिक विद्यालय, सूर्यनारायण–सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको छात्रावास र धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाई कोरोना अस्थायी अस्पतालमा कोभिड– १९ का संक्रमितको उपचारमा खटिएका थिए । 

सिराहा जिल्ला अस्पतालमातहत नौजना मेडिकल अफिसर, एचए, अहेव, स्टाफ नर्स, अनमि, प्रयोगशाला प्राविधिक, स्प्रे प्राविधिक, कार्यालय सहयोगी, ड्राइभर गरी ६६ जनाको साउनदेखि कात्तिकसम्मको तलब–भत्ता रोकिएको छ । 

जोखिमका वेला काम गरेको तलब–भत्ता पटक–पटक माग गर्दा पनि नपाएपछि आन्दोलनमा उत्रिनुपरेको डा. विवेकानन्द यादवले बताए । ‘काम गरेको अवधिको तलब–भत्ता र पुनर्नियुक्तिको माग राखी हामी जिल्ला अस्पतालमा धर्ना दिँदै आएका छौँ,’ डा यादवले भने, ‘कोरोनाको जोखिमले घरबाट कोही बाहिर निस्कन नसक्ने वेला हामीले ज्यानको बाजी थापेर काम गर्यौँ । तर, हाम्रै तलब–भत्ता रोकियो ।’ 

जिल्ला अस्पताल प्रमुख डा. नागेन्द्रप्रसाद यादवले सामाजिक विकास मन्त्रालयले रकम निकासा नगरेकाले तलब–भत्ता भुक्तानी हुन नसकेको बताए । स्वास्थ्यकर्मीको आन्दोलनबारे पनि मन्त्रालय जानकार रहेको भन्दै मेडिकल सुपरिटेन्डेन्ट डा. यादवले भने, ‘प्रदेश सरकारले रकम निकासा नगरेपछि स्वास्थ्यकर्मी र प्राविधिकको तबल–भत्ता रोकिएको छ ।’ जिल्लाका तीनवटै आइसोलेसन केन्द्रमा काम गरेका स्वास्थ्यकर्मी र प्राविधिकको साउनदेखि कात्तिक मसान्तसम्मको गरी साढे दुई करोडभन्दा बढी रकम रोकिएको यादवको भनाइ छ । स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकामा फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको केही प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ । 

आकस्मिकबाहेकका सेवा बन्द गरेर बाराका स्वास्थ्यकर्मी धर्नामा
पटक–पटक आग्रह गर्दा पनि जोखिम भत्ता नपाएपछि कलैया अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अस्पतालको आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा पनि हालसम्म उपलब्ध नभएको कलैया अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा. रविरोशन गुप्ताले बताए । महामारीमा ज्यानलाई जोखिममा राखेर काम गरिए पनि जोखिम भत्ता समयमा नपाउँदा काम गर्ने मनोबल गिरेको उनले बताए । आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले महामारीको समयमा फ्रन्टलाइनमा बसेर बिरामी हेर्नुपर्ने जिम्मेवारी निभाएका कसैले पनि भत्ता पाएका छैनन् । अस्पताल प्रशासनमा जोखिम भत्ता माग गर्दा प्रक्रिया अघि बढाएको भन्ने गरेको र सधैँ केही समय पर्खन आश्वासन आउने गरेको उनले बताए । अस्पताल प्रशासनले बारम्बार आश्वासन मात्र दिएपछि बाध्य भएर आन्दोलन थालिएको उनको भनाइ छ ।

न बजेट आयो, न भत्ता निर्धारण भो
अस्पताल प्रशासनकै लापरबाहीका कारण आफूहरूले जोखिम भत्ता पाउन नसकेको आन्दोलित चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार अस्पताल प्रशासन, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल विकास समितिको मुख्य लापरबाहीका कारण जोखिम भत्ता वितरण नभएको हो । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलकुमार कुसवाहले भने माथिल्लो निकायबाट रकम निकासा नभएकाले हालसम्म वितरण नगरिएको बताए । उनका अनुसार महामारीमा खटिएका स्वास्थ्यकर्मी र चिकित्सलाई कुन आधारमा, कति दिने भन्ने निर्णय पनि भएको छैन । यस्तै, अस्पतालमा भत्ताबापतको रकमसमेत आएको छैन । बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले स्वास्थ्यकर्मीहरू आन्दोलित भएकोबारे भर्खरै जानकारी आएकाले बुझ्न बाँकी रहेको बताए । 

जोखिमको समयमा उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीले पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराइदिन आग्रह गर्दा अस्पतालले चासो नदेखाएको गुनासो गरे । उच्च जोखिमको समयमा लामो समयसम्म घरपरिवारलाई छाडेर महामारीमा खटिए पनि अहिले बेवास्ता गरिएको उनीहरूको भनाइ छ । 

सुझावित समाचार