चिनियाँ नेताले बिपी सम्झिँदै देउवालाई भने– राष्ट्रपति सीले पठाएर आएका हौँ

बुधबार, १५ पुष, २०७७
डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पूर्वप्रधानमन्त्री बिपी कोइराला सम्झँदै सबै पार्टीसँग सम्बन्ध सुदृढ गर्न आएको बताएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस र चीनबीच पछिल्लो समय दूरी बढ्दै गएका वेला नेता गुओले कांग्रेससँग नेपाल–चीन सम्बन्धको पुरानो बिरासत जोडिएकोसमेत उल्लेख गरेका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी जिनपिङकाे प्रत्यक्ष निर्देशन र रुचिमा टोली राजनीतिक दलहरूसँग संवादका लागि नेपाल आएकोसमेत स्पष्ट पारेका छन् । 

राष्ट्रपति सी जिनपिङकाे प्रत्यक्ष निर्देशनअनुसार आफू नेपालका प्रमुख दलहरूसँग संवादका लागि आएको समेत प्रस्टीकरण दिएका छन् । ‘राष्ट्रपति सी नेपालका प्रमुख पार्टीहरूसँग निरन्तर संवादको पक्षमा हुनुहुन्छ । त्यही सन्दर्भमा मलाई राष्ट्रपति सीले बोलाएर नेपाल भ्रमण गर्न निर्देशन दिनुभएअनुसार यहाँ आएको हुँ,’ चिनियाँ नेता गुओले देउवालाई भने, ‘यसबीचमा हामीले नेपाल कम्युनिस्ट पार्टी मात्र होइन, हामीले जनता समाजवादी पार्टीसँग पनि छलफल गरेका छौँ ।’

नेकपाका चार नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसँगको कुराकानीमा भने चिनियाँ नेताले पार्टी पुनः एकीकरण वा भविष्यमा वाम गठबन्धनको सम्भावना छ कि छैन भन्ने प्रश्न गरेका थिए । उनीहरूले नेकपालाई मिल्न सुझाब दिएका थिए । 

सभापति देउवानिवास बुढानीलकण्ठमा भएको छलफलमा कांग्रेस नेता एवं पूर्वमन्त्री डा. नारायण खड्का र देउवाका परराष्ट्र मामिला सल्लाहारसमेत रहेका पूर्वराजदूत डा. दिनेश भट्टराई सहभागी थिए । गुओ नेतृत्वको चिनियाँ टोलीमा नेपाली भाषा अनुवादकसहित तीनजना सहभागी थिए । चिनियाँ राजदूत होउ यान्छी भने देउवासँगको भेटवार्तामा सहभागी भइनन् ।

‘राष्ट्रपति सी जिनपिङसँग भेटेर नेपालसँग प्रमुख दलहरूसँग संवादका लागि हामी आएका हौँ, कांग्रेससँग नेपाल–चीन सम्बन्धको बिरासत छ भन्दै उनीहरूले बिपी कोइरालाको चर्चा गरे,’ पूर्वराजदूत डा. भट्टराईले नयाँ पत्रिकासँग भने, ‘सभापति देउवाले पनि बिपीले नै बनाएको नेपाल–चीन सम्बन्धको जगमा चीनसँग सम्बन्ध अघि बढाउन प्रतिबद्ध छौँ भन्नुभयो ।’ नेपाली कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध भएको देउवाको भनाइ थियो । 

चिनियाँ नेता गुओले कांग्रेस नेतृत्वको सरकारका पालामा चीन्सँग सम्बन्ध सधैँ राम्रो भएको चर्चा गरेका थिए । ‘जुनसुकै परिवर्तन हुँदा पनि नेपाल–चीन सम्बन्धमा परिवर्तन आउँदैन,’ गुओको भनाइ थियो । स्रोतका अनुसार ३५ मिनेट कुराकानीको सुरुवातमै चिनियाँ नेता गुओले नेकपाको विवाद मिलाउन आफूहरू नआएको प्रस्टीकरण दिएका थिए । 

‘हामी शुभकामना आदान–प्रदान गर्न आएका हौँ, राष्ट्रपति सीसँग भेटेर नेपाली दलहरूसँग सम्बन्ध सुदृढ गर्न आएका हौँ,’ गुओको भनाइ थियो । नेपाली कांग्रेससँग तीन वर्षयता सम्बन्धमा दूरी भएको महसुस चिनियाँ नेताहरूले गरेका थिए ।
नेकपा फुटपछि नेपाली राजनीतिमा कांग्रेसको बढेको आधारमा पनि चिनियाँ पक्षले सम्बन्ध विकसित गर्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ । 

सभापति देउवाले चिनियाँ पक्षबाट यसबीचमा कांंग्रेसलाई प्राथमिकता नदिएको संकेत गरेका थिए । देउवाले लाक्षणिक रूपमा उनीहरूलाई प्रश्न गरे, ‘तपाईंहरूले सबै पार्टीहरूलाई इन्गेज गर्न खोजेको हो कि ?’ कांग्रेस नेता डा. नारायण खड्काले चिनियाँ सरकारी सञ्चारमाध्यमले भारतसँग जोडेर कांग्रेसको बदनाम गराएको भन्दै ध्यानाकर्षण गराएका थिए । स्रोतका अनुसार यसमा चिनियाँ नेता गुओको जवाफ थियो, ‘साथीहरूको बीचमा कहिलेकाहीँ असमझदारी हुन्छ । हामीले कांग्रेसलाई राम्रो मित्र ठानेका छौँ ।’

चिनियाँ नेताले आगामी वर्ष चिनियाँ कम्युनिस्ट पार्टी सय वर्ष पुग्न लागेको भन्दै त्यस अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन देउवालाई निम्ता दिएका थिए । देउवाले निमन्त्रणाका लागि धन्यवाद दिँदै उपयुक्त समयमा निर्णय लिने बताएका थिए । आइतबार दिउँसो आएका चिनियाँ नेताहरू बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।         
 

सुझावित समाचार