नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा गरेको प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ ।
केन्द्रीय कार्यसमिति बैठकले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, ३ माघमा सात सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्ने, ८ माघमा स्थानीय तहको ६ हजार सात सय ४३ वटै वडामा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
जिल्ला समितिले आफ्नो अनुकूलतामा तथा पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूले आ–आफ्नो आवश्यकता र अनुकूलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले २० कात्तिक ०७५ मा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरूको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको पनि शर्माले बताए ।
बैठकले क्रियाशील सदस्यता विवरण ०७७ माघ मसान्तसम्म गरिसक्ने मिति तय पनि गरेको शर्माले बताए ।