प्रचण्डले द्वन्द्वकालमा जस्तो ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीति अपनाएकाले यस्तो अवस्था आयो : मन्त्री गुरुङ

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले द्वन्द्वकालमा जस्तो नेता पुष्पकमल दाहालले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति अहिले पनि अख्तियार गरेका कारण यस्तो अवस्था आएको बताएका छन् । 

राजधानी काठमाडौंमा क्रियाशील दलित पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष माधवकुमार नेपालको ढाडमा टेकेर अध्यक्ष केपी ओलीको टाउकोमा हान्ने रणनीति बनाउँदा अहिलेको राजनीतिक अवस्था निम्तिएको बताए । 

उनले अब चुनाव कुनै पनि हालतमा रोकिन नसक्ने पनि जिकिर गरे । 

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि चुनाव हुने विषयमा अन्योलमा बस्न नपर्ने पटकपटक बताइसक्नुभएको छ,’ उनले भने, ‘कांग्रेसले वडावडामा कार्यक्रम चलाइरहेको छ, यो भनेको चुनावी माहोल बनिसकेको भन्ने हो । अब चुनाव कसैले रोकेर रोकिँदैन ।’

कार्यक्रममा दलित समुदायबाट क्रियाशील रहेका पत्रकारहरू कसमस विश्वकर्मा, गोविन्द परियार, बाबुराम विश्वकर्मा र प्रकाशचन्द्र परियारलाई सम्मान गरिएको थियो ।

सुझावित समाचार