प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक
नेकपाको प्रचण्ड–नेपाल समूहले गण्डकी र लुम्बिनी प्रदेशमा इन्चार्जसहित पदाधिकारी हेरफेर गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकले ती दुई प्रदेशमा इन्चार्जसहित पदाधिकारी हेरफेर गरेको हो ।
बैठकले गण्डकी प्रदेश इन्चार्जमा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, सहइन्चार्ज केन्द्रीय सदस्य तुलबहादुर गुरुङ र सचिव श्रीमाया थकालीलाई जिम्मेवारी दिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशको इन्चार्ज स्थायी कमिटी सदस्य युवराज ज्ञवालीलाई तोकेको छ ।
विभाजनअघि गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल इन्चार्ज थिए । उनीहरू दुवै ओली समूहको नेकपामा खुलेका छन् । त्यस्तै, यसअघि गण्डकी प्रदेशको सहइन्चार्ज रहेका प्रदेशको आर्थिक मामिलामन्त्री किरण गुरुङ र सचिव गोविन्द नेपालीलाई पनि बैठकले जिम्मेवारीमुक्त गरेको छ । उनीहरू पनि ओली समूहतिरै लागेका छन् ।
पार्टी एकतापछि तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले दोहोरो जिम्मेवारीमा रहेका गुरुङ र पोखरेललाई इन्चार्जको जिम्मेवारीबाट हटाएर विधि र प्रक्रियाअनुसार जिम्मेवारी बाँडफाँड गर्नुपर्ने माग गर्दै आएका थिए । सोमबार नेपालकै अध्यक्षतामा बसेको बैठकले ती दुई प्रदेशमा जिम्मेवारी हेरफेर गरेको हो । प्रदेश १, २, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने प्रचण्ड–नेपाल समूहले तत्काल हेरफेर गरेको छैन ।
त्यस्तै, बैठकमा २३ माघसम्मका लागि घोषित प्रतिगमनविरोधी संघर्षका कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । पूर्वघोषित कार्यक्रमलाई विस्तारित गर्दै उपत्यकाकेन्द्रित केही नयाँ कार्यक्रम घोषणा हुन सक्ने भुसालले बताए ।
‘सबै साथीहरूको सुझाब संघर्षलाई केही प्रभावकारी बनाउनुपर्छ भन्ने छ, त्यसअनुसार केन्द्रीय संघर्ष कमिटीले उपत्यकाकेन्द्रित केही नयाँ कार्यक्रम पनि ल्याउन सक्नेछ,’ उनले भने । प्रचण्ड–नेपाल समूहले गत शनिबार आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । संघर्षलाई व्यवस्थित बनाउन प्रचण्ड–नेपाल समूहले नेताहरू योगेश भट्टराई, लीलामणि पोखरेल र रघुजी पन्त रहेको बेग्लाबेग्लै कमिटीसमेत बनाइसकेको छ ।
प्रचण्ड–माधव समूहको बैठकमा आठ एजेन्डा छलफलका लागि प्रस्तावित छन् । संघर्षका कार्यक्रम, ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभारलगायतका विषय छलफलका लागि प्रस्तावित भए पनि अर्को बैठक भने केही दिनपछि मात्रै बस्ने भएको छ । सोमबारको बैठकमा भने संघर्षको कार्यक्रममा मात्र केन्द्रित रहेर छलफल भएको थियो ।
योगेश भट्टराई आन्दोलन परिचालनको सहसंयोजक

नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित आन्दोलन परिचालन कमिटीको सचिवालय विस्तार गरेको छ । स्थायी कमिटी बैठकले परिचालन कमिटीको सहसंयोजकमा स्थायी कमिटी सदस्यहरू योगेश भट्टराई, पम्फा भुसाल र गणेश साहलाई चयन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेता भट्टराई केन्द्रीय संघर्ष कमिटीको प्रवक्ता पनि तोकिएका छन् । त्यस्तै, बैठकले प्रदेश, जिल्ला, पालिका र वडास्तरसम्म संघर्ष कमिटी बनाउने निर्णय पनि गरेको छ । प्रचण्ड–नेपाल समूहले गत १८ मंसिरमा दोस्रो चरणको एकमहिने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।
श्रद्धाञ्जलीसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नारायणकाजीको जवाफ : राजनीतिक संस्कृतिको स्खलन त्यहाँसम्म पुग्यो होला र ?

नेकपाको विभाजनपछि प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको नेकपाबीच आरोप–प्रत्यारोपको शृंखला चलिरहेको छ । आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्को समूहका अध्यक्ष प्रचण्ड–नेपाललाई लक्षित गर्दै गरेको टिप्पणीले धेरै चर्चा पाएको छ ।
आफूनिकट विद्यार्थीको कार्यक्रममा ओलीले प्रचण्ड र नेपाललाई सहिद भइदिएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो भन्ने अभिव्यक्तिलाई इतर समूहले कडा जवाफ फर्काएको छ । प्रधानमन्त्री ओलीको त्यस्तो अभिव्यक्तिलाई प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक संस्कृति स्खलनका रूपमा चित्रित गर्दै त्यस्तो चिन्तन र संस्कार दुःखदायी भएको बताए ।
‘यो स्तरको टिप्पणी एकपटक हामीले नै हाम्रो पार्टीको अध्यक्ष बनाएको र अहिले पनि देशको प्रधानमन्त्रीबाट आएको होला भन्ने कल्पना पनि गर्दिनँ । मैले त्यस्तो आफैँले सुन्ने धृष्टता पनि गरेको छैन । त्यस्तो कसरी कल्पना गर्न सक्छौँ र हामी ? नेपालको राजनीतिक संस्कृतिको स्खलन त्यहाँसम्म पुग्यो होला र ? यो साह्रै दुःखदायी कुरा हो । म व्यक्तिगत टिप्पणी कसैप्रति गर्न चाहन्नँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘किनकि म भन्न चाहन्छु, विचार, सिद्धान्त, मूल्य–मान्यताको पक्षमा रहनेले गलत ढंगले गालीगलौज र आरोप–प्रत्यारोप गर्दैन, हामी त्यसरी जान चाहँदैनौँ ।’