काठमाडौं महानगरको वडा नम्बर ७ ले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयलाई खेलकुदका सामग्री वितरण गरेको छ । आज वडा कार्यालयमा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलाई बोलाएर सामग्री प्रदान गरिएको हो ।
वडा नम्बर ७ का सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण समितिका संयोजक एवं वडा सदस्य कृष्णमणि भट्टराई र वडा सदस्य निर्मला पुडासैनीले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।
खेलकुद सामग्रीमा हरेक विद्यालयलाई पाँच सेट चेस बोर्ड, पाँच सेट लुँडो, पाँच सेट स्किपिङ, दुई सेट क्यारेमबाेर्ड, तीन थान भलिबल र पाँच सेट ब्याटमिन्टन प्रदान गरिएको थियो ।
विद्यार्थीको शारीरिक विकासका लागि विद्यालयलाई खेलकुद सामग्री प्रदान गरिएको वडा सदस्य कृष्णमणि भट्टराईको भनाइ छ । सहयोग ठूलो नभए पनि महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोले सहयोग गरिएको अर्का वडा सदस्य पुडासैनीले बताए ।
वडा ७ मा श्रम राष्ट्रिय माद्यमिक विद्यालय, पशुपति मित्र माद्यमिक विद्यालय, मित्र आधारभूत विद्यालय र बाल व्यवसायी केन्द्र माद्यमिक विद्यालय गरी चारवटा सामुदायिक विद्यालय छन् । यी विद्यालयमा करिब ४ हजार विद्यार्थी अध्ययन गर्छन् ।