देशको वर्तमान राजनीतिक प्रणाली बचाउने हाे भने निर्वाचनमा जानुकाे विकल्प नै छैन : ऊर्जामन्त्री रायमाझी

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण
देशको वर्तमान राजनीतिक प्रणाली बचाउने हाे भने निर्वाचनमा जानुकाे विकल्प नै छैन : ऊर्जामन्त्री रायमाझी

तस्वीर : रायमाझीकाे फेसबुकबाट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताएका छन् ।

आइतबार ऊर्जा, जलस्रोत तथाा सिँचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताएका हुन् । 

मन्त्री रायमाझीले सरकारलाई बेवारिसे हुन नदिने र विकास निर्माण तथा समृद्धिका कामलाई गम्भीरतापूर्वक लिई जिम्मेवारी पूरा गर्ने बताए । 

उनले भने, ‘देश असाध्यै विषम परिस्थितिमा छ । यदि हामीले सिस्टमलाई बचाउन मिहिनेत गरेनौँ भने यो सिस्टम नै कोल्याप्स भएर, धरासायी भएर, अराजकता फैलने दिशातर्फ अघि जाने सम्भावना भएको हुँदा एकातर्फ त्यो सिस्टमलाई बचाउन मध्यावधि चुनावमा जाँदै छौँ । त्यो चुनाव सम्पन्न गर्नुछ । सरकारलाई सडकमा लगेर लावारिस गर्नुभएन । सरकारलाई सम्हाल्नुपऱ्याे । देशको विकास निर्माण, समृद्धिको काम, भइरहेका कामलाई निरन्तरता दिने र नयाँ कामलाई अगाडि बढाउने कामलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ । दुवै जिम्मेवारी सम्हाल्नुपर्छ ।’

मन्त्री रायमाझीले राजनीतिक प्रणालीलाई निरन्तरता दिन र देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पनि बताए । 

देशको विकास र समृद्धिलाई अवरुद्ध हुन नदिने लक्ष्यसहित आफू सरकारमा उपस्थित भएको पनि मन्त्री रायमाझीले दाबी गरे । 

उनले मन्त्रालयमा रहेर ऊर्जा क्षेत्रलाई क्रमशः निर्यात हुने क्षेत्रका रूपमा स्थापित गर्नेतर्फ अघि बढाउने बताए । 

सुझावित समाचार